राजा फर्काउन बेल्जियमका ‘पिआरहोल्डर’ नवराज सुवेदीको भर, ‘दुस्मन’संग ज्ञानेन्द्रले हात मिलाउंदा राजावादीहरुमा खैलाबैला मच्चिनुका चार कारण

Mar 18, 2025 11:15 AM mero lagani



‘श्री ५ ज्ञानेन्द्रको इच्छा र आदेश बमोजिम’ भन्दै राजावादीहरुको एउटा समुहले सोमबार नवराज सुवेदीको नेतृत्वमा ‘जनआन्दोलन’को घोषणा गरेपछि त्यसले गणतन्त्रवादी कित्तामा कम र राजावादी कित्तामा बढी खैलाबैला मच्चाइरहेको छ । खासगरि राजावादी पार्टी राप्रपा नेतृत्व त्यो घटनाबाट निराश बनेको छ ।

उनीहरु स्वंय एक अर्काप्रति प्रश्न गरिरहेका छन्—नेतृत्वकर्ताहरु र समर्थकहरु बिच फैलिएको निराशै निराशाको बीचमा हुने ‘जनआन्दोलन’ले साँच्चै गणतन्त्र ढालेर राजतन्त्र फिर्ता ल्याउला ? कतै सोमबारको घटनापछि राजतन्त्र पुनरस्थापनाको मुद्धा थप कमजोर बन्ने त होइन ?

उनीहरुले यस्तो आशंका गर्नुको पछाडि मुख्यतः चार कारण छन् ।

१.सुवेदीको उमेर र विदेशी नागरिकता
पंचायती व्यवस्थामा पटक पटक रापंस र मन्त्री भएका सुवेदी राष्ट्रिय पंचायतका अध्यक्ष (अहिले सभामुख जस्तै) पनि भैसकेका थिए । ८६ वर्षिय सुवेदीले केही वर्ष अघि बेल्जियमको नागरिकता लिएका छन् । उनी धेरैजसो बेल्जियम र यदाकदा मात्र नेपालमा बस्ने गरेका छन् ।

विदेशको नागरिकता लिएको त्यति वृद्ध मानिसले ‘जनआन्दोलन’को नेतृत्व गर्न सक्छ ? शायद केशरबहादुर विष्टदेखि ज्ञानेन्द्र शाहीसम्मले सोमबार गठन भएको समितिप्रति आपत्ती जनाउनुको मुख्य कारण यो हो ।

जसरी राजा ज्ञानेन्द्रले श्रीलंकाको पिआर लिएका वृद्ध डा.तुल्सी गिरीलाई बोलाएर माघ १९ को काण्डपछि सत्ताको हर्ताकर्ता बनाएका थिए, अहिले सत्तामा फर्किने सपना देख्दा पनि त्यही ‘टेक्निक’ अपनाएको देखिएको छ । तर, सर्वस्विकार्य नेतृत्वभन्दै सुवेदीलाई ‘आन्दोलनको कमाण्ड’ सुम्पनु उनको लागि आफू ताक्छ मुढो बन्चरो ताक्छ घुँडो जस्तै हुने अवस्था देखिएको छ । ज्ञानेन्द्र शाही, राजेन्द्र लिङदेनदेखि केशरबहादुर विष्ट र कमल थापासम्मले व्यक्त गरिरहेको असन्तुष्टिले त्यहीकुराको संकेत गर्छ ।


२.संगठित शक्तिलाई वेवास्ता

कांग्रेस, एमाले, माओवादीको तुलनामा सानो भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संगठित शक्ति हो, जस्को उपस्थिति संसददेखि सडकसम्म छ । त्यस्तै राप्रपा नेपालसमेत सानै भए पनि संगठित शक्ति हो । यी दुवै पार्टीले निरन्तर राजतन्त्रको पक्षमा वकालत गर्दै आएका छन् । तर ‘जनआन्दोलनको लागि’ भन्दै गठन गरिएको समितिमा यी दुवै पार्टीलाई पूर्णरुपमा वेवास्ता गरिएको छ । ती पार्टीका अध्यक्षसहित केही पदाधिकारीलाई समितिमा राखिए पनि उनीहरुलाई पार्टीगतरुपमा होइन, व्यक्तिगत हैसियतमा राखिएको छ । विश्वका संगठित शक्ति कुनै पनि राजनीतिक आन्दोलन सफल हुँदैन र कथंकदाचित सफल भैहाल्यो भने त्यो अराजकतामा परिणत हुन्छ, टिकाउ हुँदैन भन्ने दृष्टान्त र मान्यतालाई पूर्णरुपमा वेवास्ता गरिएको छ ।

शायद त्यसैले गर्दा अहिले राजेन्द्र लिङदेनदेखि ज्ञानेन्द्र शाही सम्मले ‘हाम्रो हैसियत खोई ?’ भन्ने आशयका प्रश्न गर्न वाध्य हुनु परेको छ ।

३. दुर्गा प्रसाईं ‘फ्याक्टर’
केही वर्ष यता दुर्गा प्रसाई नेपालको आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रको लागि हुण्डरी बनेका छन् । र, त्यसको चपेटामा धेरै संस्था र व्यक्ति परेका छन् । ती मध्ये केही राजावादीहरु पनि छन् । राप्रपा अध्यक्ष लिङदेनले त उनलाई सार्वजनिक रुपमै पटक पटक बैंक ठग नै भनेका छन् ।

‘जनआन्दोलन’ घोषणा गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा पनि प्रसाईले लिङदेन र थापाहरुको विरुद्ध कडा आक्रोश व्यक्त गरे । प्रसाईंको विशेषता के हो भने उनको पछाडी एउटा समुह छ, जो सडकमा हल्ला गर्न देखि सामाजिक संजालमा ‘आतँक’ मच्चाउने काम गर्छ । तर, उनले कस्लाई कति बेला के आरोप लगाउंछन्, त्यसको टुंगो हुँदैन ।

त्यसैले पहिलेदेखि नै कटुतापूर्ण सम्वन्ध भएका प्रसाईंसंग एउटै समितिमा रहन लिङदेन र थापाहरुले मानिरहेका छैनन् ।

४.‘परम्परागत दुस्मन’माथि ज्ञानेन्द्रले भरपर्दा झस्किएका राजावादीहरु
‘सर्व स्वीकार्य’ नेतृत्व भन्दै नवराज सुवेदीलाई ‘जनआन्दोलन’को नेतृत्व गर्न पूर्व राजा ज्ञानेन्द्र शाहले अगाडी सारेका छन् । जबकी सुवेदी र ज्ञानेन्द्र शाहबीच पंचायतकालदेखि नै शत्रुतापूर्ण सम्वन्ध रहेको छ । त्यो कुरालाई स्वंय सुवेदीले स्विकार गरेका छन् । आफ्नो आत्म वृतान्तमा सुवेदी लेख्छन्ः श्री ५ ज्ञानेन्द्रसँग मेरो सम्बन्ध शुरुदेखि नै राम्रो भएन । पछि श्री ५ होइबक्सँदा पनि मसँग राम्रो व्यवहार हुन सकेन । यसका मुख्य दुई कारण छन्– प्रथमतः २०३८ सालमा सूर्यबहादुरजीको विरोधमा प्रधानमन्त्रीको उम्मेदवार नहुनु र दोस्रोमा ओमेगा घडी कारखाना थियो ।

ओमेगा वाचले नेपालमा एक कारखाना खोल्न पाऊँ भनी प्रस्ताव पठायो । कुरा राम्रो थियो । अतः विश्व बैंकको वार्षिक साधारण सभाको मिटिङबाट फर्कंदा जेनेभा गई ओमेगा फ्याक्ट्री हेर्ने र कुरा पनि गर्ने भन्ने श्री ५ महेन्द्रबाट निर्देशन बक्स्यो । वाशिङ्टनबाट फर्कँदा म, भेषबहादुरजी र डा.पुष्करनाथ पन्त हामी तीन जनाले ओमेगा फ्याक्ट्री पनि हेर्यौँ र नेपालमा फ्याक्ट्री खोल्नेबारे कुरा पनि गर्यौं ।

उनीहरूको एउटै मात्र सर्त हामी सरकार या प्राइभेट कसैसँग पनि साझेदारीमा काम गर्दैनौँ भन्ने थियो । यो सर्त मन्जुर हुन्छ भने एक वर्षभित्र फ्याक्ट्री चालु गर्छौं भन्ने उनीहरूको भनाइ थियो । हामीहरूले ओमेगा जस्तो कम्पनी आउँछ भने किन नदिने भनी मन्जुर दियौँ ।

यस्तो शत्रुतापूर्ण सम्वन्ध रहेका सुवेदीलाई अहिले एकाएक आफू गद्दीमा फर्किने अभियानको नेतृत्व गर्न ज्ञानेन्द्र शाहले कसरी अगाडि सारे ? राजावादीहरु नै आश्चर्यमा पर्नु अस्वभाविक होइन ।

जेहोस्, गणतन्त्र ढालेर राजतन्त्र स्थापना गर्ने भन्दै ‘जनआन्दोलन’को घोषणा नै भैसकेको अवस्थामा के साँच्चै शसक्त ‘जनआन्दोलन’ भएर राजतन्त्र पुनरस्थापना होला ? त्यसको लागि अब केही समय पर्खिनै पर्छ ।