१५ मिनेटको भारित औसत कारोबार मूल्यलाई अन्तिम मूल्य मान्ने नियमको असर, २६ सय २५ रुपैयाँ पुगेको कुथेली बुखरीको शेयर मूल्य २४६९.७२ रुपैयाँ कायम

Mar 24, 2025 06:18 AM Merolagani



नेपाल स्टक एक्सचेञ्जले आइतबार कारोबार समयको अन्तिम १५ मिनेटको कुनै पनि कम्पनीको शेयर कारोबार मूल्यको भारित औसत कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरेको दोस्रो कारोबार दिन हो । यो व्यवस्थाले अन्तिम समयमा मात्रै शेयर मूल्य बढाएर राख्ने प्रवृत्ति धेरै हदसम्म कम भएको तथ्यांकमा देखिएको छ ।

अझै पनि अन्तिम समयमा ठूलो कित्ताको शेयर कारोबार गरेर शेयर मूल्यलाई माथि वा तल राख्ने ‘लुपहोल’ भने कायमै रहेको छ यद्यपि अब ठूलो कित्ताको शेयर कारोबार भए मात्रै अन्तिम समयमा अकस्मात शेयर मूल्य अत्यन्तै माथिल्लो वा तल्लो विन्दुमा रहन सक्छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले गत बिहीबारदेखि अन्तिम कारोबार मूल्य परिवर्तन गरेर लागू गरेको छ। नेप्सेले २ बजेर ४५ मिनेटदेखि ३ बजेसम्म कारोबार हुने शेयर मूल्यको अन्तिम भारित औसत कारोबार मूल्यलाई नै अन्तिम कारोबार मूल्यको रुपमा मान्यता दिएको छ। यदि अन्तिम १५ मिनेटमा कुनै पनि कारोबार नभएमा त्यस अघि भएको अन्तिम कारोबार मूल्य नै अन्तिम कारोबार मूल्य हुने छ।

आइतबार अन्तिम समयमा कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड (केबीएसएच) को शेयर अन्तिम समयमा ८.४९ प्रतिशतले बढाएर २६ सय १५ पुर्याइएको थियो । कारोबार समयको अन्तिममा भएको कारोबार मूल्यलाई नै अन्तिम मूल्य (क्लोजिङ प्राइस) मान्ने पहिलेको प्रणाली अनुसार सोमबारको प्रि ओपनिङ सेसन २६ सय १५ रुपैयाँको २ प्रतिशत तल वा माथिबाट शुरु हुन्थ्यो तर नयाँ प्रणाली अनुसार १५ मिनेटको भारित औसत मूल्य लिँदा भने कम्पनीको शेयर मूल्य २४ सय ६९ रुपैयाँ ७२ पैसामा सिमित भएको छ । नयाँ प्रणालीले अन्तिम समयमा मात्रै एमकेटी गरेर शेयर मूल्य उचाल्ने वा थचार्ने प्रवृत्तिलाई केही मात्रामा भए पनि लगाम लगाएको छ ।

आइतबार सुपरमाई हाइड्रोपावर (एसएमएच)को अन्तिम कारोबार मूल्य ९ सय ८० रुपैयाँ थियो जुन अघिल्लो दिनको अन्तिम मूल्य भन्दा २.१३ प्रतिशत मात्रै कम थियो तर १५ मिनेटको औसत मूल्य लिँदा कम्पनीको ‘क्लोजिङ प्राइस’ लिँदा ९ सय ५६ रुपैयाँ १ पैसा कायम भएको छ जुन अघिल्लो दिनको अन्तिम मूल्यभन्दा ४.४४ प्रतिशतले कम हुन आयो ।

त्यसैगरी ८ सय ७५ रुपैयाँमा अन्तिम कारोबार भएको शुभम पावर (एसपीएल) ८ सय ५५ रुपैयाँ ८३ पैसा कायम भयो जुन पहिलेको प्रणालीभन्दा २.०५ प्रतिशत कम हो ।

त्यस्तै नारायणी डेभलपमेन्ट बैंक (एनएबीबीसी)को शेयर मूल्य १९३८ रुपैयाँमा अन्तिम कारोबार भएकोमा १५ मिनेटको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मान्ने प्रणाली लागू गरेका कारण २.९२ प्रतिशतले बढेर १९९५.७८ रुपैयाँ कायम भयो । १३६८ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको ग्रिन डेभलपमेन्ट बैंक १५ मिनेटको भारित औसत मूल्य लिँदा १४ सय ४ रुपैयाँ १५ पैसा ‘क्लोजिङ प्राइस’ भयो ।

उपकार लघुवित्त (युएलबीएसएल) को शेयर मूल्य ३३ सय ३२ रुपैयाँमा अन्तिम कारोबार भयो जुन अघिल्लो दिनको क्लोजिङ प्राइस भन्दा ७.२० प्रतिशतले ऋणात्मक थियो तर अन्तिम कारोबार मूल्य आउँदा ३४ सय १६ रुपैयाँ ८८ पैसा पुग्यो जुन अघिल्लो दिनको क्लोजिङ प्राइस भन्दा ४.५० प्रतिशतले मात्रै ऋणात्मक हो ।

त्यस्तै अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी (युएसएचइसी)को शेयर मूल्य ५ सय ७९ रुपैयाँमा अन्तिम कारोबार भएकोमा ‘क्लोजिङ प्राइस’ भने ५ सय ८७ रुपैयाँ ५२ पैसा कायम भएको छ ।

त्यसैगरी थ्रीस्टार हाइड्रोपावर (टीएसएचएल) ७ सय ९५ रुपैयाँमा अन्तिम कारोबार भएकोमा ८ सय ५ रुपैयाँ ३९ पैसा, उन्नति सहकार्य लघुवित्त (युएसएलबी)को १६ सय ६० रुपैयाँमा अन्तिम कारोबार भएकोमा १६ सय ८३ रुपैयाँ ३६ पैसा तथा सयपत्री हाइड्रोपावर (एसपीएचएल) ७ सय १९ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएकोमा ७ सय २६ रुपैयाँ २३ पैसा ‘क्लोजिङ प्राइस’ भयो ।

गत बिहीबार भने अप्पर हेवाखोला हाइड्रोपावरको शेयर मूल्यलाई अपरेटरले माथिल्लो मूल्यमा नै कायम गर्न सफल भएका थिए । हरेक नियाकीय प्रावधानको लुपहोल प्रयोग गर्न खप्पिस अपरेटरहरुले अन्तिम समयमा १० हजार कित्ता शेयर अन्तिम १५ मिनेटमा कारोबार गराएर शेयर मूल्यलाई माथिल्लो मूल्यमा कायम गराउन सफल भएका थिए । बिहीबार ८ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको अप्पर हेवाखोलाको शेयरलाई अन्तिम समयमा बढाएर ८ सय ९५ रुपैयाँ ९५ पैसाको माथिल्लो विन्दुसम्म पुगेको थियो तर अन्तिम १५ मिनेटको समयमा १० हजार कित्ता शेयर माथिल्लो मूल्यमा कारोबार भएको हुँदा अन्तिम कारोबार मूल्य गणना हुँदा भने अप्पर हेवा खोलाको मूल्य ८ सय ८८ रुपैयाँ ५० पैसा कायम भएको थियो । यहाँ अपरेटरले माथिल्लो मूल्यमा सो शेयर मूल्य कायम गर्न झन्डै ८९ लाख ५५ हजार रुपैयाँ १० हजार कित्ता बराबरको ठूलो शेयर कारोबार गर्नु परेको थियो ।

पछिल्लो समय अन्तिम सेकेन्डमा सर्किट लगाएर मूल्य बढाउने विसङ्गती असाध्यै धेरै बढेको थियो। हरेक दिनजसो कुनै न कुनै कम्पनीमा यस्तो प्रवृत्ति दोहोरिँदै आएको थियो। बजार घट्दो समयमा होस् या बढ्दो लयमा रहँदा यस्तो प्रवृत्ति बारम्बार दोहोरिने गरेको थियो। खासगरी यस अघि अन्तिम कारोबार मूल्यलाई नै क्लोजिङ प्राइस मानिने भएकोले यस्तो प्रवृत्ति दोहोरिँदै आएको थियो। नेप्सेको क्लोजिङ प्राइस र दिनभरिमा बढ्न सक्ने प्रतिशतको लुप होलमा स्पेकुलेटरहरुले खेल्ने गरेका थिए। नेप्सेको सिस्टमले एक दिनमा १० प्रतिशतसम्म बढ्न सक्ने र १० प्रतिशतसम्म नै घट्न दिने गरेको थियो। तर सर्किट लाउन खोज्नेले कारबारको सुरुवाती सेकेन्डमा नै कम्पनीको मूल्य १० प्रतिशतसम्म बढाउने गर्थे,त्यो पनि असाध्यै कम कित्ता शेयरको कारोबारमा। दिनभरि पुनः तल्लो मूल्यमा नै कारोबार गराएर अन्तिममा एमकेटी प्रयोग गर्दै १० प्रतिशत बढाउने गरिन्थ्यो। जसले एकै पटक अघिल्लो कारोबार र पछिल्लो कारोबार मूल्य आठ प्रतिशतसम्मको फरक पर्ने गरेको भेटिनु सामान्य जस्तै बनेको थियो।

 




comments powered by Disqus

गभर्नरमा डा. भट्ट ‘कन्फर्म’ भएकाे कुरा के हाे ? डा.निलमको आधा—आधाको हिसाब यसरी विग्रियो

Apr 17, 2025 11:26 AM

भनिन्छ, जब इमान्दारहरुबीच खुट्टा तानातान हुन्छ, तब खराब मान्छेले मौका पाउंछ र जब खराबहरुका बीचमा खुट्टा तानातान हुन्छ, तब इमान्दारले मौका पाउंछ ।