हमालले बनाए 'टास्क फोर्स, चापागाईँ समन्वयात्मक बैठक गर्दै, यसले बोर्ड र नेप्से बिचको तिक्तता घटाउला ?

Apr 18, 2025 06:15 PM merolagani



सुवास निरौला

पूँजी बजारका दुई निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) र नेपाल स्टक एक्सचेन्ज(नेप्से)को सम्बन्ध कहिले राम्रो भएन। हरेक पटक बन्ने नेप्से प्रमुख र धितोपत्र बोर्ड प्रमुख बिचको सुरुवाती दिनमा सुमधुर हुने तर केही समय पछि नै दुई प्रमुख बिच तिक्तता बढ्ने क्रम स्थापनाकाल देखि नै दोहोरिँदै आएको छ।

नेपाल धितोपत्र बोर्डको स्थापना भन्दा पहिलेदेखि नै नेपाल स्टक एक्सचेन्जको स्थापना भएका कारण सुरुवाती दिनमा नेप्सेले धितोपत्र बोर्डलाई नगन्ने गरेको थियो। अझै त्यस माथि नेप्सेमा धेरै जसो लगानी नेपाल सरकारको रहेको अनि नेप्से प्रमुख र धितोपत्र बोर्ड अध्यक्ष दुबैलाई नेपाल सरकाले नै नियुक्त गर्ने भएकोले पनि उनीहरूले एकले अर्कालाई भाउ नदिँदै आएका हुन्। रेबतबहादुर कार्की बोर्ड अध्यक्ष हुँदा नेप्सेमा सिताराम थपलिया प्रमुख थिए। उनीहरू बिचको तिक्तता त्यस बेला सतहमा नै आएको थियो। खासगरि अनलाइन प्रणाली ल्याउने विषयमा दुई प्रमुखको कुरा मिलेको थिएन। नेप्सेले स्वदेशी कम्पनीले नै विकास गरेको प्रणाली ल्याउनु पर्ने अडान राख्दै गर्दा बोर्डले भने विदेशी हुनु पर्ने तर्क राखेको थियो। सोहीकारण दुई प्रमुखबीच शीत युद्ध (कोल्ड वार) नै लामो समय चल्यो। उनीहरू दुई प्रमुख रहुन्जेल कहिले सम्बन्ध सुधारिएन।  जसले गर्दा नेप्से र बोर्डबीच सम्बन्ध नराम्रो हुने गरेको आम सर्वसाधारणमा गहिरो छाप नै बस्यो। जसले गर्दा त्यसपछि आउने प्रमुखहरूले सम्बन्ध सुधार्ने प्रयास गर्न थाले।

यस अघिका बोर्ड अध्यक्ष नियुक्त भएका रमेश हमालले नियुक्ति लिएकै दिन नेप्से कार्यालय पुगेर चिसिएको सम्बन्ध सुधार्न खोजेका थिए। उनले नेप्से गएर यस अघि बोर्ड र नेप्सेबीच जे जस्ता कुरामा मतभेद थिए त्यसलाई समाप्त गर्न आफू नियुक्त पाएकै दिन नेप्से आएको भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए। त्यसपछि हमालले फास्ट ट्र्याकमा काम गर्ने भन्दै नेप्से, बोर्ड र सिडिएससिका अधिकारीहरुलाई राखेर'टास्क फोर्स समेत बनाए।

नियुक्ति पाएकै दिन सम्बन्ध सुधार्न भन्दै नेप्से गएका हमाल करिब अढाई वर्ष बोर्ड अध्यक्ष भए। तर नियुक्त भएको केही समयसम्म नरम देखिएका हमाल त्यसपछि भने नेप्से प्रति कहिल्यै नरम भएनन्। उनले बनाएको टास्क फोर्सले पनि केही काम गर्न सकेन। समयसँगै टास्क फोर्सको गति पनि सुस्तायो। 'टास्क फोर्सको गति मात्रै सुस्ताएन, नेप्सेले गरेका कतिपय प्रस्ताव हरूलाई समेत अड्काइ दिन थाले। उनले चाहे अनुसारको काम गर्ने तर नेप्सेलाई भने गन्दै नगर्ने रवैया हमालमा विकास भयो। उनको कार्यकालमा पनि नेप्से र बोर्डको सम्बन्ध सुधारिएन।

अहिले भर्खरै नेप्से प्रमुखमा चूडामणि चापागाईँ आएका छन्। उनले पनि नेप्से र बोर्डबीच रहेको तिक्तता मेटाउने कोशिस गरेका छन्। चापागाईँले गत बुधवार बोर्ड गएर समन्वयात्मक बैठक गरे। जुन बैठकमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ, नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईँ तथा सिडिएससिकि प्रबन्ध सञ्चालक प्रवीण पान्दाक, बोर्डका नियमन विभाग प्रमुख मुक्तिनाथ श्रेष्ठ तथा बोर्डकै सुपरिवेक्षण विभाग प्रमुख रूपेश केसी उपस्थित थिए। उक्त बैठकमा नेपालको पुँजी बजार र यससँग जोडिएका प्रणालीहरूलाई थप परिष्कृत बनाउँदै लैजाने कुरा भएको बोर्डले जारी गरेको सूचनामा छ। यसैगरी भविष्यमा समेत यस्ता विषयमा नियमित रूपमा समन्वयात्मक बैठक जारी राख्ने बोर्डले जनाएको थियो।

यसले अहिलेलाई भने चापागाईँले तिक्तता मेटाउने पहल गरेका छन्। तर त्यसले कहिलेसम्म निरन्तरता पाउँछ भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण हो। यस अघि कै जस्तो गरी केही समय पछि सेलाउने हो भने यसको कुनै अर्थ हुने छैन। तर वास्तविक रूपमा तीनै निकायले मिलेर पूँजी बजारका समस्या माथि छलफल गरेर समाधान दिने हो भने यो भेटले निक्कै ठुलो अर्थ राख्ने छ।