विभागले इम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि तोकिदिएको स्थानमा पुगेर सवारीधनी आफैँले जडान गराउनुपर्ने हुन्छ।
दुईपांग्रे सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न २ हजार ५ सय, तीनपांग्रे सवारीसाधनमा जडान गर्न २९ सय, साना चारपांग्रे सवारीसाधनमा जडान गर्न ३२ सय र ठुला सवारीसाधनमा जडान गर्न ३६ सय रूपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
हाल नेपालभर झन्डै ६० लाख सवारीसाधन दर्ता भएका छन् तीमध्ये एक वर्षभित्र २५ लाख र बाँकी ३५ लाखमा अर्काेवर्षसम्म इम्बोस्ड प्लेट राख्ने गरि काम भइरहेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । त्यहीअनुसार हालसम्म विभागले पाँच लाख त्यस्ता प्लेट छापिसकेको छ ।
इम्बोस्ड नम्बर जडानका लागि २०७३ जेठ १९ मा बङ्गलादेश र अमेरिकाको बहुराष्ट्यि कम्पनी डेकाटुर–टाइगर आईटी कम्पनीसंग ५ वर्षे सम्झौता गरिएको थियो । तर, नेपालमा त्यसको व्यापक विरोध भएपछि सरकार कम्पनीसंगको सम्झौतालाई पछि सारिरहेको थियो । पछिल्लो पटक भने अदालतबाट समेत अनुमति प्राप्त गरि २०८२ मंसिर भित्र २५ लाख सवारीमा इम्बोस्ड नम्बर जडान गरिसक्नुपर्ने गरि सम्झौता नविकरण गरिएको छ । त्यही अनुसार अहिले धमाधम नम्बर प्लेट छपाईको काम भइरहेको विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।
यातायात व्यवसायीहरु भने महंगो भएकोले सरकारले इम्बोस्ड नम्बर प्लेट जडान गरिदिनु पर्ने अडानमा छन् । विभागका अनुसार विशेष खालको विद्युतीय चिप राखिएको इम्बोस्ड नम्बर प्लेटमा सवारीसाधन तथा सवारीधनीको सम्पूर्ण विवरण उल्लेख हुन्छ ।
तर यसको जडान निश्चित यातायात कार्यालयहरूमा नै आएर गर्नुपर्ने हुनाले प्लेट छपाइदेखि जडानसम्मको प्रक्रिया खर्चिलोको साथै झण्झटिलो देखिएको छ ।
यातायात व्यवस्था विभागका अधिकारीहरु इम्बोस्ड प्लेट छाप्ने उद्योग काठमाडाैमा मात्र रहेकोले त्यस्तो झण्झटिलो भएको बताउँछन् ।
र प्रदेशहरूबाट आएको मागका भरमा छापेर पठाइने गरिएको जनाएको छ । त्यसकै कारण हालसम्म छापिएका प्लेटहरू पनि उल्लेख्य सङ्ख्यामा जडान हुन नसकेको बताइएको छ ।