देशको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्र संगसँगै छः प्रधानमन्त्री ओली

Apr 10, 2025 03:34 PM mero lagani



 प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्र संगसँगै रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ ५९औँ वार्षिक साधारण सभा तथा उद्योग दिवस २०८१ को उद्घाटन गर्दै उनले सो धारणा व्यक्त राखेका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारले निजी क्षेत्रका सुझावहरूलाई गम्भीरतापूर्वक लिएको र तदनुरुप नीतिगत सुधार गर्दै देशमा लगानी मैत्री वातावरण सिर्जना गर्दै गईरहेको धारणा राखे । उनले भने , “सरकारले निजी क्षेत्रसँग साझेदारीमा काम गर्न पूर्ण रूपमा प्रतिबद्ध छ । निजी क्षेत्रकै सुझावका आधारमा पछिल्ला नीतिगत सुधारहरु गरेका छौं । देश विकास सबै मिलेर गर्ने हो । हामी सहकार्यको त्यो नमुनामा काम गरिहेका छौं । ”

प्रधानमन्त्री ओलीले वर्तमान सरकार नीतिगत स्थिरता र स्थायित्वका लागि काम गरेको बताए । उनले लगानीको वातावरण सुधार गर्न विभिन्न कानूनहरूमा महत्वपूर्ण परिवर्तनहरू गरेको र यी कानूनी सुधारहरूको उद्देश्य पारदर्शिता बढाउने, प्रक्रियागत झन्झटहरू कम गर्ने र स्वदेशी तथा विदेशी लगानीकर्ताहरूको विश्वास बढाएको बताए । उनले सरकारलाई सहि सुझाव दिन आन्दोलन गरिरहनु नपर्ने बताउंदै जनतालाई सहज र सरल रुपमा सेवा दिन तीनै तहका सरकार प्रतिबद्ध रहेको बताए । यसैगरी प्रधानन्त्री ओलीले देश विकासको लागि सरकारको एकल प्रयास मात्र पर्याप्त नहुने बताउँदै देशमा पूर्वाधार विकास तथा ठूला परियोजनाहरुका लागी स्रोतको प्रबन्ध गर्न महासंघको पहमा नेपाल डेभलप्मेन्ट पब्लिक लिमिटेड (एनडीपीएल) कम्पनी स्थापना राम्रो सराहनीय कुरा भएको बताए । यस्ता प्रयासले अर्थतन्त्रलाई आत्मनिर्भरता तर्फ, निर्यात प्रर्वद्धन तथा आयात प्रतिस्थापन र राष्टिय स्वाभिमान निमार्ण गर्ने बताए ।

उनले निजी क्षेत्रको छाता संगठनको रूपमा रहेको महासंघले औद्योगिक तथा व्यवसायिक समुदायको व्यवसाय प्रवद्र्धनमा मात्र नभई नेपालको आर्थिक विकास र समृद्धिलाई अघि बढाउन आफ्नो सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले सरकार र निजी क्षेत्र अहिले देशको आर्थिक विकास र समृद्धिका लागि साथसँगै साथ अघि बढेको बताए ।

तुलनात्मक लाभका वस्तु र प्रतिस्पर्धी क्षमता विस्तारमा जोड दिनु पर्ने : परराष्ट्र मन्त्री राणा

सोही अवसरमा बोल्दै परराष्ट्र  मन्त्री आरजु राणा देउवाले सिंगो सरकार नै देशको समग्र आर्थिक विकास र समृद्धिका लागि काम गरिरहेको बताइन । उहाँले मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको उल्लेख गर्दै नेपालको तुलनात्मक लाभ भएका र प्रतिस्पर्धी क्षमता भएका वस्तु तथा सेवाहरूको उत्पादन, उत्पादकत्व तथा निर्यात वृद्धि गर्ने प्रमुख उद्देश्य राखेर काम गर्नु पर्ने बताइन । यसका लागि सरकार र निजी क्षेत्र मिलेर देशभित्र भएका स्रोत साधनको अधिकतम रुपमा प्रयोग गरि विकासको गति तीव्र बनाउनुपर्ने उनको धारणा थियो ।

उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकता : उद्योग मन्त्री

यसैगरी सोही अवसरमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघ सरकारको महत्वपूर्ण साझेदार रहेको उल्ल्ेख गर्दै मन्त्री भण्डारीले विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताए ।