वित्तीय अवस्था जस्तोसुकै भए पनि १ अर्ब रुपैयाँ भन्दा कम चुक्ता पुँजी भएका विकास बैंकहरुको शेयर मूल्य अपरेटरहरुले १ हजार रुपैयाँ भन्दा माथि नै कायम राखेका छन् । कर्पोरेट, नारायणी, ग्रिन, सप्तकोशी र सिन्धु ५ वटै विकास बैंकको चुक्ता पुँजी १ अर्ब रुपैयाँ भन्दा कम छ र नेप्सेमा यी पाँचै वटा विकास बैंकको शेयर मूल्य १ हजार रुपैयाँ माथि छ । ५ मध्ये ३ वटा विकास बैंकको नेटवर्थ १ सय रुपैयाँ भन्दा पनि तल छ । यसको अर्थ कथकदाचित बैंक खारेजीमा गएमा लगानीकर्ताले अंकित मूल्य भन्दा पनि कम मात्रै पैसा पाउने अवस्था छ ।
नेप्सेमा सूचीकृत विकास बैकहरुको शेयर मूल्य तुलना गर्दा अहिले सबैभन्दा महंगो मूल्यमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर कारोबार भएको छ । मंगलबारको अन्तिम मूल्य सूची अनुसार कर्पोरेटको शेयर मूय २७ सय ४६ रुपैयाँ ५० पैसा छ । ५२ करोड ५० लाख रुपैयाँ मात्रै चुक्ता पुँजी रहेको कर्पोरेटको रिजर्भमा २५ करोड ५६ लाख रुपैयाँ छ भने नेटवर्थ १ सय ४८ रुपैयाँ ६९ पैसा छ । दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको वार्षिकीकृत प्रति शेयर आम्दानी ४.०८ रुपैयाँ मात्रै रहेको छ भने बैंकको खराब कर्जा ७.५३ प्रतिशत रहेको छ । पछिल्लो समय बैंकको वित्तीय अवस्था सुधारोन्मुख देखिए पनि ‘लो सप्लाई’ पक्षलाई ध्यानमा राखेर अपरेरटरहरुले शेयर मूल्यलाई माथिल्लो मूल्यमै कायम राख्न सफल भएको देखिन्छ ।
विकास बैकमध्ये दोस्रो धेरै मूल्यमा कारोबार भइरहेको नारायणी डेभलपमेन्ट बैंकको अवस्था भने एकदमै भयावह छ । बैंकको २६ करोड २५ लाख रुपैयाँ मात्रै चुक्ता पुँजी छ भने २० करोड ७५ लाख रुपैयाँ रिजर्भ ऋणात्मक छ । दोस्रो त्रैमाससम्म ५२ लाख रुपैयाँले नोक्सानीमा रहेको कम्पनीको नेटवर्थ जम्मा २० रुपैयाँ ९४ पैसा मात्रै छ । यस्तो भयावह अवस्था भएको कम्पनी अहिले नेप्सेमा भने १७ सय ७६ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ । नेप्सेमा सूचीकृत विकास बैंकहरुमध्ये सबैभन्दा न्यून चुक्ता पुँजी भएको फाइदा नारायणी विकास बैंकका अपरेटरहरुले उठाइरहेका छन् ।
त्यसैगरी १३ सय ९२ रुपैयाँ ३३ पैसामा कारोबार भइरहेको ग्रिन डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ५६ करोड ९७ लाख रुपैयाँ छ । कम्पनीको रिजर्भमा ९ करोड ८३ लाख रुपैयाँ छ भने कम्पनीको नेटवर्थ १ सय १७ रुपैयाँ २५ पैसा रहेको छ । कम्पनीको इपीएस भने ३ रुपैयाँ ६ पैसा छ ।
११ सय ५३ रुपैयाँ ६९ पैसामा कारोबार भइरहेको सप्तकोशी डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ८३ करोड ४३ लाख रुपैयाँ छ भने १९ करोड २५ लाख रुपैयाँ रिजर्भ ऋणात्मक छ । कम्पनीको नेटवर्थ ७६ रुपैयाँ ९३ रुपैयाँ छ भने प्रति शेयर आम्दानी ७ रुपैयाँ १६ पैसाले ऋणात्मक छ ।
सिन्धु विकास बैंक १ हजार ७५ रुपैयाँ २४ पैसामा कारोबार भइरहेको छ । बैंकको चुक्ता पुँजी ५५ करोड ७५ लाख रुपैयाँ छ भने १४ करोड ७१ लाख रुपैयाँले रिजर्भ ऋणात्मक छ । कम्पनीको पनि नेटवर्थ ७३ रुपैयाँ ६१ पैसा छ तर चालु आवको तेस्रो त्रैमासमा कम्पनीको प्रति शेयर आम्दानी भने १७ रुपैयाँ ४६ पैसा कायम भएको छ ।
नेटवर्थको हिसाबले सबैभन्दा बलियो लुम्बिनी विकास बैंकको शेयर भने ४ सय ९ रुपैयाँ ८७ पैसामा कारोबार भइरहेको छ । बैंकको प्रति शेयर आम्दानी, रिजर्भ सबै राम्रो भए पनि चुक्ता पुँजी ३ अर्ब ६२ करोड रहेको हुँदा विकास बैकहरुमध्ये न्यून मूल्यमा कारोबार भइरहेको हो । विकास बैंकमा सबैभन्दा धेरै चुक्ता पुँजी र सबैभन्दा धेरै रिजर्भ भएको मुक्तिनाथ विकास बैंक हो । कम्पनीको चुक्ता पुँजी ७ अर्ब रुपैयाँ छ भने रिजर्भमा ३ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ छ । कम्पनीको नेटवर्थ १ सय ५५ रुपैयाँ २८ पैसा रहँदा पनि शेयर मूल्य भने ३ सय ६२ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रति शेयर आम्दानीको हिसाबले सबैभन्दा धेरै १९ दशमलब ३२ रुपैयाँ प्रति शेयर आम्दानी रहेको गरिमा विकास बैंकको शेयर मूल्य ४ सय ८ रुपैयाँ १३ पैसामा कारोबार भइरहेको छ ।
यता विकास बैंकमध्ये सबैभन्दा न्यून शेयर मूल्य रहेको ज्योति विकास बैंकको चुक्ता पुँजी भने ४ अर्ब ३९ करोड ५८ लाख रुपैयाँ रहेको छ ।