क्षेत्री भन्छन-'अर्थतन्त्र जति तल जानु थियो गयो,अब सुधार तर्फ अघि बढ्न थालेका हो जस्तो लाग्छ।' उनले शेयर बजारकाे सन्दर्भमा पनि हाइ क्याप कम्पनी चल्न नसक्दा बजारले आशातीत गति नलिएकाे बताएका छन् । बिभिन्न बैंकहरूमा प्रमुख कार्यकारी अधिकृत रहीसकेका क्षत्रीसँग समसामयिक आर्थिक बिषयहरूमा मेराे लगानीका उप सम्पादक सुवास निराैलाले कुराकानी गरेका छन् ।
सरले बैंकिङ क्षेत्रमा कति समय बिताउनु भयो ?
मैले बैंकिङ करियर सुरु गरेको भनेको १९८६ जुनमा हो। त्यतिखेर ग्रिण्डलेज बैंक भन्ने थियो। अहिले स्टयान्डर्ड चार्टर्ड बैंक भएको छ। म अहिले बैंकमा काम गर्दिन तर आफूलाई बैंकर नै भन्न रुचाउँछु।
लामो समय बैंकको कर्मचारी भएर काम गर्नु भयो। तर अहिले त्यो छोड्नु भएको अवस्था छ। बैंक बाहिर रहँदा कस्तो फरक महसुस गरिरहनु भएको छ ?
अवश्य पनि फरक त भइ नै हाल्छ। डे टु डे म्यानेजमेन्ट। डे टु डे प्रेसर लिनु पर्ने अवस्थाबाट बाहिर रहँदा धेरै नै फरक पर्छ। जतिखेर म काम गर्थे त्यति बेला ९० प्रतिशत समय डे टु डे काममा नै खर्च गर्नु पर्ने अवस्था हुन्थ्यो। तर अध्ययन लेखपढ र अरू सिक्ने कामको लागि १० प्रतिशत समय पनि निकाल्न गाह्राे हुने गर्थ्यो। तर अहिले मसँग समय नै समय छ।
बैंकिङ क्षेत्रबाट सन्यास नै लिएको हो कि फेरि फर्किने सम्भावना छ ?
मैले संन्यास नै लिएको हो। मैले साढे चार वर्ष अघि २८ जुलाइमा बैंकिङबाट मात्रै नभएर कुनै पनि काम फुल टाइम नगर्ने भनेर छोडेको हो।
पछिल्लो १०-११ दिनदेखि शेयर बजार निरन्तर घटिरहेको छ। किन घटिरहेको हो ? तपाईलाई के कारणले घटेको जस्तो लाग्छ ?
म शेयर बजारको धेरै ठुलो एक्सपर्ट चाहिँ होइन। मैले स्टक मार्केटमा जानेको कुरा भनेको लङ टर्ममा शेयर बजार भनेको बढ्ने नै हो। तर सर्टटर्ममा भने हाम्रो मार्केटमा केही चाहिँदै चाहिँदैन। कुनै पनि बहानामा झर्ने गर्छ। मलाई के लाग्छ भने जति बेला शेयर बजार बढेको थियो। त्यति बेला हाइ क्याप कम्पनीहरू बढेका थिए। हाइ क्याप कम्पनीको मूल्य बढेकै कारण सूचक पनि बढेको थियो।
अहिले तिनै हाइ क्यापमा करेक्सन आउँदा सूचक जहीँकाे त्यही आइपुगेको जस्तो लाग्छ। तर घट्नुको बारेमा स्टोरी त जे बनाए पनि हुन्छ। स्टोरीमा राजा जोडे पनि भयो। आन्दोलन जोडे पनि हुन्छ। सस्टेन हुन हाइ क्यापमा लगातार भोल्युम आउनु पर्ने थियो। तर लगातार हाइ क्यापमा भोल्युम आउन सकेन र सक्ने अवस्था पनि छैन।
कहिलेसम्म यस्तो अवस्था होला ? केही अनुमान गर्न सकिन्छ ?
भोल्युम घट्दै आइरहेको छ। अहिले हामी लोअर भोल्युम जोनमा आइसकेका छौ। टेक्निकल्ली पनि सपोर्ट लेभलमा नै छौ। आइतबार नै पनि फर्कन सक्छ वा अरू एक दुई दिन दिन फर्किन्छ होला।
बैंक वित्तीय संस्थाको खराब ऋण बढेको बढ्यै छ। किन बढिरहेको हो ?
अर्थतन्त्र राम्रो भयो भने बिजनेस राम्रो हुन्छ। यसलाई हामी साइक्लिकल भन्छौ। त्यसैमा इकोनमी राम्रो भयो भने बिजनेस राम्रो हुन्छ भनिन्छ। साइक्लिकल पनि तीन किसिमको हुन्छ। सबैभन्दा पहिले इकोनमी राम्रो वा नराम्रो हुनुभन्दा अघि बिजनेस नै राम्रो वा नराम्रो हुने हुन्छ। अर्को चाहिँ सँगसँगै हुने त्यसपछि भनेको ल्यागिङ हुने। बैंकिङको कुरा गर्ने हो भने बैंकिङ साइक्लिक नै हो। तर यो ल्यागिङ हो। अहिले इकोनमी सुस्तायो त्यसपछि बिजनेस खराब भयो त्यसपछि आएर बैंकको बिजनेस खराब भयो। हुने नै यही हो। बैंकको बिजनेस पछि नै खराब हुने हो। किनभने बैंकले आफ्नो पैसा उठाउन खोजिरहेको हुन्छ। समय पनि हुन्छ। समय गुज्रिँदै गएपछि खराब हुने हो। त्यसकारण बैंकको बिजनेस सबैभन्दा पछि खराब हुने हो। बैंकले पैसा उठाउने प्रयास गर्दागर्दा एक ठाउँमा थाक्ने स्थिति आउँछ। अनि यस्तो बिन्दु आउँछ जुन बेला ग्राहकले पनि हात उठाउँछन्। त्यसपछि बल्ल खराब हुने हो। नेपालमा अहिले भएको पनि त्यही नै हो। जब ग्राहकहरूले हात उठाउन थाले तब देखि बैंकहरुको व्यालेन्सिट बिग्रन थालेको हो।
अब भनेको इकोनमी पनि सुध्रिनु पर्छ। इकोनमी सुध्रियो भने बिजनेस सुध्रिन्छ। बिजनेस सुध्रिएपछि बैंकहरुको व्यालेन्सीट सुध्रिन थाल्छ।
अहिलेको डेटा हेर्दा अब तल जाने वा बिग्रिने क्रम रोकिएको हो कि जस्तो लाग्छ। किन लाग्छ भने विगतमा बिजनेस पर्सनहरु धेरै नै आत्तिनु भएको थियो। मैरै पुराना ग्राहकहरू मेरो घरमा नै आएर के गर्ने होला भन्ने गर्नु हुन्थ्यो। अहिले केही महिना यता मेरो घरमा नै कोही त्यस्तो भयो भनेर आउनु भएको पनि छैन र त्यस्ता फोन पनि आएका छैनन्।
अर्कोतिर इकोनमी सुधार हुँदै गएको पनि देखिन्छ। राजस्व पनि बढेको छ। आयात बढेको छ। निर्यात बढेको छ। मासिक निर्यातमा अहिले अल टाइम रेकर्डहरू बनेका छन्। बैंकमा पैसा थुप्रियो भनेर हामीले धेरै भन्यौ। हो पनि। अझै पनि सवा सात सय अर्ब ऋण दिने क्षमता छ। तर यो आर्थिक वर्षको गएको चैत दुई गतेसम्मको फिगर हेरियो भने साउनको १ गतेदेखि चैतको दुई गतेसम्म जति डिपोजिट बढेको छ। त्यो भन्दा बढी ऋण गएको छ। उत्पादन क्षेत्रमा नै ९ प्रतिशतले ऋण बढेको छ। इनपोर्टमा ऋण बढेको छ। ट्राभलिङ, टुरिजम सेक्टरमा ऋण बढेको छ। त्यही भएर मैले भनेको र आशा पनि गरेको जति तल जानु थियो गयो। अब सुधार तर्फ अघि बढ्न थालेका हो जस्तो लाग्छ।
अहिले ब्याजदर घटेको छ। यो नै ठिक छ वा अझै घट्नु पर्ने हो ?
मेरो बिचारमा अहिलेको रेट ठिक ठिकै हो। अहिले विगतमा महँगोमा लिएका मुद्दती निक्षेप परिपक्व भइरहेका छन्। अहिले सस्तोमा निक्षेप लिँदा कष्ट अफ फण्ड घट्ने। कष्ट अफ फण्ड घटेका कारण बेस रेट घट्ने अनि बेस रेट घटेका कारणले गर्दा एभरेज लेण्डिङ रेट घट्ने ट्रेन्ड छ। त्यो ठिकै छ। नेपाल राष्ट्र बैंकले पनि हेरिरहेको होला। उसले पनि ३ प्रतिशतको करिडर मेन्टेन गरिरहेको छ। त्यसले गर्दा पनि थप ब्याजदर नघटेको हो। करिडर मेन्टेन नभएको भए ब्याजदर अझै तल आउने थियो। त्यसकारण मेरो बिचारमा केही बेसिस पोइन्ट तल आउनु ठुलो कुरा होइन। तर अहिलेको मुद्रा स्फीतिलाई समेत ध्यानमा राख्दा अहिलेको अवस्था ठिकै हो।
तपाईले ऋणको ग्रोथ बढेको भन्नु भयो। तर राष्ट्र बैंकले पैसा अझै पनि तानिरहेको छ नि ?
त्यो अर्कै कुरा हो। ऋण बढिरहेको छ। तर अझै पनि बैंकहरुसित ऋण दिने क्षमता छ। ७९ प्रतिशतको सिडी रेसियो हुँदा पनि साढे ६ सय अर्ब रुपैयाँ ऋण दिन सक्ने पैसा बैंकहरुसित अझै छ। त्यो पैसा कहाँ राख्ने त ? राष्ट्र बैंक नै पठाउने हो। राष्ट्र बैंकले पैसा प्रसोचन नगरिदिएको भए त अझै ब्याजदर तल आउने थियो। ब्याजदर मात्रै तल ल्याएर केही हुने वाला त छैन। किनकी निक्षेपकर्तालाई पनि हेर्नुपर्छ। त्यसकारण राष्ट्र बैंकले लिक्विडिटी प्रशोचन गरेको कुरालाई ऋण बढेको कुरा सित जोड्न त मिल्यो। तर त्यही कारणले मात्रै भएको भनेर भन्न मिल्दैन।
नेपाल राष्ट्र बैंकले गरेको नीतिगत कडाइले पैसा थुप्रिएको भनेर केही मानिसले भनिरहेका छन्। त्यसमा सत्यता छ ?
भन्नलाई त जे भने पनि हुन्छ। मुख्य कुरा राष्ट्र बैंकले हेर्ने भनेको यस्तो ठाउँमा पैसा जाओस् पब्लिकले यस्तो सम्पत्ति सिर्जना गरोस्। जुन सम्पत्तिले आय जेनरेट होस्। सबैको त्यही हो। यसरी नै हेर्ने हो। कुनै पनि मुलुकको केन्द्रीय बैंकले यसरी नै हेर्ने हो। हाम्रो केन्द्रीय बैंकले पनि त्यसरी नै हेरिरहेको होला जस्तो लाग्छ।
तरलता बढी भएको बेला बैंक वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले शेयर बजारमा लगानी गर्न खुकुलो गरिदिँदा कस्तो हुन्छ होला ?
बैंक वित्तीय संस्थाहरूले आफ्नै समूहको शेयर किन्नै पाइँदैन। लिने भनेको अरू समूहको हो। लिक्विड शेयरमा केही मापदण्ड बनाएर खुकुलो परिदिँदा हुन्छ होला जस्तो लाग्छ। किनभने संस्थागत लगानीकर्ता आए भने स्टक मार्केटलाई पनि राम्रो हुन्छ। बैंकहरुलाई पनि भोलि बिदेशको बण्ड मार्केटमा, करेन्सि मार्केटमा लगानी गर्ने अनुभव बढ्दै जान्छ।
नेपाल राष्ट्र बैंकले शेयर बजारमा जाने ऋणमा जुन क्याप लगाएको छ। त्यस बारेमा तपाईको धारणा के छ ?
सुरुमा यो नीति आउँदा मलाई किन यसमा हात हालेको होला जस्तो लागेको थियो। कुल ऋणमा जम्मा २ प्रतिशत मात्रै ऋण पनि गएको छैन। यस्तो क्षेत्रमा किन हात हाल्नु परेको होला भन्ने लागेको थियो। तर जुन किसिमको रियाक्सन आयो, त्यति धेरै रियाक्सन नआउनु पर्थ्यो। यति धेरै रियाक्सन आएको हिसाबले अहिले मलाई मैले जसरी हेरिरहेको थिए त्यो होइन कि क्या हो जस्तो लाग्न थालेको छ। रेगुलेटरले अनेक एङ्गलबाट हेरिरहेको हुन्छ। भोलि केही तलमाथि भयो भने औला उसैतिर फर्किन्छ। मैले यसलाई यसैगरी हेरिरहेको छु।