नियामकमा राजनीतिक हस्तक्षेप, बजार स्वायत्त नहुँदा सूचक दबाबमा

Apr 10, 2025 06:23 PM Merolagani



पछिल्लो समय शेयर बजार सुस्ताएको छ । बजार बढ्न सकेको छैन । बजार ५.५७ अंकले घटेर २६७०.७० विन्दुमा झरेको छ भने ५ अर्ब ६३ करोड रुपैयाँ बढीको शेयर खरिदबिक्री भएको छ ।

बजारमा चैत मसान्तको चाप परेको छ । बैंकको साँवा–ब्याजको व्यवस्था गर्नुपर्ने भएका कारण बजार दबाबमा परेको लगानीकर्ताको बुझाई छ । साथै निरन्तर रुपमा राजनीतिक देखि आन्दोलनको प्रभाव पनि बजारमा छ । अर्कोतर्फ लगानीकर्ताले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीलाई अझै सुक्ष्म रुपमा हेरेका छन । सोही अनुसार लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् ।

बजारमा देखिएको अस्थिरता सरकारले नै गर्दा भएको हो । सरकारले नियामक निकायको नियुक्ती प्रकृयामा गरेको हस्तक्षेप र राजनीतिकरणले गर्दा शेयर बजारसँगै समग्र आर्थिक गतिविधि नै सुस्ताएको अर्थ विज्ञ विन्दुराज खनालले बताए । आर्थिक गतिविधि गर्ने निकाय स्वायत्त हुनुपर्छ । तर पछिल्लो समय हरेक क्षेत्रमा राजनीतिकरण हुँदा आन्तरिक अर्थतन्त्र गतिशिल नभएको हो । त्यसको प्रभाव सिधै शेयर बजारमा परेको खनालको भनाइ छ ।