सातामा सामान्य अंक बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Oct 10, 2026 06:36 AM Merolagani



यस साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। गत साता २५८७.२५ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.१८ प्रतिशत अर्थात ४.५५ अंक बढेर २५९१.८० विन्दुमा बन्द भएको छ।

यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये तीन कारोबार दिन नेप्से सकारात्मक रहेको थियो भने दुई कारोबार दिन घटेर बन्द भएको थियो।

यस साता फ्लोट इण्डेक्स २.८३ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२७ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ७९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ३ अर्ब ७८ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २१.०८ प्रतिशत कम हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या १३.९३ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १२.४१ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि सामान्य बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ५० अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता करिब ८ अर्ब रुपैयाँ बढेर ४४ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ। यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५२ प्रतिशत बढेको छ। गत साता १४९४.४७ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता २२.७८ अंक बढेर १५१७.२५ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा बढी ३२.१६ अंक बढेको छ।

कारोबारमा आएको अन्य उपसमूहको परिसूचक सर्वाधिक १.०५ प्रतिशत घटेको छ। गत साता १८०९.४९ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १८.९५ अंक घटेर १७९०.५४ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ७६.९९ अंक घटेको छ।

यस साता कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक २०.३५ प्रतिशत बढेको छ। गत साता ८०६ रुपैयाँमा कारोबार भएको सो कम्पनीको शेयर, यस साता ९७० रुपैयाँ पुगेको छ। कम्पनीले १८ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु आकर्षित भएका हुन्। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने साढे ६ प्रतिशतभन्दा कम छ।

यस साता रिज लाइन इनर्जीको शेयरमूल्य सर्वाधिक ८.८६ प्रतिशत घटेको छ। त्यस्तै, उन्नती सहकार्य लघुवित्त र माबिलुङ्ग इनर्जीको शेयरमूल्य करिब ८ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता ७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२, ६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने साना किसान विकास लघुवित्त वित्तीय संस्था, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, कालिञ्चोक दर्शन लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।