यसकारण अब डिपार्टमेन्ट बढी चल्छन्, सटरहरु चल्दैननःप्रधानमन्त्री ओली

Apr 10, 2025 04:45 PM Merolagani



प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मनिर्भर अर्थतन्त्रदेखि समृद्धिसम्मको चर्चा गरेका छन् ।

बिहीवार नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा उनले मुलुकलाई आत्मनिर्भर बनाउँदै समृद्धिको ढोकासम्म पुर्याउन जरुरी रहेको बताएका हुन।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रको लगानीलाई सरकारले सुरक्षण गर्ने बताए । उद्योग, व्यवसायमा निजी क्षेत्रले गरेको लगानी राष्ट्रको सम्पतीमा गणना हुने भएकाले सरकारले निजी क्षेत्रको लगानीलाई सुरक्षण गर्ने बताए । कृषि जीविकामुखी भनिएपनि अहिले अहिलेको कृषि प्रणालीबाट जिविका पनि नचलेको चर्चा गर्दै परम्परागत शैलीहरुमा फेरबदल आउनुपर्ने ओलीले बताए ।

कानूनहरु मन्त्री र सचिवहरुलाई नभइ किसानलाई चाहिएको प्रधानमन्त्रीले बताए । उनकाअनुसार उत्पादन बढाउने कानून आवश्यक छ । कृषि जीविकामुखी भनिएपनि अहिले अहिलेको कृषि प्रणालीबाट जीविका पनि नचलेको बताए । पहिले एउटा परिवार उत्पादनको युनिट हुने गरेको बताउँदै ओलीले त्यो परिस्थीति नै समाप्त भएको बताए ।

प्रधानमन्त्री ओलीले भने– ‘निजी क्षेत्रले सिर्जना गरेका रोजगारीहरु राष्ट्रका रोजगारीमा गणना गरिन्छन् । निजी क्षेत्रले जुन उत्पादन गर्छ, त्यो राष्ट्रको उत्पादनमा गणना हुन्छ । त्यसकारण हाम्रा प्रयासहरु राष्ट्रिय हुनुपर्छ । उपलव्धि पनि राष्ट्रिय हुनेछन् । त्यसका लागि संयोजन, प्रोटेक्सन सरकारले गर्ने हो । यसबारे सरकार सुदृढ प्रतिवद्धता जनाउछ । कानून मन्त्री, सचिवहरुलाई चाहिएको नभएर किसानलाई चाहिएको होइन, कृषकलाई हो । उत्पादन बढाउने कानून आवश्यक छ । कृषि जीविकामुखी भनिएपनि अहिलेको कृषि प्रणालीबाट जिविका पनि चलेको छैन । पहिले एउटा परिवार उत्पादनको युनिट हुने गरेको थियो । अहिले त्यो परिस्थीति नै समाप्त भएको छ ।’

प्रधानमन्त्री ओलीकाअनुसार अब डिपार्टमेन्ट बढी चल्न थालेका छन् । सटरहरु चल्न छाडेका छन् ।

उनले भने– ‘अब डिपार्टमेन्ट बढी चल्छ, सटरहरु चल्दैनन् । मान्छेहरु सटरमा गयो भने कति ओटा सटरहरु घुम्ने एउटा चिज लिनका लागि । फेरि भनेजस्तो छानीछानी लिन पनि नपाइने । त्यहाँ जस्तो छ, त्यस्तै मात्र लिनुपर्ने । डिपार्टमेण्ट स्टोरहरुमा गयो भने त्यहाँ छानीछानी भनेजस्तो अनेक प्रकारका चिजहरु लिन पाइने । एक ठाउँमा गएपछि सबै कुरा पाइने । सबैकुरा सिस्टमेटिक हुने भएकाले मान्छे त्यता लाग्छन् ।’

अब समूह र ठूला प्रयासहरुबाट मात्रै कृषिमा अघि बढ्न सकिने अवस्था आएको उनको भनाइ छ । सहकारीमा जोडिएर ठूलो खेती, ठूलो उत्पादनमा जानैपर्ने र त्यसरी उत्पादन बढाएर मुलुकको परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भरतर्फ लैजान सकिने उनले बताए ।

अहिलेका ढाँचा, शैलीहरु फेरिन जरुरी रहेको प्रधानमन्त्री ओलीले बताए। उनकाअनुसार कानूनका ढाँचादेखि व्यवहारसम्मै परिवर्तन गर्न जरुरी छ । सरकारी प्रयासहरु समेत परिवर्तन गरेर जानुपर्छ ।

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल विकास कम्पनी लिमिटेड शुरुआत गरेकोमा प्रधानमन्त्रीले प्रशंसा समेत गरे । प्रधानमन्त्री ओलीकाअनुसार नयाँ—नयाँ उद्योगहरु स्थापना गरेर आयातलाई घटाउन र अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ लैजानुपर्छ । स्वभाविक रुपमा ठूलो मात्रमा उत्पादन हुनसक्यो भने निर्यात वृद्धि हुने, निर्यात बढ्न थालेपछि प्रतिष्पर्धी क्षमता बढ्न थाल्ने नेपालीले राष्ट्रिय गौरव, स्वाभिमान गर्न पाउने अवस्था बन्ने प्रधानमन्त्री ओलीको बुझाइ रहेको छ ।

प्रधानमन्त्री ओलीकाअनुसार बिहान उठ्ने बित्तिकै नेपालमै बनेको दन्तमञ्जन लगाउने, नेपाली साबुनले हात धुने, नेपाली साबुन, स्याम्फुले नुहाएर सफा बन्ने वातावरण बन्नुपर्छ ।

उनले भने– ‘घन पिटिपिट फालि पनि बनाउन सक्ने, करुवा, भाँडाकुडा अरु केके बनाउन हामीले जान्यौं, तर सजिला सजिला कुरा बनाउन सकेनौं । प्रविधितिर ध्यान नदिने, प्रविधिको विकास नगर्ने प्रवृत्ति देखियो । अब आफैँले प्रविधि विकास गर्नुपर्छ । अब हामी प्रविधि हस्तान्तरणको कुरा गर्दैछौं । अब आफैँले प्रविधिको विकास गर्दै जाऔं । आफैँले विकास गर्छु भनेर मात्रै नरोकियौं । हामीले प्रविधि आयात पनि गर्नपर्ने हुनसक्छ । किनभने आज ग्लोबलराइज जमना हो । जतिबेला आफैँ प्रविधिको विकास गनुपथ्र्यो । त्यतिबेला हामी गर्न चुक्यौं । अब गर्दै पनि जानुपर्छ तर मुख्यरुपमा ट्रान्सफरको जमानामा छौं भन्ने बुझ्नुपर्छ । हरेक उत्पादन, सेवा सुविधामा प्रविधिको प्रयोग गर्नुपर्छ । आज प्रविधिको जमाना हो । आज सूचना प्रविधिमा हामी निकै ध्यान दिन खोजिरहेका छौं । तर उत्पादन प्रविधिमा त्यति ध्यान दिन सकेका छैनौं । अरु ट्रेक्नोलोजिको उत्तिकै महत्व छ ।’

उनले कृषि प्रविधिमा सबैभन्दा धेरै ध्यान दिन जरुरी रहेको बताए । कृषिमा आत्मनिर्भर हुन नसक्ने देशलाई गन्तव्य मुलुकमा कुनै असहज स्थिति पैदा भए कुनैपनि बेला भोकै मर्नुपर्ने अवस्था आउने प्रधानमन्त्री ओलीले बताए । उनकाअनुसार नेपालजस्तो सबै सम्भावना भएको देशमा त्यस्तो स्थिति निम्ताउन हुँदैन । शुद्ध, अर्गानिक, पौष्टिक, सन्तुलित आहार हरेकले पाउने ग्यारेन्टी भए पहिलो समृद्धी त्यही रहने बताए । त्यसपछि आधारभुत आवश्यकताको परिपूर्ति गर्न गाह्रो नहुने र त्यसबाट बचत हुने स्थितिमा मुलुकलाई पुर्याउन जरुरी रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीकाअनुसार समाजको सानो हिस्सा मात्रै वचतको स्थीतिमा छ । बाँकी ऋणात्मक स्थितिमा, आफ्नो वचतले घर नचल्ने स्थीतिमा रहेकाले देश समृद्धि कसरी हुन्छ भन्दै उनले प्रश्न गरे । हरेक नागरिकलाई वचतको स्थितिमा पुर्यायो भने मात्रै देश स्वतः समृद्ध हुने उनको भनाई छ । उनकाअनुसार खेतीमा पनि बढि आम्दानी दिनेतर्फ सिफ्ट हुन जरुरी छ ।

प्रधनमन्त्री ओलीले एकद्वार प्रणालीलाई कडाइकासाथ पालना गर्न र गराउन सरकार प्रतिवद्ध रहेको बताए । अघिल्लो पटक प्रधानमन्त्री हुँदा डिजिटल नेपालको अवधारणा आफूले ल्याएको बताउँदै ओलीले अहिले सरकारले त्यसलाई कार्यान्वयनमा लगेको बताए। उनकाअनुसार नागरिक एपहरुलाई सरकारले प्रभावकारी रुपमा कार्यान्वयन गर्नेछ ।