नेप्से बढ्यो, कारोबार रकम भने घट्यो

Feb 26, 2026 03:09 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला ३ कारोबार दिनदेखि बढिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बिहीबार नेप्से परिसूचक ६.०३ अंक बढेर २६५४.९३ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.९३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ४ अर्ब ४५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३५ स्टकको ४४ हजार २०४ पटकको कारोबारमा ४ अर्ब १७ करोड ४६ लाख ३० हजार रुपैयाँबराबरको १ करोड ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो बैंकको शेयरमूल्य यस दिन ५३ रुपैयाँ १० पैसा बढेर ५८४ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य ६ प्रतिशत बढेको छ। यस दिन घटेका स्टकहरुको मूल्य गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ६८ लाख ३२ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको २१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे १५ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशत बढेको छ। यस होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।