नेप्सेमा सूचीकृत कम्पनी मध्ये करिब १६ प्रतिशत कम्पनीको नेटवर्थ ९० भन्दा मुनि, सबैभन्दा कम ४ सम्म (सूचीसहित)

Jun 06, 2025 06:12 AM merolagani



सुवास निरौला

नेपाल धितोपत्र बोर्डले ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई प्राथमिक निष्कासन अनुमति दिन बन्द गरेको छ। बोर्डले अनुमति मात्रै दिन बन्द गरेको छैन, उसले ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई प्राथमिक निष्कासनको पाइपलाईन बाटै १४ कम्पनीलाई 'आउट' नै गरिसकेको छ।

अहिले जति पनि कम्पनीले निष्कासन अनुमति पाउदै आएका छन्। ति सबैको नेटवर्थ ९० भन्दा माथि छ। सार्वजनिक लेखा समितिले ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई निष्कासन अनुमति नदिनु भन्ने निर्देशन धितोपत्र बोर्डलाई दिएको छ। जबकि कानुनी रुपमा भने ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई निष्कासन अनुमति नदिनु भन्ने कहि कतै लेखिएकाे छैन। कानुन नै नभएको बिषयमा सार्वजनिक लेखा समितिले एक कदम अघि बढेर निर्देशन दियो।  सोहि निर्देशनलाई देखाएर बोर्डले अनुमति दिन मानिरहेको छैन। जसले गर्दा धेरै कम्पनीले निष्कासन अनुमति पाउन सकेका छैनन्।

तर दोस्रो बजारमा भने अहिले पनि करिब १६ प्रतिशत कम्पनीको नेटवर्थ ९० भन्दा मुनि छ। नेपाल स्टक एक्सचेन्जको कारोबार कक्षमा २७१ कम्पनी सूचीकृत छन्। जसमा ४३ कम्पनीको नेटवर्थ ९० भन्दा मुनि छ। जुन सूचीकृत कम्पनीको तुलनामा १५.८६ प्रतिशत हो। ४३ कम्पनीमा सबैभन्दा बढी पनि जलबिद्युत कम्पनी नै परेका छन्। ९० भन्दा कम नेटवर्थ भएका  जलबिद्युत कम्पनी मात्रै ३१ वटा छन्। विकास बैंक समूहका तीन कम्पनीको नेटवर्थ ९० भन्दा मुनि छ भने वित्त कम्पनी तर्फ ४ कम्पनीको नेटवर्थ ९० भन्दा मुनि छ। होटल समूह तर्फ २, लगानी समूह भित्र १ र अन्य समूहमा २ कम्पनी छन्। जसको नेटवर्थ ९० भन्दा मुनि छ।

नोट- माथि होटेल समूहमा रहेको सोल्टी होटेलको फेस भ्यालु १० रुपैयाँ हो भने लगानी समूहमा रहेको हथवेको फेस भ्यालु ५० रुपैयाँ हो। जस कारणले पनि उनीहरुको नेटवर्थ ९० भन्दा कम भएको हो। तर फेस भ्यालुको आधारमा हेर्ने हो भने दुबै कम्पनीको नेटवर्थलाई खराब भन्न मिल्दैन।

दोस्रो बजारमा सूचीकृत दिव्येश्वरि हाइड्रो पावरको प्रति शेयर नेटवर्थ जम्मा ४ रुपैयाँ मात्रै छ। अझ हामीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा आएको नेटवर्थ राखेका छौ। त्यस भन्दा अघि कम्पनीको नेटवर्थ नै माइनसमा रहेको थियो। यस्तो अवस्थाका कम्पनी समेत दोस्रो बजारमा निर्बाध कारोबार भइरहेका छन्। तर लगानीकर्ताले त्यस्ता कम्पनीमा समेत भविश्य देखेर हरेक दिन कारोबार गरिरहेका छन्। तर यता प्राथमिक निष्कासन तर्फ भने बोर्डले त्यस्ता कम्पनीको निष्कासन मै प्रतिबन्ध लगाउदै आएको छ।

९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई प्राथमिक निष्कासनमा रोक लगाउदै गर्दा दोस्रो बजारमा कारोबार भइरहेका कम्पनीको हकमा के हुन्छ भन्ने मेरो लगानीको प्रश्नमा भने धितोपत्र बोर्डले केहि पनि नहुने प्रतिक्रिया दिएको छ। “९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई निष्कासन अनुमति दिन नमिल्ने भन्ने कानुन कतै पनि छैन। तर लेखा समितिले त्यस्ता कम्पनीलाई निष्कासन अनुमति नदिनु भन्ने निर्देशन दिएका कारण मात्रै अनुमति नदिइएको हो। यदि समितिले खुला गरिदियो भने कानुनि रुपमा नै निष्कासन अनुमति दिनु पर्ने हुन्छ। त्यसकारण अहिले कमजोर कम्पनीलाई निष्कासन अनुमति रोक्नुको कारण भनेको आम सर्वसाधारण लगानीकर्तालाई सुरक्षित गर्न मात्रै खोजिएको हो। दोस्रो बजारमा कारोबार भइरहेका कम्पनीलाई बोर्डले केहि गर्ने अवस्था छैन। अहिलेसम्म जे जे भयो त्यसलाई बोर्डले हेरेको छैन। अब आउने दिनमा आउने कम्पनीलाई मात्रै बोर्डले हेरिरहेको हो” बोर्डका एक उच्च अधिकारिले मेरो लगानीसँग भने।