'ब्रोकरको लिमिटको व्यवस्था बजार अस्थीर बनाउने अस्त्र त बनेको छैन ?'

Apr 10, 2025 03:05 PM Merolagani



शेयर बजारले ढुक्कसँग गति निर्धारण गर्न सकिरहेको छैन । केही अंकको वृद्धिमा नै लगानीकर्ताहरुले शेयर बिक्री गर्न हतार गरेको देखिन्छ ।

बजारले सकारात्मक गति लिनको लागि अवसरको पर्खेकाे हुन्छ । तर बजार अनुकुल परिस्थितिहरु निमार्ण हुन नसक्दा लगानीकर्ताले अपेक्षा र आशा गरे अनुसारको गति लिन नसकेको हो । नियामक निकायमा हुँदै गरेको राजनीतिक भागवण्डा र राम्रो भन्दा हाम्रो नियुक्त गर्ने परिपाटीले आम लगानीकर्ता आजित छन् ।

सँगसगै मुलुकमा अनेकन असन्तुष्ट समूह मार्फत हुँदै आएको आन्दोलनले लगानीकर्ताको मनोवल गिराएको छ । अर्कोतर्फ सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा विलम्ब गरेको छ । केन्द्रीय बैकले लिएका नीतिले समग्र आर्थिक गतिविधि ठप्प भएको छ । त्यस्ता अप्ठ्यारा नीतिगत बाधाहरु फुकुवा नभएसम्म लगानीकर्ताको विश्वास नबढ्ने चार्टर्ड एकाउन्टेन्ट्स मनिष अर्याल बताउँछन् । अर्यालसँग सुधा देवकोटाले गरेको कुराकानी:

अहिलेको बजार बढ्न सकेको छैन, कमजोर भएको हो वा अहिलेको परिस्थिति नै यस्तै बनेको हो ?

शेयर बजार भनेको विगतमा भएको घटनाहरुलाई हेरेर भविष्यको लागि अध्ययन गर्ने हो । विगतलाई हेर्दा चैत-बैशाखको महिना शेयर बजारका लागि खासै उत्सहाजनक भएको देखिँदैन । यसो भन्दै गर्दा बजार घट्छ नै भन्ने होइन । अहिले धेरै कुराहरु भएका छन् । जसमा राजनीतिक अवस्था त छँदैछ । अर्कोतर्फ विभिन्न समूह सडकमा उत्रेर आन्दोलित भएका छन । यस्तो अवस्थामा सरकार टिक्ला वा नटिक्ला भन्ने चिन्ता लगानीकर्तामा छ । राजनीतिक गतिविधिले गर्दा बजारलाई तरल बनाएकाे छ । लगानीकर्ताले बजार बढ्ने हो वा घट्ने हो भन्न सकिरहेका छैनन ।

बजार बलियो अवस्थामा छ भने लगानीकर्ताले २०० अंक पछि बिक्री गर्छु भनेर पर्खन सक्छन । बजारमा धैर्यताको खाँचो छ । बजार बढ्यो कि बिक्री गर्न हतार गर्ने परिपाटी बनेको छ । बिक्री गर्ने फेरि सस्तोमा पाइन्छ भन्ने सेन्टिमेन्स हावी भएको छ । मनोवल बढाउने गरी माहोल सिजर्ना नहुँदा शेयर बिक्री गर्न लगानीकर्ता हतारिएका छन् । लगानीकर्ताको मनोवल गिराउने काम राजनीतिक बृत्तबाटै भएको छ।

अर्कोतर्फ बजारले व्यग्रताका साथ पर्खेको राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सरकारले विलम्ब गर्दैछ । राष्ट्र बैंक शेयर बजारको नियामक होइन । बजारले गभर्नर नियुक्तिमा धेरै महत्व दिनु पर्ने पनि होइन । तर आम लगानीकर्ताकाे अपेक्षालाई नकार्न सकिदैन । समग्रमा हेर्दा पनि केन्द्रीय बैंकका नीतिहरुले नै शेयर बजार प्रभावित भएका छन । यसले पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । यी कुराहरुले गर्दा बजार बढ्न नसकेको हो ।

सामान्यतया चैत-बैशाखलाई शेयर उठाउने महिनाको रुपमा लगानीकर्ताले लिने गरेको पाइन्छ । यो वर्षपनि त्यसै हुँदै छ वा फरक छ ?

तपाईले भन्नुभएको सही हो । यो समय शेयर उठाउनेहरुको लागि उपयुक्त समय हो । यो समयमा बजार सुस्ताएको हुन्छ । सस्तो मूल्यमा किनेको शेयरले केही महिनाको अन्तरालमा नै लाभ लिन सकिन्छ । अझ एक वर्षको रणनीति राखेर कारोबार गर्दा जहिले किने पनि घाटा हुँदैन । तर हाम्रो नेपालमा ब्रोकर लिमिटमा कारोबार हुने गरेको छ । केही दिनमै ब्रोकरले सेटलमेन्ट गर्ने भन्दा बिक्री गर्न दबाब दिन थाल्छन् । त्यो कुराले गर्दा बजार दीगो रुपमा बढ्न सकेको छैन । यस्तो हुँदा लगानीकर्तामा आत्मविश्वास आएको पनि छैन ।

अहिले लगानीकर्ताहरु आफूसँग पैसा हुँदा हुँदै ब्रोकरको लिमिटमा कारोबार गर्ने गरेका छन् । बजार बढ्ने विश्वास नभएसम्म आफ्नो पूँजी लगानी गर्न चाहेका छैनन् । लगानीकर्ताहरुमा यसरी डर भएपछि बजारमा बुल कसरी आउँछ ? लगानीकर्ताको आत्मविश्वासले नै बजारमा बुल आउने हो । लगानीकर्तामा आत्मविश्वास आउन सकेको छैन । यस्तो बेला सरकारले लगानी मैत्री नीतिहरु निर्माण गरेर विश्वास जगाउनु पर्छ । बजारमा पैसा भित्रिनु पर्यो । त्यो पैसा शेयर खरिदको रुपमा बजारमा आउन सक्यो भने अरु लगानीकर्ताको आत्मविश्वास त्यसै बढ्नेछ ।

ब्रोकरको लिमिटको व्यवस्था लगानीकर्तालाई सुविधा भन्दा पनि बजार अस्थीर बनाउने अस्त्र त बनेको छैन ? यहा सुक्ष्म रुपमा हेर्दा के भएको छ भने एउटा ब्रोकरको लिमिटले शेयर खरिद भइरहेको छ । अर्को ब्रोकरको लिमिटले सेल भइरहेको छ । अहिले ४-५ अर्बको कारोबार ब्रोकरको लिमिटबाट नै भएको छ । यो किन्ने र बिक्री गर्नेले आफ्नो पूँजी कम लगानी गरेका छन् । ब्रोकरको लिमिटबाट नै कारोबार भइरहेको छ ।

लगानीकर्ताकाे आफ्नै पूँजीबाट लगानी भएको भए नेप्से सामान्य घट्दा बजारमा शेयर बिक्री हुदैन थियो । घटेको बजारमा नोक्सानी बुक गर्नु पर्ने दबाब हुँदैन थियो । पैसा ब्रोकरको छ समयमा पूँजी सेटल गर्नै पर्छ । सानो अंकको करेक्सनमा पनि किन शेयर बिक्री गर्न हतारिएका छन् ? कुरा प्रष्ट छ यसले गर्दा बजारलाई अझै तल झार्ने हो की भन्ने डर देखिएको छ ।

बजारमा पूँजी इन्जेक्ट गर्न अझै पुगेको छैन । बैंकको ब्याजदर घट्दा शेयर बजारले गति लिने विश्वास थियो । तर त्यस्तो भएको छैन किन ?

बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर रुपमा घटेको छ । अहिले मुद्दती निक्षेप नवीकरण नभएको सुन्नमा आएको छ । यस्तो अवस्थामा उक्त पैसा बजारमा आउनु पर्ने हो भन्ने लाग्छ । तर अहिले त्यसो हुन सकेको छैन । किन भन्दा अहिलेको बजारमा कोही जोखिम लिन रुचाएको देखिदैन । कुनै संस्थाले मुद्दतीमा किन राखेकाे भन्दा जोखिम लिन चाहेको छैन । भलै ब्याज कम किन नहोस आफ्नो पूँजीकाे जोखिम लिएको छैन । त्यसले गर्दा पनि बजारमा त्यस्तो पैसा आएको छैन ।

बजारमा सूचीकृत भएका कम्पनीहरुको प्रगति हुन सकेको छैन । दोस्रो बजारमा आधारभूत रुपमा बलिया कम्पनीको शेयरको मूल्य बढेकाे छैन । कमजोर वित्तीय अवस्था भएका र कम पूँजी भएका कम्पनीको मात्रै मूल्य वृद्धि भएको छ । त्यस्ता कम्पनीमा संस्थागत लगानीकर्ताले लगानी गर्न सक्दैनन । त्यसले पनि यो बजारमा मुद्दतीमा नविकरण नभएको पैसा आउँछ र बजार सुधार हुन्छ भन्न सकिदैन ।

यदि सरकारले बैंक तथा वित्तीय संस्था लगायत अन्य लगानीकर्तालाई बजारमा लगानी गर्नको लागि नीतिगत सहजिकरण गर्यो भने माहाैल फरक हुन्छ । होइन भने बजारमा भएका सीमित संस्थागत लगानीकर्ताको पैसाले मात्रै बजारले राम्रो गति निर्धारण गर्नेछ भन्नेमा आशावादी हुन सकिदैन । त्यसैले घट्दो ब्याजदरको प्रभाव बजारमा कम परेको हो । अब केन्द्रीय बैंकमा आउँदै गरेका गभर्नरले अहिले भएका केही नीतिलाई परिमाजर्न गर्ने हो भने बजारमा विश्वासको वातावरण बन्ने थियो । होइन बिद्यमान नियमलाई परिपालना गर्ने हो भने बजारले ठूलो फड्को मार्न गाह्रो हुन्छ ।