उच्च उधारो कारोबारले भुक्तानीमा ढिलाइ भएको हो : नरेन्द्र सिजापति

Apr 19, 2025 11:32 AM MeroLagani



पछिल्लाे समय लगानीकर्ताले समयमा शेयर बेचेकाे रकम भुक्तानी नपाएकाे गुनासाे गर्ने गरेका छन् । ब्राेकरले चाहिने भन्दा बढी लिमिट दिँदा बजारमा अनावश्यक चलखेल हुने गरेकाे लगायतका विषयमा कालिका सेक्युरिटिजका अध्यक्ष तथा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष नरेन्द्र सिजापतीसँग मेराे लगानीका बाबुकृष्ण महर्जनले गरेको कुराकानी :

नेप्सेको टीएमएस र ब्रोकरले ल्याएको टीएमएसमा के भिन्नता छ ?

अहिले उपलब्ध भएको सेवा सुविधा भन्दा थप सेवा सुविधा दिएर छिटो, छरितो अनि सुरक्षित तरिकाले शेयरको कारोबार गराउने उद्देश्यका साथ ब्रोकरहरु मिलेर नयाँ टीएमएस शुरु गरेका छौं। अहिले १० वटा ब्रोकरले आन्तरिक रुपमा शुरु गरिसकेका छौं भने एउटा ब्रोकरले पूर्ण रुपमा लागू भइसकेको छ। बाँकीले एक हप्ताभित्रै पूर्ण रुपमा यो सेवा उपलब्ध गराउँछौं। यसको मुख्य उद्देश्य भनेको प्रयोगकर्ता मैत्री, सुरक्षित, छिटो कारोबार गराउनु हो।

नेप्सेको टीएमएसमा जस्तो समस्याहरु आउँदैन भनेर कसरी आश्वस्त पार्नुहुन्छ ?

नेप्सेको टीएमएसमा को जवाफदेही हुने भन्ने पाटो जटिल थियो। नेप्सेले सधैं ब्रोकरले टीएमएस बिगार्यो भन्ने आरोप लगाउँथ्यो। नेप्सेले दिएको टिएमएस अहिले पनि हाम्रो हातमा छैन। बाहिरबाट हेर्दा ब्रोकरको जस्तो देखिए पनि सम्पूर्ण नियन्त्रण अरु कसैको हातमा छ। बिगार्छ अरु कसैले तर दोष जति ब्रोकरले पाउँछ र वास्तवमा बिग्रेको हुन्छ अन्तै। त्यतिखेर यो कहाँ समस्या भन्ने प्रश्नको जवाफ पाइँदैन थियो। अब हामीले प्रयोग गरेको टिएमएस बिग्रियो भने त्यो कहाँ कसले कसरी बिग्रियो भन्ने जवाफ पाइन्छ र समस्याको समाधान गर्ने अवसर पनि ब्रोकरलाई छ। अब चाँहि पारदर्शी तरीकाले भन्न सकिन्छ यो कारणले समस्या आयो भनेर भन्न सक्छौं। यो भन्दा अगाडि समस्या आउँदा नेप्सेले ब्रोकरको जिम्मा लगाइदिन्थ्यो र ब्रोकर चाँहि हाँसेर बस्ने बाहेक अर्को उपाय थिएन। अब त्यस्तो हुँदैन।

उधारो कारोबारले बजारमा ठूलो उतारचढाव आउने गरेको भनिन्छ नि ?

नेपालको शेयर बजार उधारो शेयर बजार हो। वास्तविक नाफा नोक्सान भएको हुँदा यसलाई फेक भन्न मिल्दैन। साँच्चै कारोबारको राफसाफ भएको छ। पैसा आउने र जाने भएको छ। शेयर किन्नेले शेयर पाएको छ र बेच्नेले पैसा पाएको छ। कारोबार ‘रियल’ छ तर उधारो कारोबार छ। उधारो कारोबार शेयर बजारमा अन्यत्र कहिं पनि हुँदैन तर हामी कहाँ छ। यही हो नेपालको शेयर बजारको विडम्बना। उधारो कतिसम्म दिन सकिन्छ, कतिसम्म सहन सकिन्छ, कतिसम्म भारी बोक्न सकिन्छ भन्ने ब्रोकरमाथि नै निर्भर पर्ने हुनाले तपाईले लगाएको आरोप ठिक हो। उधारो धेरै भयो भने बन्द गरिन्छ। अनि डुब्ने भनेकै गहिरोमा हो। बजार झर्दा आफ्नो उधारो फस्छ कि भनेर झन उधारो दिनु भएन नि। यो स्वभाविक र प्राकृतिक कुरा हो। बजार घट्दै गएपछि थप उधारो दिनु भएन कि दिएको उधारो उठाउन तिर लाग्दा ‘कोल्याटरल’ बन्द गरिन्छ।

बजार बढेको बेला भने ब्राेकरले पनि दुइ चार रुपैयाँ कमाउने आशामा कोल्याटरल लोड गरिदिने गरिन्छ। यसलाई सामान्य रुपमा लिनुपर्छ। मेरो क्षमताले भ्याउँछ भने त्यो दिनु स्वभाविकै हो। लगानीकर्ताले बजार घटेको बेला ‘कोल्याटरल’ हटाइदियो भन्छ। त्यस्तो बेला आफ्नै नगद लोड गरेर किन्ने सुविधा त ब्रोकरले दिएकै छ त।

लगानीकर्ताको क्षमता भन्दा बढी कोल्याटरल लोड गरेर बजारमा कृत्रिम माग सिर्जना गरेको भनिन्छ नि ?

नेपालमा अनलाइन प्रणाली शुरु गर्ने चरणमा म ब्रोकर एसोसिएसनको अध्यक्ष थिए र निकै मिहिनेत गर्नु परेको थियो। नेपालको पहिलो अनलाइन कारोबार पनि मेरै कालिका सेक्युरिटिजबाट भएको हो। त्यति बेला देखिएका समस्याहरु दोहोरिनु हुँदैन भन्दा भन्दै पनि लागू गर्न धेरै हतारो गरेर विभिन्न कुराहरुलाई छोड्दै अगाडि बढ्यौ। जे जे समस्या आउँछ, समाधान गर्दै जाने तर यसलाई जसरी भए पनि अगाडि बढाउने भन्ने हिसाबले काम गर्दै गर्दै अगाडि आयौं। अहिले के समस्या देखिन्छ भने सुचीकृत कित्ता भन्दा बढी शेयरको डिमान्ड देखिन्छ। तर शेयरको डिमान्ड नै गर्न नपाइने त होइन। डिमान्ड धेरै भएपछि मूल्य बढ्छ। तर यस्तो कृत्रिम डिमान्ड कस्तो लगानीकर्ताले गरेको छ, प्रायोजित रुपमा गरेको छ कि छैन भनेर हेर्ने निकाय भनेको ब्रोकर होइन। यो समस्या बजार सञ्चालक र नियामकले हेर्नुपर्छ। फ्रन्ट लाइन रेगुलेटरको रुपमा बजार सञ्चालकले हेरेर किन सुचीकृत कित्ता भन्दा पनि बढी डिमान्ड आयो भनेर लगानीकर्तालाई विश्वस्त बनाउनुपर्नेमा ऊ आफै रमिते बनेर बसेको हुन्छ, यही हो विडम्बना भनेको। वास्तवमा फ्रन्टलाइन रेगुलेटरले वास्तविकता के हो भनेर आम लगानीकर्तालाई सुसूचित गर्नुपर्छ।

हामी कहाँ अर्डर हाल्दा खेरि कम्तिमा २५ प्रतिशत एडभान्स नगद हुनुपर्ने व्यवस्था छ। लगानीकर्ताको २५ प्रतिशत एडभान्स नगद आएको छ कि हेर्नुपर्ने निकायले हेर्दैन र टीएमएसमा आएको डिमान्डलाई फेक हो भन्ने आरोप लगाउने वातावरणले बजारप्रति लगानीकर्ताको विश्वासमा आँच आउँछ। त्यही विश्वसनीयतामा आँच आएको कारणले सोझा साधारण लगानीकर्ताको लगानी डुब्ने गरेको छ।

मार्जिन लेन्डिङ ब्रोकरमार्फत आउनुपर्छ भन्ने विषय धेरै पहिलेदेखि उठिरहेको छ। अहिले कहाँ निर आएर अड्किएकाे छ ?

सैद्धान्तिक रुपमा ब्रोकरमार्फत मात्रै मार्जिन लेन्डिङ हुने हो। अन्तर्राष्ट्रिय अभ्यास पनि त्यही हो। स्टक एक्सचेञ्जले गर्ने बेस्ट प्राक्टिस पनि त्यही हो। हामी कहाँ गरि खान नदिने समस्या छ। गरिखान नदिने भने पत्रकारलाई रिपोर्टिङ गर्न नदिए जस्तै ब्रोकरलाई मार्जिन लेन्डिङ गर्न नदिने हो। सजिलो नबनाई के गर्दा खेरि अप्ठ्यारो पर्छ त्यही गर्ने परिपाटी अझ भनौ गरि खान नदिने प्रवृत्ति जबसम्म कायम रहन्छ, तबसम्म मार्जिन लेन्डिङले काम गर्दैन।
मार्जिन लेन्डिङको लागि अलि अलि नियम कानुन बनेका छन्, सञ्चालन नै हुन नसकिने गरी बनेका छन्। नियम कानुन बनाउने निकायले पटक्कै नबनाइदिने गर्दा नै यो समस्या आएको हो।

सेबोनको नेतृत्वले साँच्चै चाहने हो भने ८–१० दिनमा मार्जिन लेन्डिङसम्बन्धी समस्याको समाधान हुन्छ तर समस्याको समाधान गरिदैन किनभने नगरेर मज्जा लिने नेतृत्व छ। अहिले भर्खरै सेबोनमा नयाँ नेतृत्वमा पाएका छौं। नयाँ नेतृत्वले समाधान गर्न पहल गर्छ भन्ने अपेक्षा राखेका छौं।

मार्जिन दिनको लागि जुन रकम ल्याउँछौं, कर्जाको रुपमा दिन सक्छौं, पुँजीबाट मात्रै कति जान्छ। सेबोनले पुँजी ल्याउन सक्ने स्रोत नबनाइदिएका कारण यो समस्या भएको हो। मार्जिन लिन बैंकसम्म पुग्नुपर्छ, बैंकमा कर्जाको लागि केही धितो राख्नुपर्छ। त्यही धितो राख्ने चिजमा चाँही कसरी व्यवस्थापन गर्ने विषयमा टुंगो लागिसकेको छैन। मैले मेरो पुँजीले मात्रै मार्जिन कर्जा दिन सक्दिन। मैले मात्रै कर्जा लिएर त्यो मार्जिनमा दिन सकिंदैन। मार्जिन लिने लगानीकर्ताको शेयर सुरक्षित तरिकाले ब्रोकरकै मातहतमा धितोमा राख्न सकिन्छ भन्ने व्यवस्था नभएको हुनाले यो अन्यौलमा परेको हो। अबको समाधान भनेको अन्तर्राष्ट्रिय अभ्यासमा जे जे भइरहेको छ त्यही गर्ने नै उत्तम समाधान हो।

शेयर बेचेपछि भुक्तानी तुरुन्त पाइँदैन भन्ने गुनासो व्यापक सुनिन्छ नि ?

उधारो कारोबार हुने बजारमा यो समस्यालाई सामान्य रुपमा लिनुपर्छ। शेयर बेचेपछि लगानीकर्ताले तत्काल पैसा पाएन भनेर धेरै गुनासो आएको छ। कुनै लगानीकर्ताले १ लाखको शेयर किन्यो र त्यसको मूल्य घट्यो भने दुई महिनासम्म उधारो कारोबार गर्ने लगानीकर्ताले पैसा तिर्दैन। दुई महिनापछि शेयर बढेर १० हजार नाफा गर्नुभयो भने बेच्ना साथ पैसा माग्न आउँछन्। ब्रोकरले पनि समयमा पैसा नतिर्ने लगानीकर्तालाई दुई महिनासम्म पैसा दिँदैन, दिनु पनि भएन। मैले व्याज तिरेर ल्याएको पैसा लगानीकर्तालाई दुई महिनासम्म दिएको छु, उधारोमा कारोबार गराएको छु भने लगानीकर्तालाई चाँहि बेचेकै भोलिपल्ट भुक्तानी दिनुपर्छ र। अधिकांश समस्या यस्तै छन्। यति गर्दा गर्दै पनि साँच्चै आफ्नै नगद तिरेर शेयर कारोबार गर्ने लगानीकर्ता पनि मर्कामा परेका छन्। यो भने दुःखद पक्ष हो। पाउँदै नपाएको होइन, पाउनुपर्ने समयमा नपाएको समस्या अहिले पनि छ। यस्तो हुने कारण भनेको ब्रोकरको तर्फबाट धेरैले उधारो कारोबार गरिदिएर ब्रोकरको पैसा फसेकोले हो।

सेबोनले हालै ब्रोकर मर्जर निर्देशिका जारी गरेको छ ? अब पुराना २० करोड पुँजी नपुगेका ब्रोकर मर्जरमा वा पुँजी वृद्धि गर्ने विकल्प मध्ये कुनमा बढी सम्भाव्यता देख्नुभएको छ ?

नियामकले बजारको अवस्था नहेरी किन धेरै ब्रोकरको लाइसेन्स बाँडिन्छ, फेरि किन मर्जर गर्न लगाइन्छ ? यो ब्रोकरलाई मात्रै होइन, बैंक, बीमा सबै क्षेत्रमा यही अवस्था छ।

नियामकले पुँजी बढाउ भने पछि पुँजी बढाउनु हाम्रो बाध्यता हो। नियामकको नियम अक्षरशः पालना गर्नुपर्छ नत्र भने बन्द गरेर हिंड्नुपर्छ। हामी पुँजी बढाउने योजनामै छौं। पुँजी बढाउन सकिएन भने अन्तिम विकल्प भनेको चाँहि मर्जर हो।