मेरो लगानीले लाभांश दिएका ८९ कम्पनीले वितरण गरेको लाभांश पच्यो कि पचेन भनेर हेरेको छ। जसमा २९ कम्पनीले चालु वर्ष वितरण गरेको लाभांश पचाएका छन् भने ६० वटा कम्पनीले वितरण गरेको लाभांश अझै पचेको छैन। प्रतिशतको आधारमा हेर्दा ३२.५८ प्रतिशतले लाभांश पचाएका छन् भने ६७.४१ प्रतिशतले पचाएनन्।
लाभांश वितरण गर्ने वाणिज्य बैंक र बिमा कम्पनीहरूले यसपटक सहजै लाभांश पचाउन सकेनन् भने केही जलविद्युत कम्पनीले भने सहजै लाभांश पचाएका छन्। लाभांश पचाउने कम्पनीको सूचिमा सबैभन्दा माथि सिएचडिसि रहेको छ। उक्त कम्पनीले ११ प्रतिशतका दरले बोनस शेयर वितरण गरेको थियो। तर बोनस पचाएर पनि कम्पनीको प्रति कित्ता मूल्य २४९.४८ प्रतिशतले बढेको छ। यस हिसाबले सिएचडिसिका लगानीकर्ताको दुवै हातमा लड्डु परेको छ। एकातर्फ बोनस शेयर समेत पचेको छ भने उता शेयर मूल्य पनि दुई सय प्रतिशत भन्दा बढीले बढेको छ।
त्यसैगरि लाभांश पचाउने कम्पनीको सूचिमा दोस्रोमा राधि जलविद्युत कम्पनी छ। उसले ४.७५ प्रतिशत बोनस शेयर दिएको थियो। राधिका लगानीकर्ताले पनि बोनस शेयर पचाएका छन्। कम्पनीले बोनस शेयर पचेर पनि थप ११२.९७ प्रतिशतले प्रति कित्ता मूल्य बढेको छ। जसले गर्दा राधिका लगानीकर्ताको लागि यसपटकको लगानी निक्कै राम्रो साबित भएको छ। लाभांश पचाउने कम्पनीहरूको सूचिमा २९ कम्पनी छन्।

यता लाभांश नपचाउने कम्पनीहरूको सूचिमा ६० कम्पनी छन्। जसमा लाभांश पचाउन अझै ३० प्रतिशत भन्दा बढी मूल्य अझै बढ्नु पर्नेसम्मको स्थिति देखिएको छ। चालु वर्ष एनआइसिएलले आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। त्यसपछि भने कम्पनीको मूल्य लगातार घट्दो अवस्थामा छ। बोनसको मूल्य समायोजन पछि कम्पनीको मूल्य ३३.५३ प्रतिशतले घटेको छ। त्यसैगरि सपोर्ट माइक्रो फाइनान्सले आफ्ना शेयरधनीलाई १३.७८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। बोनसपछि मूल्य समायोजन भए यता कम्पनीको मूल्य पनि घट्दो अवस्थामा छ। मूल्य समायोजन पछि कम्पनीको मूल्य ३२.१२ प्रतिशतले घटेको छ।

यसरी हेर्दा यस वर्ष लाभांशको लागि लगानी गर्ने लगानीकर्ताहरूलाई नाफा भन्दा बढी घाटा भएको छ। जसले दीर्घकालीन लगानी गर्न चाहने लगानीकर्तालाई शेयर बजारमा तय भइरहेको मूल्यले निरुत्साहित पारेको छ। लाभांश नपचेकै कारण पछिल्लो समय लगानीकर्ताहरूले दीर्घकालीन लगानी गर्ने भन्दा बढी अल्पकालीन लगानी तर्फ कारोबार बढाउन थालेका छन्। लाभांशका लागि लगानी गर्ने भन्दा बढी पूँजीगत लाभ तर्फ लगानीकर्ता आकर्षित हुन थालेका छन्। जसले गर्दा फण्डामेन्टल भन्दा बढी नन् फण्डामेन्टल तर्फ नै लगानी गर्न बजारले प्रेरित गरिरहेको देखिन्छ। जुन दोस्रो बजारको लागि राम्रो सङ्केत होइन।
जबसम्म फण्डामेन्टल राम्रो भएका कम्पनीले वितरण गरेको लाभांश पच्ने स्थिति हुँदैन। तबसम्म लगानीकर्ता त्यस्ता कम्पनीमा आकर्षित हुँदैनन्। धेरै जसो कम्पनीले वितरण गरेको लाभांश नपचेकै कारण अहिले लाभांश दिने भन्दा लाभांश क्षमता नै नभएका कम्पनीहरूको ट्रेड बढी हुन थालेको छ। जुन दोस्रो बजारको लागि राम्रो सङ्केत होइन।