बिद्युत् प्राधिकरणले आइपिओ ल्याउने हल्लै बढी, न सरकारले अनुमति दिन्छ, न त प्राधिकरण हल्ला गर्न छोड्छ

Feb 21, 2025 06:20 AM merolagani



सुवास निरौला

जब नेपाल बिद्युत् प्राधिकरणमा कुलमान घिसिङ प्रमुख कार्यकारीको भूमिकामा नियुक्त भए। त्यस बेलादेखि उनले सार्वजनिक मञ्चहरूमा नेपाल बिद्युत् प्राधिकरणले शेयर निष्कासन मार्फत थप पूँजी जुटाउने भन्दै आएका छन्।

तर उनले शेयर निष्कासन गर्ने भनेको बर्षो हुन लाग्यो। तर अहिलेसम्म न सरकारले नै प्राथमिक निष्कासनको लागि स्वीकृति दिएको छ न त प्राधिकरणका तर्फबाट घिसिङले शेयर निष्कासन गर्ने कुरा भन्न छाडेका छन्।

तर जब जब घिसिङले सार्वजनिक मञ्चमा बोल्ने उपयुक्त समय देख्छन्। तब तब शेयर निष्कासन गर्ने कुरा बोली हाल्छन्। शेयर निष्कासन कहिले हुने भन्ने यकिन हुँदैन। तर उनले बोल्ने बित्तिकै निक्कै ताजा कुरा बोलेजस्तै गरी तत्कालै समाचार भने आउने गरेका छन्।

बिद्युत् प्राधिकरणको शेयर निष्कासन शब्द राखेर गुगलमा सर्च गर्ने हो भने बर्षाै अघि देखिको समाचार प्रशस्त भेटिन्छन्। जसले प्राधिकरणको शेयर निष्कासन गर्ने कुरा कति पुरानो हो भनेर प्रमाणित गर्छ।

अलि पुरानो समाचार खोलेर हेर्ने हो भने त्यसमा १० प्रतिशत हुन आउने ६० अर्ब बराबरको साधारण सेयर (आइपिओ) बिक्री गर्न लागेको समाचार आउँछ। समाचारमा प्रिमियममा शेयर निष्कासन गर्न लागेको पनि उल्लेख भएको भेटिन्छ।

अझै शेयर बिक्रीका लागि अर्थ मन्त्रालयले सहमति प्रदान गरिसकेको र अर्थको सहमतिपछि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्ने तयारी गरेको समेत समाचारमा पढ्न पाइन्छ।

दुई वर्ष अघि नै यस्ता समाचार आएको भएपनि शेयर निष्कासन गर्ने प्रस्ताव अझै नेपाल सरकार मन्त्रिपरिषदमा पेश भएको छैन। दुई वर्ष अघि जस्तो अवस्थामा थियो। अहिले पनि शेयर निष्कासन गर्ने भन्ने कुरा त्यस्तै अवस्थामा छ। कुनै प्रगति देखिँदैन। तर सामाजिक सञ्जालमा भने प्राधिकरणको प्राथमिक निष्कासनलाई लिएर आम सर्वसाधारण भने निक्कै उत्साहित देखिन्छन्। सोही उत्साह देखेर पनि प्राधिकरणका प्रमुख घिसिङ सार्वजनिक मञ्च पाएसँगै शेयर निष्काशनको कुरा निकाली हाल्छन्।

सार्वजनिक मञ्चमा मात्रै नभएर मेरोलगानीसँगको संवादमा समेत उनले सरकारले स्वीकृति दिने बित्तिकै शेयर निष्कासन प्रक्रिया अघि बढाउने बताए। “शेयर निष्कासन गर्नकै लागि हामीले रेटिङ गराउँदै आएका छौ। यसपटक पनि हाम्रो रेटिङ राम्रै आएको छ। वास्तविक सम्पत्ति मूल्याङ्कन सम्पन्न भइसकेको छ। अब सरकाको स्वीकृति मात्रै पाउन बाँकी छ। स्वीकृति पाउन साथ निष्कासन प्रक्रिया अघि बढ्छ,” घिसिङले भने।

घिसिङका अनुसार शेयर निष्कासनबाट आएको रकम ठुलो परियोजनामा लगानी हुने छ। प्राधिकरणको चुक्ता पुँजी करिब ३ खर्ब रुपैयाँ कायम गरिने छ। २० प्रतिशत रकममा प्रिमियम थप गरी शेयर निष्कासन प्रस्ताव गरिएको छ । प्रिमियमसहित प्रतिकित्ता मूल्य ३ सय रुपैयाँ कायम हुने छ।

प्राधिकरणले गराएको रेटिङमा यस वर्ष ‘डबल ए (एए) प्लस’ रेटिङ पाएको छ । इक्रा नेपालले प्राधिकरणको रेटिङ गरेको हो। प्राधिकरणले तेस्रो पटक डबल ए प्लस रेटिङ पाएको हो।  ‘डबल ए प्लस’ रेटिङ प्राप्त गर्ने संस्थासँग आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहनुको साथै वित्तीय कारोबारमा न्यून ऋण भुक्तानी जोखिम हुन्छ । त्यस्तो रेटिङ प्राप्त गरेकोले पनि सरकारले स्वीकृति दिने बित्तिकै निष्कासन स्वीकृति पाउन कुनै कठिनाइ नहुने घिसिङले बताए। तर जति शेयर निष्कासन हुन्छ भनेर आम सर्वसाधारण ढुक्क छन् त्याे भन्दा बढी कन्फिडेन्स घिसिङमा देखिन्छ।

तर सरकार र घिसिङबीच सम्बन्ध सुमधुर नभएको कारण शेयर निष्कासन विषय ओझेलमा पर्दै आइरहेको छ। अझै ऊर्जा मन्त्रीसँगको सम्बन्धमा देखिएको जटिलताले शेयर निष्कासन थप अन्योलमा परेको छ। घिसिङ प्रमुख रहुन्जेलसम्म सार्वजनिक निष्कासन हुने सम्भावना कति रहन्छ यसै भन्न सकिन्न ।




comments powered by Disqus

काराेबारकाे अन्त्यमा शेयरको मूल्य बढाएर सर्किट लगाउनेका दिन सकिँदै, अन्तिम १५ मिनेटको औसत मूल्य कायम गर्ने नियम लागु हुने

Feb 18, 2025 06:07 PM

सुवास निरौला

दोस्रो बजारमा अन्तिम सेकेण्डमा मार्केट “एमकेटी” गर्दै शेयरको मूल्य बढाएर सर्किट लगाउनेहरूको दिन सकिने भएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले यस अघि कायम हुने गरेको अन्तिम शेयरको कारोबार मूल्य गणना गर्ने विधि परिवर्तन गर्ने निर्णय गरेको छ।