गत आर्थिक वर्ष वाणिज्य बैंकहरुले कमाए ६४ अर्बभन्दा बढी नाफा, कुन बैंकको नाफा कति बढ्यो? कति घट्यो?

Aug 05, 2024 07:21 AM Merolagani



हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार सो अवधिसम्ममा बैंकहरुले ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

बैंकहरुको यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकहरुले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए।

गत आर्थिक वर्ष सबैभन्दा बढी नाफा कमाउने बैंक नबिल बैंक रहेको छ। सो बैंकले असार मसान्तसम्ममा ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.२३ प्रतिशत बढी हो।

त्यस्तै, ६ अर्ब नाफा कमाएको ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहेको छ भने ५ अर्ब १९ लाख रुपैयाँ नाफा सहित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो स्थानमा रहेको छ।

सबैभन्दा कम नाफा कमाउने बैंक भने माछापुच्छ्रे बैंक रहेको छ। सो बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। त्यस्तै, सिटिजन्स बैंक र एनआईसी एशिया बैंकको नाफा डेढ अर्बभन्दा कम रहेको छ भने नेपाल बैंकले १ अर्ब ६५ करोड नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष सर्वाधिक नाफा बढाउन सफल बैंक भने प्रभु बैंक देखिएको छ। सो बैंकको खुद नाफा समीक्षा अवधिमा १४९९.०४ प्रतिशत बढी हो। त्यस्तै, कुमारी बैंकको खुद नाफा समीक्षा अवधिमा ३४५.६७ प्रतिशत बढेको छ भने प्राइम कमर्सियल बैंकको २६७.१९ प्रतिशत र कृषि विकास बैंकको १७६.२३ प्रतिशत बढेको छ। यी बैंकहरुको अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण परिमार्जन भएका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको देखिन्छ।

समीक्षा अवधिमा १० वाणिज्य बैंकको खुद नाफा घटेको छ। जसमध्ये एनआईसी एशिया बैंकको खुद नाफा सर्वाधिक ६८.९१ प्रतिशत घटेको छ। त्यस्तै, नेपाल बैंकको खुद नाफा ५१.८० प्रतिशत घटेको छ भने सिटिजन्स बैंकको खुद नाफा करिब २८ प्रतिशत घटेको छ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।