एकैदिनको वर्षाका कारण विभिन्न नदीहरुमा बाढी आउँदा जलविद्युत् आयोजनामा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार, बाढीका कारण हालसम्म साढे २०० देखि ३०० मेगावाट बिजुली प्रणालीबाहिर रहेको छ । बाढीले बढी क्षति बनाएका जलविद्युत् आयोजनाको उत्पादन नै बन्द गर्नुपरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार, हालसम्म बाढीले ६० मेगावाटको त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको बाँध बगाएको छ । त्रिशुली नदीमा आएको बाढीले उक्त जलविद्युत् आयोजनाको बाँध संरचनामा ठूलो क्षति पुर्याएको हो ।
त्यस्तै २४ मेगावाटको त्रिशुली जलविद्युत् आयोजनामा पानीको सतह बढेकाले विद्युत् केन्द्र सट डाउन(बन्द) गरिएको छ । रसुवाखोलामा आएको बाढीका कारण १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको बाँध लगायतका संरचनामा ठूलो क्षति पुगेको प्राधिकरणको दाबी छ । त्यस्तै त्रिशुली ३ बी सबस्टेशनलाई समेत बाढीसहित आएको माटोले पुरेको छ । अन्य संरचनामा समेत क्षति पुगेको आयोजनाले जनाएको छ ।
यो सँगै देशका अन्य ठाउँका जलविद्युत् आयोजनालाई समेत बाढीले प्रत्यक्ष प्रभाव पारेको छ । बाढीका कारण कुन कुन जलविद्युत् आयोजनामा क्षति पुग्यो ? भौतिक र मानवीय क्षति कति भयो ? कुन कुन आयोजना प्रभावित बने ? पुनर्निमाण कसरी गर्ने ? लगायतका विषयबारेमा प्राधिकरणले अहिले छलफल गरिरहेछ।
बाढीका कारण हाइड्रोपावर क्षेत्रमा भएको क्षतिका बारेमा प्राधिकरणले छलफल गरेर यकिन तथ्यांक निकाल्ने प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए ।
‘कुन कुन जलविद्युत् आयोजनालाई बाढीले क्षति गर्यो, त्यसको बारेमा आज प्राधिकरणमा छलफल हुँदैछ । कहाँ कति क्षति भयो त्यसपछि यकिन विवरण आउँला’, उनले मेरो लगानीलाई बताए । उनका अनुसार, बाढीका कारणा साढे २०० मेगावाट विद्युत प्रणाालीमा आउन सकेकाे छैन् ।