भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष आयात ११ दशमलव २० र निर्यात ५७ दशमलव २० प्रतिशतले बढेको छ। अर्थात् गत वर्षको तुलनामा यस वर्ष नेपालको निर्यातमा खानेतेलको निकै ठूलो हिस्सा देखिएको छ।
पछिल्लो आठ महिनामा एक खर्ब ५८ अर्ब रुपैयाँको निर्यात गर्दा नेपालले ४७ अर्ब ९४ करोड ६६ लाख रुपैयाँबराबरको भटमास (सोयाबिन) तेल मात्रै निर्यात गरेको छ। त्यस्तै, सात अर्ब ९८ करोड २३ लाख रुपैयाँबराबरको सूर्यमुखी तेल, पाँच अर्ब ८३ करोड ७३ लाख रुपैयाँको अलैंची, चार अर्ब ३२ करोड ३९ लाख रुपैयाँको कार्पेट निर्यात भएको छ।
विभागका अनुसार चालु आवको दोस्रो चौमासिक अवधिसम्म मुलुकले कुल १३ खर्ब तीन अर्ब ७३ करोड ८६ लाख रुपैयाँबराबरको वैदेशिक व्यापार गर्दा नौ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँको घाटा बेहोरेको छ। पछिल्लो आठ महिनामा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँबराबरको वस्तु आयात भएको छ भने एक खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँबराबरको निर्यात भएको छ।
छिमेकी मुलुक भारतसँग मात्र नेपालले आठ महिनामा पाँच खर्ब ६३ अर्ब ६७ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ। गत साउनदेखि फागुनसम्म भारतबाट छ खर्ब ८८ अर्ब ६८ करोड रुपैयाँको आयात हुँदा एक खर्ब २५ अर्ब रुपैयाँबराबरको निर्यात भएको छ। चीनसँग दुई खर्ब १९ अर्ब १८ करोड रुपैयाँको आयात र दुई अर्ब १२ करोड रुपैयाँको निर्यात हुँदा २१ अर्ब ७० करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ। साथै अर्जेन्टिना, युक्रेन, युनाईटेड अरब ईमिरेट्स, अस्ट्रेलियालगायतका मुलुकहरुसँग नेपालको व्यापार घाटा उच्च छ। उक्त अवधिमा ३४ वटा मुलुकसँगको व्यापारमा नेपाल नाफामा छ। अफगानिस्तान, डेनमार्क, रसिया, अस्ट्रिया, माल्दिभ्सलगायतका मुलुकसँगको वैदेशिक व्यापारमा नेपाललाई नाफा छ।
सो अवधिमा पेट्रोलियम पदार्थको आयात उच्च छ। पछिल्ला आठ महिनामा नेपालले ७८ अर्ब ८६ करोड ३७ लाख रुपैयाँको डिजेल, ४२ अर्ब ८० करोड १७ लाख रुपैयाँको पेट्रोल र ४१ अर्ब रुपैयाँबराबरको एलपी ग्यास आयात गरेका छ। त्यस्तै, नौ अर्ब ६९ करोड २२ लाख रुपैयाँबराबरको विद्युतीय सवारीसाधन र दुई अर्ब ११ करोड रुपैयाँबराबरको अन्य सवारीसाधन आयात भएको छ। यो अवधिमा २१ अर्ब ९१ करोड ८३ लाख रुपैयाँबराबरको १४ लाख सात हजार ७८ वटा स्मार्टफोन आयात भएको पनि विभागको तथ्याङ्क छ।