हिमालयन बैंकको एफपीओमा आजदेखि आवेदन दिन सकिने

Jul 16, 2025 06:17 AM Merolagani



हिमालयन बैंक लिमिटेड (HBL) ले आज (असार ३२ गते) देखि थप सर्वाजनिक निष्काशन अर्थात फर्दर पब्लिक इस्यू (एफपीओ) गर्दैछ। बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले बैंकले एफपीओ जारी गर्न लागेको हो।

हाल बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ। जसमध्ये ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको रहेको छ भने २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ। अब सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ थप गरी जम्मा १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता थप सार्वजनिक निष्काशन गर्न लागेको हो।

सो एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा साउन ४ गते हुनेछ। सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि असार १४ गतेसम्म लम्बिनेछ।

एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

एफपीओ निष्काशनपश्चात बैंकको चुक्ता पूँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार ५३१ रुपैयाँ ९० पैसा पुग्नेछ।




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।