१७ करोडको ठेक्कामा ४४ करोड भुक्तानी भइसक्दा पनि ग्वार्काे फ्लाईओभर निर्माण अझै अलपत्र

Feb 03, 2025 06:04 PM mero lagani



ठेकेदार कम्पनी आशिष–समानान्तर–रेलिगेर जेभीका प्रोजेक्ट म्यानेजर विशाल कार्की र सडक विभाग अन्तरगतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाबीचको ‘इगो’को लडाईका कारण ग्वार्काे फ्लाईओभरको निर्माण कार्य थप अनिश्चित बनेको छ ।

झाले अनावश्यक बखडा झिकेर काम गर्न नदिएको भन्दै कार्कीले एक महिनादेखि काम रोकेका छन् भने झाले भने समयमा काम सम्पन्न नगरेपछि कारवाहीबाट बच्न कार्कीले नयाँ बखेडा झिकेको आरोप लगाउने गरेका छन् ।

 

 

२०८० फागुन १२ भित्र फ्लाइओभर निर्माण सक्नेगरि २०७८ मा आशिष–समानान्तर–रेलिगेर जेभीलाई १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा फ्लाइओभरको ठेक्का दिइएको थियो । ठेकेदार कम्पनीले समयमा नसकेपछि २०८१ असारसम्मका लागि म्याद थपिएको थियाे त्यसमा पनि नसकेपछि गत पुस ९ सम्म अन्तिम पटक भन्दै म्याद थप गरिएको थियो ।

अहिलेसम्म करिब ८२ प्रतिशत निर्माण कार्य मात्र सकिएको छ । अझै १८ प्रतिशत निर्माण कार्य बाँकी नै छ । आवतजावतको संरचनासहित ५ सय ४० मिटर लामो फ्लाइओभर बन्नेछ । छेउछेउमा क्रंक्रिट प्यानल र विशेषखालको ‘पोलिमर रेन्फोर्समेन्ट’ राखेर र्याम्प बनाउने काम थालिए पनि पुरा भएको छैन । र्याम्प १०.२ मिटरसम्म अग्लो बन्नेछ । सातदोबाटोतर्फ बनाइएको ४० मिटर र्याम्प निर्माण गरिए पनि गुणस्तरिय नभएकोले त्यसलाई हटाएर फेरि राख्नुपर्ने विभागले बताएको छ ।

उता १७ करोडमा सम्पन्न गर्ने ठेक्का दिइसकेकोमा ४४ करोड खर्च भइसकेको छ र अझै १५ करोड लाग्ने सडक विभागका अधिकारीहरु बताउँछन् । यो आधारमा शुरुको लागतको झण्डै साढे २ सय गुना लागत बढ्ने निश्चित देखिएको छ ।

पुस ९ गतेदेखि निर्माण छोडेर हिंडेको ठेकेदार कम्पनीले कहिले काम शुरु गर्छ, त्यो यकिन छैन । विभागका अधिकारीहरु कम गुणस्तरको काम गरेर लागत बढाइरहेको ठेकेदार कम्पनीले आफ्नो कमजोरी लुकाउन निहुँ खोजिरहेको बताउँछन् ।

जानकारहरु भने विभागका अधिकारीहरुले आफ्नो स्वार्थ पुरा भए लागत बढाएर ठेकेदार कम्पनीलाई मनपरि गर्न दिने, स्वार्थ पुरा नभए निहुँ खोज्ने गरेकोले पनि समस्या सृजना भएको बताउँछन् । ‘ठेकेदारको बदमासीको बारेमा शंका छैन । तर उ आफैले मात्र १७ करोडको ठेक्का सम्झौता बढाएर झण्डै ६० करोड पुर्याउने अवस्था आउन सक्दैन । त्यसमा धेरैको स्वार्थ जोडिएको छ । त्यहीकारण ठेकेदार कम्पनीले तिमीहरु सबैलाई खुवाएको छु, लागत र समय नबढाए काम गर्दिन भनेर घुर्की लगाइरहेको छ’, विभागका एक अधिकारी भन्छन् ।

उनका अनुसार यदि विभाग र मन्त्रालयका हाकिमहरु चोखो भएको भए अहिलेसम्म ठेकेदार कम्पनीलाई कारवाही गरिसक्थे, कारवाही गर्छु भन्दै धम्की दिइरहने काम मात्र गर्दैनथे ।

यसैबीच झाले मेरो लगानीलाई फ्लाई ओभरको कार्य प्रगतिको बारेमा पठाएको विवरणमा भने ७ करोड ७७ लाख ३३ हजार १५ रुपैंया मात्र भुक्तानी दिइएको र अरु रकम भुक्तानी नदिएको दावि गरिएको छ ।
उक्त विवरणअनुसार आकासे पुल ९८ प्रतिशत सकिएको छ र रंगरोगन लगायतका कामहरु बाँकी छन् । अप्रोच सडक निर्माण ८८ प्रतिशत सम्पन्न भएको छ । लाइट जडान लगायतका कामहरु आधा सकिएका छन् ।




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।