गभर्नर अधिकारीसंगै राष्ट्र बैंकका १ दर्जन कार्यकारी निर्देशक अवकाशमा जाँदै

Mar 22, 2025 10:54 AM mero lagani



गभर्नर महाप्रसाद अधिकारीसंगै नेपाल राष्ट्र बैंकका ४ कार्यकारी निर्देशक अवकास पाउन लागेका छन् । योसंगै राष्ट्र बैंकमा ६ जना कार्यकारी निर्देशककाे पद रिक्त हुने भएको छ भने साउनसम्म १ दर्जन कार्यकारी निर्देशकले अवकाश पाउने भएका छन् ।

नेपाल राष्ट्र वैंकमा सचिव सरहको विशिष्ट श्रेणीको कार्यकारी निर्देशक पदमा १८ जनाको दरबन्दी छ । ती मध्ये गत मंसिर ६ गते कार्यकारी निर्देशक देवकुमार ढकाल ५८ वर्ष उमेर हद र कार्यकारी निर्देशक नेफिल मताङ्गी मास्के माघ २६ गते ७ वर्षे सेवा अवधिको कारण अवकाश पाएका थिए । उनीहरुको स्थानमा नयाँ नियुक्ति भएको छैन ।

त्यस्तै २ चैतबाट ५८ वर्षको उमरहदका कारण कार्यकारी निर्देशक रामबहादुर मानन्धरले अवकास पाएका छन् भने २४ चैतमा अर्का कार्यकारी निर्देशक सुमनकुमार अधिकारीले अवकाश पाउँदैछन् । उनी २५ फागुनबाटै बिदामा बसिसकेका छन् ।

७ वर्षे कार्यकाल पूरा गरेर २८ चैतमा कार्यकारी निर्देशकद्धय मुकुन्द क्षेत्री र पिताम्बर भण्डारीले पनि अवकाश पाउँदैछन् ।

५८ वर्ष उमेर हदकै कारण जेठ २०८२ मा कार्यकारी निर्देशकहरू प्रकाशकुमार श्रेष्ठ र तुलसीप्रसाद घिमिरेले अवकाश पाउनेछन् । हालै कार्यकारी निर्देशकमा बढुवा भएका रामप्रसाद गौतम २०८२ असारमा अवकास हुँदैछन् ।

यस्तै कार्यकारी निर्देशकद्धय प्रदीपराज पौड्याल र ऋषिकेश भट्टले अगामी साउनमा ७ वर्षको सेवा हदका कारण अवकास पाउँदैछन् ।

राष्ट्र बैंकको कार्यकारी निर्देशकको उमेर हद ५८ वर्ष वा कार्यकारी निर्देशकमा बढुवा भएको मितिले ७ वर्ष कायम गरिएको छ । ती दुईमध्ये जुन मिति पहिले आयो त्यही मितिमा अवकाश हुने व्यवस्था छ ।