नेप्से घट्ने क्रम जारी, कारोबार रकम पनि घट्यो

Nov 18, 2026 03:08 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बुधबार नेप्से परिसूचक ११.०५ अंक घटेर २६२५.०५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.०६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्ब ७३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४७ स्टकको ४१ हजार ६२७ पटकको कारोबारमा ४ अर्ब १५ करोड ४९ लाख २५ हजार रुपैयाँबराबरको १ करोड १ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन मूल्य बढेका स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको एभरेष्ट कलरको शेयरमूल्य यस दिन सर्वाधिक ८.६३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन सयपत्री हाइड्रोपावरको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी घटेको छ भने भिजन लुम्बिनी उर्जा कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड २४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सेन्ट्रल फाइनान्सको करिब साढे १८ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम १२ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.४९ प्रतिशत घटेको छ।




सुनचाँदीको मूल्यमा भारी गिरावट

Nov 18, 2026 10:46 AM

नेपाली बजारमा मंसिर २ गते, बुधबार पनि सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो।