गभर्नर अधिकारीकाे बिदाइ र नयाँ नियुक्तिको दिनगन्ती सुरु, निर्णायक चार शक्ति केन्द्र र दौडमा रहेका चार मुख्य पात्र

Feb 13, 2025 03:53 PM mero lagani



गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल समाप्तिको दिनगन्ती शुरु भएपछि नेपाल राष्ट्र बैंक र बैंक  तथा वित्तीय संस्था भित्र मात्र होइन, नेपालको आर्थिक क्षेत्रको बारेमा चासो राख्ने जो कोहीले पनि प्रश्न गर्न थालेका छन-अबको गभर्नर को ?

सरकारले निर्धारण गरेको ‘मर्यादाक्रम’मा तलै भए पनि नेपाल राष्ट्र बैंकको गभर्नर पदको गरिमा, आकर्षण सांसद, मन्त्री र सवैंधानिक निकायका पदाधिकारीहरु भन्दा पनि निकै माथि छ । कतिसम्म भने नेपाल राष्ट्र बैंक देशको अर्थतन्त्रको एउटा क्षेत्रको नेतृत्वदायी निकाय मात्र हो, त्यही हैसियत बीमा प्राधिकरण, धितोपत्र बोर्ड लगायतका नियमनकारी अन्य निकायका अध्यक्षहरुको पनि हुन्छ । तर, पदीय हैसियत उस्तै उस्तै भए पनि नेपाल राष्ट्र बैंकका गभर्नर ‘ग्ल्यामर’ मात्रै होइन, उस्ले अर्थतन्त्रमा पार्न सक्ने ‘निर्णायक प्रभाव’का कारण गभर्नरको कुर्सीमा को बस्छ भनेर चासो हुनु स्वभाविक हो ।

नेपालमा मात्र होइन, विश्वभर नै केन्द्रिय बैंकका गभर्नर पदप्रतिको आकर्षण उस्तै उस्तै हुन्छ । चैत २४ गते कार्यकाल सकिन लागेका गभर्नर अधिकारीको कार्यकाल कस्तो रह्यो, त्यो आफ्नो ठाउँमा छ । त्यो भन्दा महत्वपूर्ण अब को आउला ? भन्ने नै हो । अहिलेको अवस्था के हो भने गभर्नर नियुक्तिमा यसपटक विगतमा कहिल्यै नभएका ४ वटा शक्ति केन्द्रहरु देखिएका छन् । ‘इमिडियट बोस’ भएकोले अर्थमन्त्री विष्णु पौडेल स्वभाविकरुपमा एउटा शक्ति केन्द्र हुन् नै । त्यस्तै प्रधानमन्त्री केपी ओली, ओलीका आर्थिक सल्लाहकार तथा गभर्नरसमेत रहिसकेका पूर्वअर्थमन्त्री डा.युवराज खतिवडा र परराष्ट्रमन्त्री समेत रहेकी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा.आरजु राणा अहिले गभर्नर नियुक्तिको सन्दर्भमा घोषित, अघोषित शक्ति केन्द्रहरु हुन् ।

जुन पार्टीले जुन मन्त्रालय सम्हालेको छ, त्यो मन्त्रालयसँग सम्वन्धित नियुक्तिमा अर्काे पार्टीले हस्तक्षेप नगर्ने परम्परालाई कायम राख्ने हो भने गभर्नर नियुक्तिमा ‘आरजु फ्याक्टर’ स्वतः बन्द हुन्छ । त्यसमाथि डा.युवराज खतिवडालाई नै गभर्नर बनाउँदाको नजिरलाई कायम राखिने हो भने गभर्नर र २ मध्ये एक जना डेपुटी गभर्नर एमाले कोटाबाट र एक जना डेपुटी गभर्नर कांग्रेस कोटाबाट नियुक्त हुने सम्भावना प्रबल छ । त्यतिबेला एमाले कोटाबाट खतिवडा गभर्नर हुँदा एमाले कोटाबाटै हालका गभर्नर अधिकारी र कांग्रेस कोटाबाट स्व.गोपाल काफ्ले डेपुटी गभर्नर नियुक्त भएका थिए ।

यद्धपी हाल रहेका दुवैजना कार्यकारी डेपुटी गभर्नरहरु डा.निलम तिम्सिना र बमबहादुर मिश्र दुवै जनाको कार्यकाल अझै एक वर्ष बाँकी छ ।

उनीहरु स्वभाविकरुपमा गभर्नरका स्वभाविक दावेदार हुन् । त्यसमाथि दुवै जना ओली र खतिवडाको गृह जिल्ला झापाकै हुन् । ‘झापाली भेटेसम्म अरुलाई आँखा नलगाउने’ स्वभावका कारण प्रधानमन्त्री ओली र खतिवडा दुवै जना आलोचित छन् । त्यो अवस्थामा तिम्सिना र मिश्र दुवै जना गभर्नर नियुक्तिको ‘नजिक-नजिक’ पुग्न सक्छन् । त्यसमाथि हरेक नियुक्तिमा ‘महिलालाई प्राथमिकता दिने’ भन्दै आएका प्रधानमन्त्री ओलीले बचनमा अडान राखे पनि तिम्सिनाको सम्भावना अझै बढ्छ । तर भारतको जयपुरस्थित मेवाड विश्वविद्यालयबाट सन् २०१९ मा ‘अ स्टडी अन बैंक लेन्डिङ बिहेभियर एण्ड मनिटरी ट्रान्समिसन मेकानिज्म इन नेप्लिज कमर्सियल बैंक्स’ विषयमा पिएचडी गरेकी तिम्सिनाको सर्टिफिकेटमाथि पछिल्लो समय प्रश्नहरु उठिरहेको छ ।

उक्त विश्व विद्यालयले नक्कली शैक्षिक पत्र वितरण गर्ने गरेको खुलेपछि अहिले त्रिभुवन विश्व विद्यालयले समकक्षता प्रमाणपत्र दिन रोक लगाएको छ भने भारत सरकारले उक्त विश्व विद्यालय माथि कारवाही प्रकृया शुरु भएको छ ।

गभर्नर नियुक्तिको प्रसंग शुरु हुने क्रममै भएको यो घटना डेपुटी गभर्नर तिम्सिनाको लागि दाँतको ढुंगा जस्तै बनेको छ ।

अर्का डेपुटी गभर्नर मिश्र समेत ‘झापाली एमाले क्याडर’ भए पनि ओली र खतिवडा दुवै जनाको ‘गुडबुक’मा पर्न नसकेको चर्चा एमालेको आर्थिक वृतमा चलिरहेको छ ।

त्यसो भए अबको गभर्नरको अर्काे अनुहार को ? अहिले नै यकिनरुपमा भन्न सकिदैन । तर, पर्दा पछाडिबाट कुनै पनि ‘अर्थविद्’को ताजपोशी हुनसक्छ । जस्तो कि एउटा सम्भावित नाम राष्ट्र बैंककै कार्यकारी निर्देशक डा.प्रकाश श्रेष्ठ हो ।

एमाले लाइनका डा.श्रेष्ठ अर्थमन्त्री विष्णु पौडेलसँग मात्र होइन, खतिवडा, ओली र एमाले महासचिव शंकर पोख्रेलका पनि प्रिय पात्र हुन् । पोख्रेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा प्रदेश योजना आयोगको उपाध्यक्ष रहेका श्रेष्ठ अहिलेका अर्थमन्त्री पौडेल अघिल्लो पटक अर्थमन्त्री हुँदाका प्रमुख आर्थिक सल्लाहकार थिए । नेपालको बैंकिङ र आर्थिक क्षेत्रमा निकै गहिरो जानकारी राख्ने श्रेष्ठको बारेमा एमाले नेतृत्वमा खासै ठूलो विवाद नरहेको स्रोत बताउँछ । यद्धपी उनी राष्ट्र बैंक भित्रकै कार्यकारी निर्देशकहरुमध्ये पनि जुनियरहरुमध्येमा पर्छन् ।

कथंकदाचित उनी गभर्नर भए पनि राष्ट्र बैंक भित्रैबाट चर्काे विरोध हुने सम्भावना छ । तर, त्यस्तो विरोधले तात्विक अर्थ भने राख्दैन भन्ने कुरा डा.खतिवडाको समयमा भएको डेपुटी गभर्नर नियुक्तिको प्रकरणले स्पष्ट पार्छ । त्यतिबेला हालका गभर्नर अधिकारी राष्ट्र बैंकको जुनियर कार्यकारी निर्देशक थिए । खतिवडाले उनलाई डेपुटी गभर्नर बनाएपछि विष्णु नेपाल, त्रिलोचन पङगेनी लगायतका कैयौं कार्यकारी निर्देशकहरुले लामो समय अधिकारीलाई बहिस्कार नै गरेका थिए । उनको कार्यक्रममा नजाने, उनले अह्राएको काम नगर्ने गरे पनि त्यसले परिणाम भने दिएन ।

अहिले गभर्नरमा श्रेष्ठको चर्चा र सम्भावित परिणामको बारेमा हिसाब किताब राख्नेहरुले त्यो घटनाको पनि स्मरण गर्ने गर्छन् ।

गभर्नर नियुक्तिमा अहिले सबैभन्दा ‘हिटिङ’ नाम चाँहि रामेश्वर खनाल हो । कांग्रेस पृष्ठभूमीका खनाल अर्थसचिव हुँदा आफ्नै आफन्त रहेका एमाले नेता तथा तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीसँगको विवादको कारण राजीनामा दिएर रहस्यमयरुपमा केही महिना ‘भूमिगत’ नै भएका थिए ।

अर्थ प्रशासनका ‘काबिल हाकिम’ मानिने खनाल र एमाले नेतृत्वबीच पछिल्लो समय आश्चर्यजनकरुपमा सम्वन्ध सुधार भएको एमाले नजिकका अर्थविद्हरु बताउँछन् । केही समय अघि अर्थमन्त्रालयले अर्थतन्त्रको सुधार सम्वन्धि सुझाव दिन गठन गरिएको सुझाव समितिको नेतृत्व खनाललाई दिइनुले पनि त्यो पुष्टि हुने उनीहरुको भनाइ छ । के त्यो घटना खनालको गभर्नर नियुक्तिको लागि सृजना गरिएको ‘सिँढी’ थियो ? यो प्रश्नको जवाफ भने अबको ४५-५० दिन भित्रमा खुल्नेछ ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।