सिमेन्टमा अब्बल सर्वोत्तम, शिवमको नाफामा ६१ प्रतिशतले गिरावट, सोनापुर र घोराही सिमेन्ट भने नोक्सानीमा

Feb 12, 2025 06:10 PM MeroLagani



निर्माण क्षेत्र सुस्ताएर आएका कारण सिमेन्ट कम्पनीहरुको वित्तीय विवरण सन्तोषजनक आउन सकेको छैन। नेप्सेमा सूचीकृत ४ वटा सिमेन्ट कम्पनीमध्ये दुई वटा सिमेन्ट कम्पनी दोस्रो त्रैमाससम्ममा नोक्सानीमा रहेको विवरण सार्वजनिक गरेका छन् ।

नेप्सेमा सूचीकृत शिवम, सोनापुर, घोराही र सर्वोत्तममध्ये शिवम र सर्वोत्तम नाफामा रहेका छन् भने सोनापुर र घोराही भने भने घाटामा रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससँग तुलना गर्दा पनि सर्वोत्तम र सोनापुरको तथ्यांक केही सुधार भएको देखिएको छ भने बाँकी दुई सिमेन्ट कम्पनीको नाफामा गिरावट आएको छ ।

शिवम सिमेन्टको मुनाफामा सबैभन्दा धेरै गिरावट आएको तथ्यांकले देखाएको छ । गत वर्ष १४ करोड ८५ लाख ९७ हजार खुद मुनाफा गरेको शिवम सिमेन्टले चालु आवको दोस्रो त्रैमासमा ६१.७७ प्रतिशतले मुनाफामा गिरावट आएर ५ करोड ६८ लाख १० हजार रुपैयाँमा सीमित भएकाे छ ।

त्यसैगरी दोस्रो धेरै नाफामा गिरावट आउने कम्पनीमा घोराही सिमेन्ट रहेको छ । गत वर्षको दोस्रो त्रैमासमा ४१ करोड ८४ लाख ३८ हजार रुपैयाँ नोक्सानी रहेको कम्पनी चालु आवको दोस्रो त्रैमासमा खुद नोक्सानी ५९.४३ प्रतिशतले बढेर ६६ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।

सोनापुर सिमेन्ट गत वर्ष १४ करोड ७८ लाख रुपैयाँ नोक्सानीमा रहेकोमा अहिले १७ दशमलब ४३ प्रतिशतले नाफा बढ्दा नोक्सानी रकम १२ करोड २० लाख ८५ हजारमा सिमित हुन पुगेको छ ।

सबै सिमेन्ट कम्पनीहरुको वित्तीय विवरण खस्किरहँदा सर्वोत्तम सिमेन्टको वित्तीय अवस्था भने एकदमै राम्रो देखिएको छ । गत वर्ष ३ करोड ५ लाख ८७ हजार रुपैयाँ मात्रै खुद मुनाफा गरेको सर्वोत्तम सिमेन्टले चालु आवको दोस्रो त्रैमासमा नाफामा छलाङ मारेर २४ करोड १४ लाख रुपैयाँ पुर्याएको छ ।

खुद मुनाफामा छलाङ मारेका कारण सर्वोत्तम सिमेन्ट प्रति शेयर आम्दानी समेत बढेर ९ रुपैयाँ ७० पैसा पुगेको छ । गत वर्ष सर्वोत्तम सिमेन्टको प्रति शेयर आम्दानी १ रुपैयाँ ४२ पैसा मात्रै थियो ।

चार वटा सिमेन्ट कम्पनीमा सर्वोत्तम सिमेन्टले मात्रै बुक बिल्डिङ प्रक्रियाबाट आइपिओ निष्काशन गरेको थियो भने बाँकी ३ वटा कम्पनीले भने प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरेका थिए । अहिले चुक्ता पुँजीका आधारमा सबैभन्दा धेरै पुँजी शिवम सिमेन्टको रहेको छ । शिवमको चुक्ता पुँजी ५ अर्ब २ करोड रुपैयाँ छ । शिवमको ३ वर्षे लकिङ पिरियड समेत सकिसकेको हुँदा यसमा शेयर आपूर्ति समेत बढी छ । कम्पनीले गत वर्ष ८.५५ प्रतिशत बोनस शेयर दिएर चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ पुर्याएको थियो । सोनापुरको चुक्ता पुँजी ३ अर्ब ५ करोड, घोराही सिमेन्टको चुक्ता पुँजी ५ अर्ब ५६ करोड र सर्वोत्तम सिमेन्टको चुक्ता पुँजी भने ४ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।

नेटवर्थमा घोराही सिमेन्ट अब्बल

खुद नोक्सानीका कारण नेटवर्थ गत वर्षभन्दा खस्किए पनि चार वटा सिमेन्ट कम्पनीमध्ये घोराही सिमेन्टकै नेटवर्थ सबैभन्दा बढी देखिएको छ । गत वर्षको दोस्रो त्रैमासमा २ सय २५ रुपैयाँ ४५ पैसा रहेकोमा अहिले घटेर १ सय ८८ रुपैयाँ ३३ पैसा पुगेको छ जुन ४ वटा सिमेन्ट कम्पनीमध्ये सबैभन्दा बढी हो ।

नेटवर्थका आधारमा सर्वोत्तम सिमेन्ट दोस्रोमा, सोनापुर मिनरल्स तेस्रोमा र शिवम सिमेन्ट अन्तिममा रहेको छ । सर्वोत्तमको नेटवर्थ १८६.६६ रुपैयाँ, सोनापुरको १८४.३६ रुपैयाँ र शिवमको १७५ रुपैयाँ ३१ पैसा रहेको छ ।




comments powered by Disqus

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट

Mar 07, 2025 10:35 AM

फागुन २३ गते, शुक्रबार, नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।