यस दिन नेप्से परिसूचक ४५.१२ अंक बढेर २८०२.५२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.७५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१० अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। मंगलबार ६ अर्ब ७३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४६ स्टकको ९८ हजार १६२ पटकको कारोबारमा ८ अर्ब ३१ करोड ८९ लाख ८ हजार रुपैयाँबराबरको १ करोड ८८ लाख १६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ७ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, श्रीनगर एग्रीटेक इण्डष्ट्रीज, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सान्भि इनर्जीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य यस दिन सर्वाधिक ४.३५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४६ करोड ८१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको ४२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम ३७ करोड रुपैयाँ नाघेको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.८७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।