यस साता चार कारोबार दिनका लागि बजार खुलेको थियो। जसमा तीन कारोबार दिन नेप्से घटेर बन्द भएको थियो भने एक कारोबार दिन सामान्य अंक बढेको थियो।
यस साता फ्लोट इण्डेक्स ०.५३ प्रतिशत घटेको छ भने सेन्सेटिभ इण्डेक्स ०.६७ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३१ प्रतिशत घटेको छ।
नेप्से घटेपनि यस साता कारोबार रकम भने बढेको छ। गत साता दैनिक औषतमा ३ अर्ब ५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब १६ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३६.३० प्रतिशत बढी हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ३२.२५ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ३६.६६ प्रतिशत बढेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि १ प्रतिशत घटेको छ। गत साता ४५ खर्ब ५९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ४७ अर्ब रुपैयाँ घटेर ४५ खर्ब १२ अर्ब रुपैयाँमा सीमित भएको छ।

यस साता १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.७० प्रतिशत बढेको हो भने बैंकिङ्ग उपसमूहको परिसूचक ०.५३ प्रतिशत बढेको हो।
कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस साता सर्वाधिक २.८१ प्रतिशत घटेको छ। गत साता ३२२१.५८ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ९०.५५ अंक घटेर ३१३१.०३ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २८१.९९ अंक घटेको छ। गत साता ११ हजार ८१७.५५ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता २.३९ प्रतिशत घटेर ११ हजार ५३५.५६ विन्दुमा झरेको छ।

यस साता मुक्तिनाथ म्युचुअल फण्ड २ को १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत भएको छ।

बोटलर्स नेपाल (तराई)को शेयरमूल्य यस साता सर्वाधिक ७.८४ प्रतिशत बढेको छ। गत साता ११ हजार ९०० रुपैयाँमा कारोबार भएको सो कम्पनीको शेयर, यस साता १२ हजार ८३३ रुपैयाँ पुगेको छ। त्यस्तै, यस साता अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ भने दोल्ती पावर कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको एभरेष्ट कलरको शेयरमूल्य यस साता सर्वाधिक १५.९३ प्रतिशत घटेको छ। गत साता १ हजार २४९ रुपैयाँमा अन्तिम कारोबार भएको सो कम्पनीको शेयर, यस साता १ हजार ५० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता नेपाल दूरसञ्चार कम्पनी, सिटिजन्स बैंक इन्टरनेश्नल, माथिल्लो मैलुङ्ग खोला जलविद्युत लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, त्रिशुली जलविद्युत कम्पनी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

