आन्दोलनको क्रममा विद्यार्थीहरुले सरकारी कार्यालयहरुमा गोबर छाप्ने अभियान चलाइरहेका छन् । आन्दोलनको यस्तो रुप विश्वकै लागि नौलो हो । विद्यार्थीहरुले राष्ट्रपति प्रबोवो सुबियान्तो लगायतका सरकारका उच्च अधिकारीहरुको दिमागमा ‘गोबर भरिएको’ जनाउ दिन सरकारी कार्यालयहरुमा गोबर छाप्ने अभियान चलाएको जानकारी दिएका छन् ।
केही दिन देखि शुरु भएको विद्यार्थी आन्दोलनमा पछिल्लो समय सर्वसाधारणको पनि सहभागिता बढिरहेको छ । उनीहरुले देशको आर्थिक अवस्था खस्किदै गएको बेला सरकारले भ्रष्टाचार र आर्थिक अनियमिततालाई रोकेर मितव्ययीता अपनाउनु पर्नेमा शिक्षा र स्वास्थ्यसंग सम्वन्धित कार्यक्रमहरुको बजेट कटौती गरिरहेको आरोप लगाएका छन् ।
उनीहरुले अगाडि सारेको ‘डार्क इण्डोनेसिया’ (अर्थात् अध्याँरो इण्डोनेसिया) र ‘जस्ट स्केप फस्ट’ (अर्थात् पहिले तस्करी) भन्ने नाराले सर्वसाधारणलाई आकर्षित गरिरहेको छ । विद्यार्थीहरुको संगठन ‘केसातुवान अक्सि महासिस्वा इण्डोनेसिया’ (कामी इण्डोनेसिया)ले आयोजना गरेको यो आन्दोलनमा विभिन्न विद्यार्थी समुह र नागरिक समाजहरु जोडिन थालेका छन् । त्यसले गर्दा आन्दोलनले राजनीतिकरुप लिन सक्ने अनुमान गरिएको छ ।