सातामा साढे १ प्रतिशतभन्दा बढी घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

Oct 03, 2026 06:10 AM Merolagani



यस साता नेप्से परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेर बन्द भएको छ। गत साता २६२९.८१ विन्दुमा बन्द भएको नेप्से, यस साता १.६२ प्रतिशत अर्थात ४२.५६ अंक घटेर २५८७.२५ विन्दुमा बन्द भएको छ।

यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये एक कारोबार दिन नेप्से सकारात्मक रहेको थियो भने चार कारोबार दिन घटेर बन्द भएको थियो।

यस साता फ्लोट इण्डेक्स १.२८ प्रतिशत घटेको छ भने सेन्सेटिभ इण्डेक्स १.५६ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३७ प्रतिशत घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ६ अर्ब २८ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब ७९ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २३.६५ प्रतिशत कम हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ३९.६१ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १५.८० प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे १ प्रतिशतभन्दा बढी घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब २३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ७३ अर्ब रुपैयाँ घटेर ४४ खर्ब ५० अर्ब रुपैयाँमा सीमित भएको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.७१ प्रतिशत घटेको छ। गत साता ७१७१.१९ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १९४.११ अंक घटेर ६९७७.०८ विन्दुमा झरेको छ। त्यस्तै, अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २३२.७६ अंक घटेको छ। गत साता ११ हजार ८८४.४७ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १.९६ प्रतिशत घटेर ११ हजार ६५१.७१ विन्दुमा झरेको छ।

यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सबैभन्दा कम ०.६८ प्रतिशत घटेको छ। गत सातता १५०४.७७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १०.३० अंक घटेर १४९४.४७ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.२० अंक घटेको छ।

यस साता नेप्सेमा दुई कम्पनीको १६ लाख ४३ हजार ७६४.६५ कित्ता शेयर सूचीकृत भएको छ। यस साता युनाइटेड अजोड इन्स्योरेन्स र कालिका पावरको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता कम्पनीहरुको मूल्य वृद्धिदर र गिरावट सामान्य रहेको छ। यस साता सिन्धु विकास बैंकको शेयरमूल्य ७.२० प्रतिशत बढेको छ। त्यस्तै, यस साता १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ र माण्डू हाइड्रोपावरको मूल्य ७ प्रतिशत बढेको छ भने घलेम्दी हाइड्रोको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। कारोबारमा आएको एपोलो हाइड्रोपावरको शेयरमूल्य यस साता सर्वाधिक ११.८० प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता ७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२, शाइन रेसुङ्गा डिबेञ्चर, एभरेष्ट बैंक लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने इमर्जीङ्ग नेपाल, मन्दाकिनी हाइड्रोपावर, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।