नेप्सेमा वृद्धि जारी, कारोबार रकममा भने कमी

Oct 12, 2026 03:12 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक ४.०० अंक बढेर २५९५.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.९६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। गत शुक्रबार ४ अर्ब ८३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५४ स्टकको ४९ हजार ८०९ पटकको कारोबारमा ४ अर्ब ४६ करोड ५२ लाख ४६ हजार रुपैयाँबराबरको १ करोड २७ लाख १९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १६४ रुपैयाँ १० पैसा बढेर १ हजार २५९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन स्नो रिभर्सको शेयरमूल्य करिब १४ प्रतिशत बढेको छ। कारोबारमा आएको रिज लाइन इनर्जीको शेयरमूल्य यस दिन सर्वाधिक ६.२९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २५ करोड १९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन घलेम्दी हाइड्रोको करिब २० करोड रुपैयाँको शेयर कारोबार भएको छ भने साहस उर्जाको कारोबार रकम साढे १९ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन पाँच उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक १.०१ प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।