पछिल्लो तीन कारोबार दिनमा नेप्से ९६.७१ अंक बढेको थियो। बजार बढेको मौकामा अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन बजारमा करेक्सन भएको हो।
यस दिन नेप्से परिसूचक १४.०८ अंक घटेर २७१५.९१ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.४९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७३ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ११ अर्ब ८७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको ९० हजार २०२ पटकको कारोबारमा ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार रुपैयाँबराबरको १ करोड ६९ लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से घटेपनि यस दिन जोशी हाइड्रोपावरको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ४१ रुपैयाँ बढेर ४५१ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था, मध्य भोटेकोशी जलविद्युत कम्पनी, न्यादी हाइड्रोपावर, उपकार लघुवित्त वित्तीय संस्था र कालिका पावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन ४ स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ८७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब २७ करोडको शेयर खरिदबिक्री भएको छ भने हिमालयन उर्जा विकास कम्पनीको करिब साढे २५ करोडको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत र अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.६० प्रतिशत घटेको छ। त्यस्ते, यस दिन वित्त, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।