होटल तथा पर्यटन उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

Jun 16, 2025 03:21 PM Merolagani



साताको दोस्रो कारोबार दिन दोस्रो बजारका लगानीकर्ताहरुको आकर्षत होटल तथा पर्यटन उपसमूहका कम्पनीहरुमा देखिएको छ। यस दिन अरू उपसमूहहरुको परिसूचक सामान्य बढ्दा यस उपसमूहको परिसूचक भने साढे ४ प्रतिशतभन्दा बढी बढेको छ।

यस उपसमूहमा सूचीकृत ६ वटै कम्पनीहरुको शेयरमूल्य बढेसँगै परिसूचक पनि उच्च दरमा बढ्न पुगेको हो। यस दिन १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.२२ प्रतिशत घटेको छ।

सोमबार पनि नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ०.४७ अंक बढेर बन्द भएको नेप्से, यस दिन २.८० अंक बढेर २६५८.६६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन फ्लोट इण्डेक्स ०.१५ अंक बढेकाे छ भने सेन्सेटिभ इण्डेक्स ०.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०६ अंक घटेको छ।

नेप्से सामान्य बढेपनि कारोबार रकम भने यस दिन उल्लेख्य बढेको छ। आइतबार करिब साढे ११ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१८ स्टकको १ लाख ५ हजार ६३५ पटकको कारोबारमा १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार रुपैयाँबराबरको ३ करोड ३६ लाख ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पियोर इनर्जी र पिपुल्स पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। पियोर इनर्जी दोस्रो बजारमा सूचीकृत भएदेखि निरन्तर बढीरहेको कम्पनीको हो भने पिपुल्स पावर ५० प्रतिशत हकप्रद शेयर समायोजन भएर कारोबारमा आएको कम्पनी हो। त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक साढे ७ प्रतिशत घटेको छ।

करोबार रकमका आधारमा यस दिन सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९५ करोड १६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको करिब साढे ९० करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ भने बुटवल पावर कम्पनीको साढे ५८ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।