तिहारको पूर्वसन्ध्यामा नेप्से सकारात्मक

Nov 06, 2026 03:08 PM Merolagani



हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहारको पूर्वसन्ध्यामा नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार घटेर बन्द भएको नेप्से, यस दिन भने सकारात्मक भएर बन्द भएको हो।

शुक्रबार नेप्से परिसूचक २.६४ अंक बढेर २६५५.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.१८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। बिहीबार ४ अर्ब ७२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३६ स्टकको ३३ हजार २१५ पटकको कारोबारमा ३ अर्ब ४६ करोड २० लाख ५९ हजार रुपैयाँबराबरको १ करोड ७ लाख १३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक १४.०८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बेनी हाइड्रोपावर प्रोजेक्टको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ३ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको घोराही सिमेन्ट इण्डष्ट्रीको शेयरमूल्य यस दिन सर्वाधिक ४.४३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन घोराही सिमेन्ट इण्डष्ट्री शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड ६३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको कारोबार रकम साढे १२ करोड रुपैयाँ नाघेको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको करिब १२ करोड रुपैयाँको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहबाहेक सबै उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। अन्य उपसमूहको परिसूचक भने यस दिन ०.८८ प्रतिशत घटेको छ।