राजनीतिक चेपुवामा सेयर बजार, लगानीकर्ता तावामा कहिलेसम्म सेकिरहने ?

Apr 08, 2025 05:52 PM mero lagani



अचुत कुमार ओझा

सेयर बजार लगानीको सबैभन्दा संवेदनशिल क्षेत्र हो । यहाँ खल्तिबाट सलाई निकाल्दा डढेलो लाग्छ कोरी रहनु पर्दैन । केवल देखाइ दिउ भने पुग्छ देखाइ रहनु पर्दैन ।

वास्तवमा भन्नुपर्दा लामो यात्रामा बजारले आफ्नो वास्तविक अवस्था जे हो त्यो देखाएता पनि छोटो समयमा हेर्ने हो भने सेयर बजारलाई कम्पनीको वित्तीय विवरण र भविष्यको सफल सम्भावनाले मात्रै बचाएर राखि राख्न सक्दैन ।

बजारलाई प्रभाव पार्ने कुनै शक्तिशाली विषय छ भने त्यो लगानीकर्ताको मनोविज्ञान हो भन्दा अतिशयोक्ति नहोला ।  सेयर बजारको अध्ययन तब सफल बन्न सक्छ जब लगानीकर्ताको मनोभाव बुझ्न सकिन्छ । यस्तो मनोभावलाई प्रभावित र अस्थिर बनाई राख्ने विविध पक्ष रहन सक्छन् । त्यो लोभको रुपमा वा डरको स्वरुपमा लगानीकर्तामा भित्रन सक्छ । लगानीकर्ताले त्यसैअनुसार आफ्नो स्वभाव बजारमा देखाउने गर्छन । लामो समयपछि बजारले सुधारको लय समात्न खोजेको भएता पनि २९०० माथि परिसूचक टिक्न सकेको छैन । पछिल्लो समय बजारमा बढ्दो तरलता र कर्जाको ब्याजदर न्यून विन्दुमा आइपुग्दा पनि बजारले आफुलाई समाल्न सकेको परिस्थिति छैन । कुनै समय ब्याजदर १५ प्रतिशत माथिसम्म पुगेको थियो हालको दिनमा विगतको भन्दा आधा अर्थात छ-सात प्रतिशतमा कर्जा लिन चाहने व्यक्तिले सजिलै पाउने अवस्था छ । तर पनि सेयर बजारले सकारात्मक लय देखाउन सकिरहेको छैन । यसको पछाडिको कारणलाई खोतल्ने हो भने लगानीकर्तामा देखिएको मनोवैज्ञानिक त्रास हो । जसका कारण बजार सम्हालिन खोज्छ तर सकिरहेको छैन । यस्तो डरको मूल जड राजनीतिक अस्थिरता हो ।

केही समय अगाडि बजारले सही गति लिन थालेको थियो । मनोवैज्ञानिक विन्दु २९०० सयलाई पार गरेर अहिले सम्म कै सबैभन्दा उच्च विन्दु ३१९८ लाई अब नाघेर अगाडि बढ्छ भनेर बजारमा जुन माहोल बन्दै थियो त्यसै समयमा नेपालमा गणतन्त्र स्थापना भएपछि राजसंस्था पुनस्थापनाको माग खुलेआम सडकबाट उठ्न थाल्यो । एकथरि व्यवस्था नबदली नबस्ने र अर्काथरी भूत भइसकेको राजसंस्था फेरि फर्कन असम्भव भनेर आ-आफ्नो शक्ति प्रर्दशन गर्न लागि परे । दुवै शक्तिले आफ्नो तागत देखाउन सडकलाई रोजे । राजावादी भन्नेहरु तिनकुनेमा र गणतन्त्रवादी भन्नेहरु भृकुटीमण्डपमा आफ्ना समर्थक सहित चर्का नाराबाजी र भाषण लिएर आ-आफ्नो विचारलाई पहरेदारी दिनको लागि सडकमा निष्किए । जसको परिणाम तिनकुने घटना घट्न गयो । राज्य राजावादीको आन्दोलन दबाउन चाहन्थ्यो भने राजावादीहरु देशमा भाँडभैलो मच्चाउने र राजनीतिक अस्थिरता सिर्जना गरेर त्यसैको आडमा राजसंस्था पुनस्थापित गर्न सकिन्छ कि भनेर लागि परे । यसैको दुर्भाग्य तिनकुनेमा लुटपाट, हत्या र निजी सम्पत्ति माथि आगोलागी र तोडफोड भयो । यो आन्दोलनको तयारी पूर्व अभियन्ताहरुले दिएको वक्तव्य र विचारहरुलाई मिडियाले जसरी आम मानिस र लगानीकर्ताको बीचमा लगियो यसले थप बजारलाई भयभीत बनायो । जसकाकारण आन्दोलनको प्रारम्भ हुनु पूर्व नै बजारले प्रतिक्रिया देखाउन थाल्यो । नेपालको सेयर इतिहासमा नै बजारका पण्डितहरुले बजार बुलमा छ भन्दा भन्दै पनि पहिलो पटक निरन्तर १४ दिन १६० अङ्क भन्दा धेरैले बजार घट्न पुग्यो, अर्बौ मुल्यको सम्पत्ति गुमाउन बाध्य हुनुपर्यो । लगानीकर्ताले बजारमा नेप्सेले नयाँ उचाइ बनाउने जुन अपेक्षा राखेका थिए त्यसमाथि राजनीतिक बज्रपात हुन पुग्यो । अहिले सम्मकै उच्च विन्दुलाई ब्रेकअप गर्ने सपना माथि चिसोपानी खनाउने काम भयो । यस्तो अवस्थामा राज्य कता जान्छ भनेर नागरिक त्राहीमाम भइरहेका छन् ।

यसैको प्रभाव लगानीकर्ताको मनोदशामा देखिएको छ । लगानीकर्ता डराएर आफुसँग भएको सेयर सस्तोमा छोडेर निस्कन थालेको हो कि भन्ने तथ्याङ्कमा घट्दो बजारले देखाउँछ । बजार केही दिन देखि २८०० माथिको विन्दुबाट घटेर २५०० को लाइनमा आएर पूर्ण ९५ अङ्क भन्दा बढी सुधार भएको देखिन्छ । कारोबार रकम १४ अर्बबाट खुम्चिएर ४ अर्बमा आइपुगेको छ । बजार पुँजीकरण ४४ खर्ब ८९ अर्बबाट ४४ खर्ब २७ अर्बमा सीमित हुन आइपुगेको छ । यी सबै विवरणहरुले लगानीकर्तामा राजनीतिक अस्थिरता आउने र यसले बजार अझै तल लैजाने हो कि भन्ने डर सिर्जना भएको देखिन्छ ।

 

तिनकुनेमा नेतृत्व गर्ने राजावादी नाइकेहरु उपर्दाे मच्चाएर बेपता भएपछि राजनीतिक अस्थिरतामा केही सुधार हुन्छ कि भनेर अपेक्षा र अनुमान गर्दै घटेको बजारमा सेयर उठाउन थालेका लगानीकर्तालाई पूर्ण राजावादी पार्टी राप्रपाको मंगलबारको बल्खु आन्दोलन घोषणाले फेरि हल्लाउन थालेको छ । जसको प्रतिक्रिया साेमबार र मेगलवार गरी ३५ अङ्कबढीको गिरावट मार्फत देखाइसकेको छ । 

उक्त पार्टीले नयाँ वर्ष २०८२ लगतै राजसंस्था र हिन्दूराज्य स्थापना नभएसम्म नियमित आन्दोलन गर्ने औपचारिक घोषणा गरिसकेको छ । यस्तो अवस्थामा देशको परिस्थिति कता जाने हो अन्यौल देखिन्छ भने आर्थिक स्थिति मजबुत हुन सक्ने आधार भेटिदैन । समग्र वित्तीय अवस्था खलबलिन सक्ने वातावरण विकास हुँदै गयो भने यसबाट सेयर बजार अछुतो रहन सक्दैन । किनकी सेयर बजार देशको अर्थतन्त्रको ऐना हो । देशकै अर्थतन्त्र बिग्रदा सेयर बजारको ऐनामा देखिने दृश्य सफा हुन सक्दैन । यसैले बिग्रदो राजनीतिक वातावरणमा रुमलिदै गरेको सेयर बजार भित्र चाँदीको घेरा बन्छ बन्दैन थाहा छैन तर यस्तो बजारमा लगानीकर्ता भागाभाग गर्दा जङ्गलमा जसरी हजारौको अर्नाका बथानलाई एउटै सिंहले सक्काइदिन्छ ठीक त्यसरी नै यस्तो बजारमा पनि औसत क्षमताका लगानीकर्ताहरुमाथि जबरजस्त अब्वल लगानीकर्ताहरुले सिंह प्रवृत्ति देखाउन सक्ने भएकोले हुलमा दौडने अर्ना भन्दा विवेक प्रयोग गर्ने बन्न आवश्यक छ । अन्यथा बजारबाट पलायन हुनुको विकल्प छैन ।

नेपालमा सधै राजनीतिक व्यवस्था बदलिने तर नागरिकको अवस्था जिँउकातिँउ रहने परिस्थितिबाट सर्वसाधरण हैरान भइरहनु परेको छ । यसबाट जनता मुक्ति चाहन्छन् । यसैलाई भजाएर हरेक राजनीतिक दल नागरिकको भावनामा खेल्दै सत्तामा पुग्न चाहन्छन् तर सत्तामा पुगेसँगै मतदातालाई भुल्छन् । अहिले सडकमा देखिन थालेको भिड पनि त्यही असन्तुष्टिको संकेत हो । राज्यसत्तामा रहेकाहरु भ्रष्टचार र निजी लाभमा लीन हुँदा देशको ढुकुटी समाल्न पर्ने राष्ट्र बैंकले एकथान योग्य गर्भनर पाउन सकेको छैन निमित्तको भरमा चल्नु परेको छ । देशको अर्थतन्त्र शिथिल छ तर पनि सत्ता साझेदारहरुमा कुनै चिन्तन देखिदैन । यस्ता निरासाजनक व्यवहारका कारण नेताप्रति नागरिक उदासिन छन् । नेतासँग आशा कम र आक्रोश बढ्ता हुन थालेको देखिन्छ । जसलाई सत्तामा रहनेले सम्बोधन गर्न सक्नु पर्छ । सत्ता र नागरिक असन्तोषको चेपुवामा परेको हाम्रो बजारमा इमान्दार लगानीकर्ताहरु एकपछि अर्को शिकार हुने अवस्था बनेको छ । देशको राजनीतिलाई सही मार्गमा हिडाउन नसक्ने हो भने बजारको दलदलमा घाँटीसम्म फसेका लगानीकर्ताहरुले यसै निकास पाउने स्थिति छैन । सत्ता, प्रतिपक्ष, राजावादी वा गणतन्त्रवादी हरेक वादीलाई एउटा लगानीकर्ताले भन्न सक्ने यति हो तिमी कसकाे लागि काम गर्छौ ? हामी राजनीतिक तावामा कहिलेसम्म सेकिरहने ? नागरिकले खोजेको राजनीतिक स्थिरता हो, विकास हो, रोजगारी हो, उद्योग कलकारखाना हो, आर्थिक र वित्तीय उन्नति हो, सुख र समृद्धि हो केवल सडक आन्दोलन र अन्यौलता होइन, विनाश र सत्ता लोलुप्ता नभई खोजेको राजनीतिक निकास हो सबै नेता, कार्यकर्ता र दलले बुझ्न जरुरी छ ।

अन्त्यमा देशको जनसंङ्ख्या मध्ये २५ प्रतिशत अर्थात ६५ लाख भन्दा बढी मानिस जोडिएको सेयर बजारको घाँटी निमोठने गरि भइरहेको राजनीतिक गतिविधीको हरेक पक्षबाट खबरदारी गर्न आवश्यक छ । यस्तो अवस्थामा डराएर लगानीकर्ताले देखाउने जथाभावी ब्यवहारलाई अनुशासित र व्यवस्थित गर्न खाँचो छ । भोलिको बिहानीसँगै देशको राजनीतिक अन्यौलता कस्तो हुने हो भनेर अतालिएर बसेका, कमजोर आत्मबल बोकेर लागानी गरिरहेका लगनीकर्तालाई कुनै स्पेकुलेटरले अब बजार सकिने भयो भनेर कुनै मिडिया मार्फत नकारात्मक सन्देश प्रवाह गर्दिने हो भने भोलिको दिनमा आउने वास्तविक समस्या भन्दा कयौँ गुणा ठुलो समस्या आउने भयो भन्ठानेर लगानीकर्तामा अत्यास आउने निश्चित छ । फलानोले यसो भनिसक्यो अहिले ननिस्कने हो भनेत धेरै सम्पत्ति हराउने छ भन्दै जब बजारबाट लगानीकर्ता दौडन थाल्ने छन् ती स्पेकुलेटरले तपाई हाम्रो सम्पत्ति सस्तोमा संकलन गरेर लैजाने पक्का छ । यसैले त वारेन्ट बफेट जस्ता लगानीकर्ताले भनेका छन् “जब बजार रगताम्य हुन्छ तब तिमी बजार प्रवेश गर यो लगानी गर्ने राम्रो मौका हो । उनैले थपेका छन् जब बजारमा सबै लोभी हुन्छन् तिमी डराउ र जब सबै डराउछन् तिमी लोभी बन ।” अर्थात अहिले राजनीतिक अस्थिरताको कारण सबै डराइरहेको अवस्थामा तिमी बजारमा जाने आँट गर । बजारबाट भाग्ने दुसाहस नगर यो राम्रो धन कमाउने अवसर हुन सक्छ ? अवसरले सधै तिम्रो ढोका ढकढकाउने छैन अहिले ढकढकाउदै गरेको आवजलाई सुन्ने र चिन्ने प्रयास गर ।

राजनीतिक चेपुवाका कारण सेयर बजारमा गुमाउनेको सूचीमा थपिने संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यस्तो समयमा लगानीकर्ताले थोरै धैर्यता र आफुलाई अनुशासनमा राखेर बजार रणनीति बनाउन सक्ने हो भने “फोहरमा मोहर” भने जस्तै बिग्रिएको वातावरणले निर्माण गरेको राजनीतिक दलदले हिलोमा समेत कमल बनेर फुल्न सक्ने प्रशस्त ठाउँहरु हुन्छन् जुन पहिचान गर्न सक्नु पर्छ । जसरी मरुभूमीको यात्राको सारथी हात्ती नभएर ऊँट हुन्छ त्यसरी नै राजनीतिक चेपुवाले सेयर बजारमा निर्माण भएको मरुभूमीको सही सारथी पहिचान गर्न सक्यौ भने मरुभूमी पार गरेपछिको दिन धेरै सुखद हुनेवाला छ । आजको धर्यताले त्यो अवसर प्राप्त हुने निश्चित छ । यसैले गिजलिएको राजनीति र खलबलिएको सेयर बजारमा लगानीकर्ताले ध्यान दिनुपर्ने मुख्य कुरा के हो भने भगवान बुद्धले भन्नु भए जस्तै “यो समय सधै यस्तो रहने छैन ।”  छिटै राजनीति सङ्लो हुने छ र सेयर बजारमा देखिएको अन्यौलता हट्ने छ । सधै बजार राजनीतिक चेपुवामा हुने छैन । 

 

(लेखक सेयर बजारका अध्येता हुन)