यस दिन नेप्से परिसूचक १२.९५ अंक घटेर २६५२.५८ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। बुधबार ७ अर्ब ४३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४९ स्टकको ४४ हजार ४१२ पटकको कारोबारमा ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार रुपैयाँबराबरको १ करोड २३ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन मूल्य बढेका स्टकहरुको वृद्धिदर ३ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को मूल्य यस दिन सर्वाधिक ५.०९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन चिरख्वा हाइड्रोपावरको शेयरमूल्य साढे ४ प्रतिशत घटेको छ भने अन्य स्टकहरुको मूल्य गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड १९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको साढे १४ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने घलेम्दी हाइड्रोको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक ६६.१२ अंक घटेको छ।