सुनको मूल्य हालसम्मकै महंगाे, कति सम्म पुग्न सक्छ ?

Mar 15, 2025 06:08 AM Merolagani



पछिल्लाे समय सुनकाे भाउ आकाशिएको छ । शुकब्रार नेपाली बजारमा सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम गरेको छ । 

साताको अन्तिम दिन, सुनकाे मूल्य ह्वात्तै बढेर तोलाको एक लाख ७४ हजार ५०० रूपैयाँ पुगेर ऐतिहासिक रेकर्ड बनाएको हो । 

यो साता सुनकाे भाउमा बढाेत्तरी भएकाे छ । साताको पहिलो दिन प्रतिताेला एक लाख ७० हजार ३०० रूपैयाँ ताेकिएकाे थियाे । साेमबार सुनकाे मूल्य बढेर प्रतिताेला एक लाख ७० हजार ४०० रूपैयाँ पुगेपनि मंगलबार भने घटेर एक लाख ६९ हजार ९०० रूपैयाँमा झर्याे । त्यसपछि भने बुधबार सुनकाे मूल्य पुनः महंगिएर एक लाख ७० हजार ५०० रूपैयाँ पुग्याे । बिहीबार हाेलीकाे दिनमा भने सार्वजनिक विदा भएकाले नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनकाे मूल्य अपडेट गरेकाे थिएन । तर, शुक्रबार भने सुनकाे मूल्यमा भारी वृद्धि भयाे । यस दिन सुन ताेलामा नै ४ हजार रूपैयाँले बढेर ताेलाकाे एक लाख ७४ हजार ५०० रूपैयाँ पुगेकाे हाे ।

यो मुल्य साताको पहिलो दिनको तुलनामा ४ हजार २०० रूपैयाँ बढी हो।

यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार ताेलाकाे एक हजार ९८५ रूपैयाँ रहेको मूल्य साताको पछिल्लो कारोबार भएकाे दिन प्रतिताेला २ हजार ५० रूपैयाँ कायम भयो । यसरी, साताभरमा चाँदी ताेलामा ६५ रूपैयाँले वृद्धि भएकाे हाे ।

के कारणले बढ्दैछ सुन ?

रूसी राष्ट्रपति पुटिनले युद्धविराम गर्न विभिन्न सर्त राखेसँगै रसिया र युक्रेनबीचको युद्ध अनिश्चित हुँदा अन्तरराष्ट्रिय बजारमा सुन र चाँदी दुवैको मुल्यमा बृद्धि भएको विश्लेषकहरूको भनाई छ ।

बिहीबार सुन प्रतिअउन्स ८०  डलर बराबरले बढेर ३ हजार डलर माथि पुगेकाे थियाे । शुक्रबार सुन प्रतिअउन्स २ हजार ९९७ डलर बराबरमा पुग्याे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष धर्म सुन्दर बज्राचार्यका अनुसार विश्व बजारमा सुनकाे भाउमा तिव्र वृद्धि भएका कारण नेपाली बजारमा पनि यसकाे प्रभाव परेकाे हाे ।

सुनकाे भाउ वृद्धि पछिकाे कारण खुलाउँदै उनी भन्छन्,"साउदी अरबियामा अमेरिका र यूक्रेनकाे युद्धविरामका विषयमा वार्ता भएकाे थियाे । जुन सफल पनि भएकाे थियाे ।" तर अमेरिका र रसियाबीच यस विषयमा कुराकानी हुँदा बिहीबार रसियाले अमेरिकाकाे प्रस्ताव अस्विकार गर्दै केहि सर्त राख्याे । "ती सर्त अमेरिकाले न त यूक्रेनले नै पालना गर्ने अवस्था छैन ," उनले थपे ।

जसकारण लगानीकर्ताहरूमा अमेरिकामा राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे नेतृत्वमा युद्धले ठुलाे रूप लिने हाे कि भन्ने चिन्ता देखिएकाे छ । यसरी, त्रासका बीचमा लगानीकर्ताहरूले सरक्षित लगानीकाे रूपमा सुन माथि लगानी गरेकाे उनकाे भनाइ छ । साेहि अनुरूप सुनकाे भाउ महंगिएकाे हाे ।


सुन ताेलामा २ लाख पुग्ने सम्भावना

सुनकाे भाउ अझै माथि जान सक्ने महासंघका उपाध्यक्ष बज्राचार्यले अनुमान गरेका छन् । उपाध्यक्ष बज्राचार्यले नेपाली बजारमा सुनकाे भाउ ताेलाकाे २ लाख रूपैयाँ पुग्ने सम्भावना बलियाे रहेकाे बताउँछन् । 

"यी राष्ट्रहरूकाबीचमा युद्ध के हुने हाे भन्ने निर्क्याैल नभएसम्म सुनकाे भाउ बढ्ने देखिन्छ," उनी भन्छन् । "पहिला अमेरिकन विज्ञहरूले ३ हजार डलर पुग्न सक्छ भन्ने आंकलन गरेका थिए । बिहिबार ३ हजार डलर नाघिसकेकाे छ । अझै कति बढ्छ भन्न सकिने अवस्था छैन," बज्राचार्य सुनाउँछन् ।

"तर, कुनै समय यूक्रेन र रूसबीचमा युद्धविराम भएर सहमतिमा आएमा सुनकाे भाउ घट्न सक्छ," बज्राचार्यले प्रस्ट पारे ।

यतिबेला नेपाली सुन बजार सुनसान रहेकाे व्यवसायीहरू गुनासाे गर्छन्। सुन महंगिएका कारण सुन बजारमा सुन किन्ने ग्राहकमा निकै कमी आएको उनीहरूकाे भनाइ छ ।