लघुवित्त कम्पनीहरुमा सिफ्ट हुँदै लगानीकर्ता

Jun 17, 2025 03:21 PM Merolagani



मंगलबार नेपाली धितोपत्र बजारका लगानीकर्ताहरुको आकर्षण लघुवित्त कम्पनीहरुमा देखिएको छ। पछिल्ला दिनहरुमा हाइड्रोपावर र होटल तथा पर्यटन कम्पनीहरुमा आकर्षित भएका लगानीकर्ताहरु, यस दिन भने लघुवित्त कम्पनीहरुमा सिफ्ट भएका हुन्।

यस दिन १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेका छन्। यस दिन लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनीहरुमध्ये ४५ कम्पनीहरुको शेयरमूल्य बढेसँगै यस उपसमूहको परिसूचक पनि बढ्न पुगेको हो। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.५८ प्रतिशत घटेको छ।

यस दिन नेप्से परिसूचक भने सामान्य अंक घटेर बन्द भएको छ। अघिल्ला दुई दिनमा सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन ३.९० अंक घटेर २६५४.७५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.६७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार १३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०६ स्टकको ७० हजार ७७ पटकको कारोबारमा ७ अर्ब ६५ करोड ३२ लाख ४९ हजार रुपैयाँबराबरको १ करोड ६४ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

पियोर इनर्जीको शेयरमूल्य यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ९९ रुपैयाँ ७० पैसा बढेर १ हजार ९७ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। यस कम्पनीको शेयरमूल्य निरन्तर ११ औँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ४.६२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७४ करोड ९६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको करिब साढे ६० करोड रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको ४६ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।