सिद्धार्थ बैंकको वितरणयोग्य मुनाफा ३ गुणा बढ्यो, लाभांश क्षमता १३.२२ प्रतिशतसम्म

Aug 08, 2025 07:12 AM Merolagani



सिद्धार्थ बैंक लिमिटेड (SBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ गुणा अर्थात २२० प्रतिशत बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।

डिबेन्चर रिडेम्सन रिजर्भमा १ अर्ब ४६ करोड रुपैयाँ छुट्याएपछि पनि बैंकले १३.२२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने आधार तयार भएको छ।

अघिल्लो वर्षको सोही अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५८ करोड रुपैयाँ मात्र थियो। समीक्षा अवधिमा बैंकको समग्र मुनाफा पनि १०.२४ प्रतिशतले वृद्धि भई ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष बैंकको यस्तो मुनाफा ३ अर्ब ८ करोड रुपैयाँ थियो। बैंकले कम जोखिम भएका कर्जातर्फ प्राथमिकता दिँदै लगानी पोर्टफोलियोमा सुधार गरेको छ। जसले खराव कर्जालाई २.६२ प्रतिशतमा सीमित गर्दै सन्तुलित विस्तार गरेको छ।

बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.४३ प्रतिशतले वृद्धि भएको हो। सेवा शुल्क र अन्य आम्दानी समेत १५.०९ प्रतिशतले बढ्दै १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, सञ्चालन आम्दानीमा ११.८२ प्रतिशतको वृद्धिसँगै कुल आम्दानी ११ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।

बैंकले गत वर्ष थप १ अर्ब ३१ करोड रुपैयाँ कर्जा नोक्सानी प्रोभिजनिङ गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १६.१६ प्रतिशतले बढ्दै २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ९.७६ प्रतिशतले वृद्धि भई २ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ। निक्षेपमा ३८ अर्ब ९९ करोड र कर्जामा १९ अर्ब ७ करोड रुपैयाँको वार्षिक वृद्धि देखिएको छ। बैंकको चुक्ता पूँजी १४ अर्ब ९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १६ अर्ब ९० करोड रुपैयाँ रहेको छ। थोरै पूँजीकोषका बाबजुद पनि बैंकको व्यवसायमा सन्तुलित बृद्धि भएको देखिन्छ।

प्रमुख वित्तीय सूचकहरूमा सुदृढता

गत असार मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ १० पैसा पुगेको छ भने वितरणयोग्य आम्दानीमा आधारित प्रतिशेयर आम्दानी १३ रुपैयाँ २२ पैसा रहेको छ। त्यसैगरी, सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ ९७ पैसा रहेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २३ रुपैयाँ ६१ पैसा बढेको हो। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.९३, पूँजीकोष अनुपात ११.७७ प्रतिशत कायम भएको छ। बैैंकको खराब कर्जा २.६२ प्रतिशत रहेको छ। कर्जा तथा निक्षेप अनुपात ७६.९२ प्रतिशत पुगेको छ, जुन ०.२४ प्रतिशत विन्दुले सुधारिएको हो। बैंकको आधार ब्याजदर गत वर्षको तुलनामा १.६९ प्रतिशत विन्दुले घटेर ६.४२ प्रतिशतमा झरेको छ भने स्प्रेडदर ३.९८ प्रतिशतमा कायम गरेको छ।

आर्थिक शिथिलता र ऋणीको कर्जा भुक्तानी क्षमतामा ह्रास आउदा खराव कर्जा सामान्य बृद्धि भएको छ। वितरणयोग्य मुनाफा तीन गुणाले बढ्नु र सम्पूर्ण सूचकहरूमा सुधार हुनु बैंकको रणनीतिक सफलताको सूचक हो। बैंकको केहि ऋणपत्र चालु आर्थिक वर्षमा परिपक्व हुँदैछ। यस पछि बैंकले मुनाफामा ठुलो छलाङ मार्ने अवस्था रहेको बैंकले बताएको छ। बैंकको हरेक सूचकमा स्थिरता रहनुका साथै प्राकृतिक सुधार देखिएको छ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।