'बुलको सुरुवात भएको छ,अहिले शेयर किन्न डराउनेले पछि महँगोमा किन्नु पर्ने दिन आउँछ'

Jul 05, 2025 10:39 AM Merolagani



पछिल्लाे समयमा बजार निरन्तर बढेको छ । लगानीकर्ताहरु सेक्टर अनुसार लगानीका रणनीति बनाउन थालेको पाइन्छ । विगतमा सिमित सेक्टरहरु चल्ने गरेका थिए भने पछिल्ला समय बैंक तथा वित्तीय संस्थासँगै बीमा कम्पनीमा पनि चार्म आउन सुरु गरेको छ ।

फाण्डामेन्टल रुपमा बलिया कम्पनीमा लगानी बढेको छ । बुलको सुरुवात हुन लागे जस्ताे देखिन्छ। अब लगानी ढिला गर्न नहुने विश्लेषण गरिन थालिएकाे छ । अहिले शेयर किन्न डराउनेहरुले महँगोमा शेयर किन्नु पर्ने हुन सक्ने नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे बताउँछन् । पाण्डेसँग सुधा देवकोटाले गरेको कुराकानीः

पछिल्ला दिनमा बजार निरन्तर बढेको छ । नेप्सेको यो वृद्धिलाई विश्वास गर्न सकिन्छ वा अझै केही पर्खनु पर्छ ?

गत हप्तादेखि बजारमा रौनकता छाउन सुरु भएको छ । असार मसान्तले सूचक अझै दवावमा पर्छ र घट्छ भन्ने सोचाई थियो । तर बजारले उक्त सोचाई भन्दा विपरित प्रतिकृया दिएको छ । एक दुई दिन हुँदै हप्ताभर बजार सकारात्मक रहेको छ । लगानीकर्ताहरु समूहगत रणनीति अपनाएर कारोबार गर्न सुरु गरेका छन् । वास्तवमा असार मसान्त बजारका लागि सुखद हुने देखिन्छ । मसान्तको दवाव किन पनि कम पर्छ भने बैंक तथा वित्तीय संस्थाको ब्याजदर कम रहेको छ । त्यसको सेटलमेन्टमा पनि खासै समस्या पर्ने छैन । थोरै पैसाको जोहो गर्दा हुने भयो ।

अर्कोतर्फ स्मार्ट लगानीकर्ताहरु पहिले नै व्यवस्थापन गरेका हुन्छन भने ठूला व्यवसायीहरुलाई नेपाल राष्ट्र बैंकले छुट पनि दिएको छ । त्यसैले बजारमा असार मसान्तको प्रभाव पर्ने देखिदैन । अब बजार बढ्ने नै हो । विस्तारै बजारमा सुखद क्षणहरु आउँदैछ । दुई-चार दिन उतार चढाव भएपनि बजार बढ्ने नै हो । वियरिसमा साउन भदौ महिनामा बजार बढ्ने गरेको थियो भने अहिले बुलमा छ । बजार बढ्ने मात्रै होइन रफ्तारमा बढ्ने सम्भावना छ ।

लगानीकर्ताको अपेक्षा राष्ट्र बैंकतिर धेरै भएको देखिन्छ । आउँदै गरेको मौद्रिक नीतिमा लगानीकर्ता धेरै आशावादी हुँदा बजारमा यो चार्म देखिएको छ वा कारण अरु हो ?

अहिलेको माहोल सबै अनुकुल छ । बजारको लागि गर्नु पर्नेहरु धेरै कामहरु भएका छैनन । यद्यपि बजारप्रति सरकार सकारात्मक छ । शेयर बजार बढ्नु पर्छ भन्ने मनसायमा सरकार रहेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर अत्यन्त सकारात्मक भएको पाइन्छ । लगानीको लागि प्रणालीमा तरलता प्रसस्त छ । ब्याजदर घटेको छ । राजनीतिक रुपमा स्थायित्व छ । त्यसैले कुनै पनि कारणले बजार प्रभावित हुनुपर्ने अवस्था छैन । यावत कुराहरु सकारात्मक रहदा रहँदै लगानीकर्ताहरु निरास हुनु पर्ने अवस्था छैन । अझै पनि बजार घटेर तल्लो विन्दुमा झर्ला भनेर पर्खेर बस्नुपर्ने अवस्था छैन । बजार बढ्नेवालामा छ । यो विन्दुमा कुरेर बस्नेहरु अझै मंहगो पर्नेछन । यो अवस्थामा लगानी गर्न डराउनेहरुलाई दोस्रो बजारबाट आम्दानी गर्न मुस्किल पर्छ ।

यो अवस्थामा सिजनल लगानीकर्ताहरु पनि बजार प्रवेश गर्छन् भनिन्छ । सिजनल लगानीकर्ता भनेको कस्तालाई बुझिन्छ ?

अहिले असार मसान्तमा सरकारको भुक्तानी भएको हुन्छ । त्यो तरलता बजारमा आउँछ । चालु आर्थिक वर्ष सुरुभएको तीन महिना ठूलो आर्थिक दवावहरु पर्दैनन् । यो वर्षा याममा अन्य व्यवसायहरु खासै चल्दैन । चाडवार्डको लागि पैसा जोहो गर्न र  पूँजी निमार्णका लागि राम्रो क्षेत्र शेयर बजार नै हो । अन्य क्षेत्रको पैसा पनि बजारमा आउने भएको कारणले यो सिजनमा बजारले राम्रो गति लिने गरेको देखिन्छ ।

दोस्रो बजारमा थोरै समस्या भनेको हाइड्रो क्षेत्रमा गएको पैसा संस्थागत लगानीकर्ताहरु सहजै बजारबाट निस्कन पाउने व्यवस्थाले बजारबाट पूँजी बाहिर जाने हो । हाइड्रोका संस्थागत लगानीकर्ताले दोस्रो बजारबाट निकालेको पैसा बजारमा नभई अन्य आयोजना निमार्णमा खर्चन्छन् । त्यो पैसा बजारमा सर्कुलेट हुन समय लाग्ने भएकाले समस्या हुन सक्छ ।

त्यसैगरी, आर्थिक वर्ष सुरु भएपनि नयाँ नीतिगत व्यवस्थाको कार्यान्वयन, कम्पनीको वार्षिक प्रगति, उक्त प्रगति अनुसारको प्रतिफल वितरण हुन्छ । त्यसैले पनि यो समयलाई लगानी अनुकुल समय भनेर पनि बुझने गरिएको छ ।

केहि दिनमा मौद्रिक नीति आउँदैछ । केहि नीति सुधार भएका छन, अझै के कस्ता नीति सुधार गर्नुपर्ने छ, थप के कस्ता नीतिहरु राष्ट्र बैंकले लिन जरुरी देख्नु हुन्छ ?

नेपाल राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेर केही सीमा लगाएको छ । जस्तो लघुवित्त कम्पनीहरुले १५ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्न नपाउने व्यवस्था छ । ठिक छ । कम्पनीको नाफा भएको छैन भने थोरै वितरण गर्दा पनि भयो वा नदिए पनि भयो । तर नियामकबाट नै नाफा गर्ने संस्थाहरुलाई पनि सीमाको व्यवस्था गरेर प्रतिफल वितरणमा रोक लगाउनु लगानीकर्ताको हक खोसिनु हो । यसले कम्पनी र लगानीकर्तामा उत्प्रेरणा रहँदैन । त्यसैले उक्त व्यवस्था मौद्रिक नीति मार्फत हटाउनु पर्छ ।

व्यक्तिगत तर्फ शेयर धितो कर्जामा १५ करोडको सीमा कायम नै छ । भएको सम्पत्ति धितो राखेर कर्जा लिन पाउने व्यवस्था छ । धितो राखेर कर्जा लिन पाईदैन भन्नु नै गैरकानुनी हो । साथै गैर आवासीयहरुलाई दोस्रो बजारमा कारोबार गर्नको लागि सहजीकरण गर्नु पर्छ । उदाहरणको लागि नै भन्दा भारतमा एउटा रासन कार्डको आधारमा कारोबार गर्न सकिन्छ । तर नेपालमा अनेक अबरोध सिर्जना गरेर आउने लगानीलाई बाधा पुर्याइएको छ । गर्भनर राष्ट्रिय अन्तराष्ट्रिय अर्थतन्त्रलाई बुझेको हुँदा उहाँबाट राम्राे अपेक्षा गर्न सकिन्छ ।

शेयर बजारको नाफा नोक्सानको कुरा गर्दा केहीले वियरिसमा पनि राम्रो कमाएको कुरा सुनिन्छ । कसैले बुलमा पनि नोक्सानमा गएकाे देखिन्छ । के कस्ता कुराले लगानीकर्ताहरु बजारबाट आम्दानी गर्नबाट चुक्छन् ?

हो, धेरै लगानीकर्ताहरुमा लगानी व्यवस्थापन गर्न सक्दैनन । दोस्रो बजारमा लगानी गर्नेले र्धैयता कायम राख्न सक्नु पर्छ । लहैलहैमा लागेर  योजना बनाउनु हुँदैन । धेरैमा र्धैयता गर्ने शक्ति हुँदैन ।

लगानी व्यवस्थापन गर्दा लगानीको केही प्रतिशत हल्लाहरुको आधारमा लगानी गरेता पनि भएको सबै पूँजी एकै किसिमले लगानी गर्न हुदैन । राम्रो कम्पनीको समय ढिलो आउछ । राम्रो कम्पनीमा लगानी गरिएको छ भने केही समय नेप्सेका आएको उतारचढावबाट डराउनु पर्दैन । ढिलो चाँडो राम्रोको पालो आउँछ । मेरो विचारमा बुलको सुरुवात भएको छ । बजारको पूँजीकरण नयाँ कम्पनी सूचीकरण भएकाले नै बढेकाे छ । आधारभुत रुपमा बलिया कम्पनीहरुको छनोट गरी र्धैय राख्ने लगानीकर्ताले शेयर बजारबाट कहिले निरस हुनु परेको छैन ।

लगानी रणनीति बनाउनका लागि कम्पनीको अवस्था, संस्थागत सुशासन, व्यवसाय वृद्धि, प्रतिफल वितरणको अवस्था आधारभुत रुपमा हेर्न सकिन्छ । दोस्रो बजारमा कारोबार भएको आधारमा हेर्दा अत्यन्त निरस समयमा कम्पनीको मूल्य कस्तो थियो, कस्तो अवस्थामा कम मूल्य छ वा कस्तो अवस्थामा मूल्य बढेको छ । कम्पनीको मूल्यमा भएको उतारचढावलाई पनि हेरेर लगानीको रणनीति बनाउँदा दोस्रो बजारको लगानी असुरक्षित हुँदैन । त्यस्तो लगानीको सुरक्षाको जिम्मा पनि लिन सकिन्छ । होइन, ब्रोकरको लिमिट उधारोमा कारोबार गरेको छ । आजको भोलि नाफा खोजेको छ । हल्लाको भरमा लगानी गर्नेको लगानी धेरै जोखिममा हुन्छ । त्यस्तो लगानी बुल वा वियर जुन सुकै समयमा जोखिममा रहन्छ ।

 

 

 

 

 

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।