मंगलबार नेप्से परिसूचक ४.१२ अंक बढेर २५९९.९३ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.३५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८४ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ४ अर्ब ४६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५१ स्टकको ४६ हजार ६५९ पटकको कारोबारमा ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार रुपैयाँबराबरको १ करोड ३५ लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सगरमाथा जलविद्युत कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक १२.४४ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। यस दिन स्नो रिभर्सको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १४९ रुपैयाँ ९० पैसा घटेर ८४९ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड ४७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन माउन्टेन इनर्जीको करिब २६ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने कुमारी बैंकको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ। माउन्टेन इनर्जीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।
१३ उपसमूहमध्ये यस दिन पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.७७ प्रतिशत बढेको छ। त्यस्तै, बैंकिङ्ग, विकास बैंक, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सामान्य बढेको छ।