अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमाथि एक पछि अर्काे गर्दै कर लगाइरहेपछि जवाफमा चीनले ‘रेअर अर्थ’ निकासीमा प्रतिवन्ध लगाएको छ । योसंगै अमेरिकाको डटपेनदेखि आइफोन र कम्प्युटर उत्पादनसम्म ठप्प हुने अवस्था पुगेको छ । ती उत्पादनसंग सम्वन्धि उद्योगहरुले आफूसंग स्टक सकिन लागेकोले थप समान उत्पादन गर्न कठिन हुँदै गएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले आफ्नो वाणिज्य मन्त्रालयलाई त्यस्ता खनिज पदार्थको उत्पादन बढाउन र आयातमा भर पर्ने अवस्था हटाउन निर्देशन दिएका थिए । तर, वाणिज्य मन्त्रालयका अधिकारीहरु र उद्योगीहरुले उत्पादन बढाउनको लागि आवश्यक पर्ने खानी अमेरिकामा निकै कम रहेको र त्यो खानीको उत्खनन गर्न पनि प्रायः असम्भव रहेको बताएपछि चीनलाई झुकाउने ट्रम्पको महत्वाकाक्षाँमा लगभग विश्राम लागेको छ ।
स्मरणीय के छ भने अमेरिकामा रेअर अर्थ पदार्थको एउटा खानी सञ्चालनमा छ । तर अमेरिकासँग उत्खनन गरेका पदार्थहरू छुट्ट्याउने र प्रशोधन गर्ने क्षमता छैन । त्यसको लागि अमेरिकाले चीन नै पठाउनुपर्र्छ ।
चीनले ‘रेअर अर्थ’ निकासीमा लगाएको प्रतिवन्धको एक साता नहुंदै हाहाकार मच्चिनुले अमेरिकी अर्थतन्त्रमाथि चीन कति हावी हुंदै गएको छ भन्ने प्रमाणित भएको विश्लेषकहरुले दावी गरेका छन् । उनीहरुका अनुसार अहिलेको व्यापार युद्धमा चीनको अगाडि अमेरिका झुक्नुको विकल्प नै छैन् भन्नेकुरा ‘रेअर अर्थ’माथि चीनले लगाएको प्रतिवन्धपछिको अवस्थाले देखाएको छ ।
‘रेअर अर्थ’ के हो, केमा प्रयोग हुन्छ ?

विविसीका अनुसार रासायनिक समानता भएका नीओडिमिअम, यिट्रिअम र युरोपिअम आदी १७ वटा तत्वहरू ‘रेअर अर्थ’ वर्गमा पर्छन् । प्रकृतिमा यी तत्वहरू पर्याप्त मात्रामा भएपनि गुणस्तरिय तत्व दुर्लभप्रायः मानिन्छ । तिनलाई निकाल्ने प्रक्रिया त निकै चुनौतीपूर्ण हुने गरेको छ । त्यहीकारण ती तत्वहरुलाई निकै दुर्लभ अर्थात् ‘रेअर’ भनिएको हो ।
विभिन्न हाइ–टेक अर्थात् उन्नत प्रविधिका सामग्री उत्पादन गर्न यी तत्वहरू अत्यावश्यक हुन्छन् । ‘तपाईँले स्विच थिचेर खोल्न र बन्द गर्न मिल्ने सबै साधनहरू रेअर अर्थ तत्वबाट चलेका हुन सक्छन्’ जिन्जर इन्टरन्याश्नल ट्रेड एन्ड इन्भेस्ट्मेन्टका निर्देशक टामस क्रूमर भन्छन् । सोझो अर्थमा ‘रेअर अर्थ’को प्रयोग विना कुनै पनि ‘रिमोर्ट’ उत्पादन हुनै सक्दैन । यसरी हेर्दा ‘रेअर अर्थ’कै कारण अमेरिकाको ‘रिमोर्ट कन्ट्रोल सिस्टम’ नै चीनको कब्जामा छ भन्दा फरक पर्दैन ।
लेजर शल्यक्रिया र एमआरआई स्क्यानजस्ता चिकित्सकीय महत्त्वका प्रविधिको उत्पादनमा पनि रेअर अर्थ पदार्थहरू अत्यावश्यक हुन्छन् ।
ती तत्वहरुको प्रयोग विना डटपेनदेखि लाउड स्पीकर, कम्प्युटरका हार्ड ड्राइभ, विद्युतीय सवारीसाधन र जेट विमानका इन्जिनमा नीओडिमिअम प्रयोग गरिएको हुन्छ ।
त्यस्तै यिट्रिअम र युरोपिअम टेलिभिजन र कम्प्युटरका स्क्रीन बनाउन प्रयोग गरिन्छ ।
चीनको वर्चस्व
अन्तर्राष्ट्रिय ऊर्जा निकाय ‘आईईए’का अनुसार रेअर अर्थ पदार्थहरूको उत्खनन र अरू खनिज पदार्थबाट छुट्ट्याएर गरिने प्रशोधनमा चीनको एकाधिकार छ ।
विश्वभरि उत्पादन हुने ‘रेअर अर्थ’ पदार्थमध्ये चीनले ६१ प्रतिशत गर्ने र त्यसमध्ये उसले ९२ प्रतिशत पदार्थ प्रशोधन गरेर निर्यात गर्छ । यी पदार्थको उत्खनन र प्रशोधन गर्ने दुवै प्रक्रिया निकै महँगा छन् । चीन वाहेक भियतनाम, मलेसिया लगायतका केही देशमा पनि ‘रेअर अर्थ’ को खानी छ र प्रशोधन पनि गरिन्छ । तर, त्यो नगण्य मात्रामा भएकोले त्यसले विश्वबजारमा खासै ठूलो प्रभाव पार्न सक्दैन् ।
अमेरिकाको सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरन्याश्नल स्टडीज (सीएसआईएस)का अनुसार चीनबाहेक अरूसँग ’हेभी रेअर अर्थ’ पदार्थ प्रशोधन क्षमता नभएकाले यसबाट अमेरिका अप्ठ्यारोमा परेको छ ।