आम्दानी र नाफा
खुद नाफा आर्जनका हिसाबले नबिल बैंक ७ अर्ब ९० करोड नाफासहित शीर्ष स्थानमा रहन सफल भएको छ भने कुमारी बैंक ७ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएर दोस्रो स्थानमा छ। ग्लोबल आइएमई बैंक, एभरेस्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि क्रमशः ६.२२ अर्ब, ५.०६ अर्ब र ४.५५ अर्ब खुद नाफा कमाएका छन्। अर्कोतर्फ खराब कर्जा व्यवस्थापन र इम्पेयरमेन्ट चार्जको ठूलो चापका कारण प्रभु बैंक २४ करोड १२ लाख खुद नोक्सानीमा पुगेको छ।
शेयरधनीहरूलाई लाभांश वितरण गर्ने क्षमताका आधारमा भने एभरेस्ट बैंक सबैभन्दा अगाडि देखिएको छ, जसको प्रति शेयर लाभांश क्षमता ३८.३२ प्रतिशत रहेको छ। नबिल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि प्रति शेयर क्रमशः १९.१० प्रतिशत र १९.०४ प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता कायम राखेका छन्। यद्यपि, विगतका निष्कृय कर्जाको प्रोभिजनिङ र नियामक समायोजनको भारका कारण एनआईसी एशिया बैंक, हिमालयन बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको वितरणयोग्य नाफा ऋणात्मक बनेकाले यी बैंकहरूले शेयरधनीलाई लाभांश दिन नसक्ने अवस्था सिर्जना भएको छ।

चुक्ता पूँजी, जगेडा कोष, निक्षेप र कर्जा
पूँजी, जगेडा कोष, निक्षेप संकलन र कर्जा प्रवाहका दृष्टिले ग्लोबल आईएमई बैंक ३८.११ अर्ब रुपैयाँ चुक्ता पूँजीसहित सबैभन्दा ठूलो पूँजी भएको बैंक बनेको छ भने नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ३४.१२ अर्ब पूँजी सहित दोस्रो स्थानमा छ। जगेडा कोषका आधारमा राष्ट्रिय वाणिज्य बैंक ४०.४५ अर्ब (जगेडा र सञ्चित नाफा) सहित सबैभन्दा बलियो स्थितिमा छ भने नबिल बैंकको जगेडा कोष ३९.८५ अर्ब पुगेको छ। निक्षेप संकलनमा राष्ट्रिय वाणिज्य बैंक (६८६.१३ अर्ब) र ग्लोबल आईएमई बैंक )(६६९.१७ अर्ब) अगाडि छन् भने कर्जा प्रवाहमा पनि नबिल बैंक (४६०.३१ अर्ब) र ग्लोबल आईएमई बैंक (४३९.३४ अर्ब) ले बजारको ठूलो हिस्सा ओगटेका छन्।

प्रतिशेयर आम्दानी तथा प्रतिशेयर नेटवर्थ
बैंकहरूको प्रति शेयर आम्दानी, प्रति शेयर नेटवर्थ र मूल्य आम्दानी अनुपातमा समेत व्यापक अन्तर देखिएको छ। प्रति शेयर आम्दानीका हिसाबले एभरेस्ट बैंक ३६.९५ रुपैयाँ सहित अग्रस्थानमा छ भने नेपाल बैंक (३०.६३ रुपैयाँ), राष्ट्रिय वाणिज्य बैंक (२९.१४ रुपैयाँ), स्ट्याण्डर्ड चार्टर्ड बैंक (२८.३८ रुपैयाँ), नबिल बैंक (२८.३६ रुपैयाँ) र कुमारी बैंक (२८.१७ रुपैयाँ)ले पनि राम्रो ईपीएस कायम गरेका छन्। अर्कोतर्फ प्रभु बैंकको ईपीएस १.०२ रुपैयाँ ऋणात्मक रहँदा एनआईसी एशिया बैंकको १.२२ रुपैयाँमा सीमित भएको छ।
किताबी मूल्य (नेटवर्थ) को आधारमा नेपाल बैंक २८७.७० प्रति शेयर नेटवर्थका साथ सबैभन्दा बलियो देखिएको छ भने एभरेस्ट बैंक र नबिल बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। मूल्याङ्कनका दृष्टिकोणले कुमारी बैंक र नेपाल बैंकको मूल्य आम्दानी अनुपात सबैभन्दा कम र सस्तो अवस्थामा देखिएको छ भने एनआईसी एशिया बैंकको यस्तो अनुपात २६६.९० गुणा पुगेको छ।
बैंकहरूको सम्पत्तिको गुणस्तर र खराब कर्जाको जोखिममा पनि ठूलो अन्तर देखिएको छ। एभरेस्ट बैंकले ०.४९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले २.०३ प्रतिशतमा मात्रै खराब कर्जा सीमित राखेर उत्कृष्ट जोखिम व्यवस्थापन प्रदर्शन गरेका छन्। तर, प्रभु बैंकको निष्क्रिय कर्जा १५.५५ प्रतिशत पुगेको छ भने एनआईसी एशिया बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, हिमालयन बैंक र कुमारी बैंकको खराब कर्जा पनि ७ देखि ९ प्रतिशतभन्दा माथि पुगेर चुनौतीपूर्ण अवस्थामा पुगेको छ। समग्रमा, बलियो वित्तीय अनुशासन र न्यून खराब कर्जा भएका बैंकहरू लगानीकर्ताका लागि आकर्षक देखिएका छन् भने आक्रामक कर्जा विस्तारपछि असुलीमा समस्या झेलेका बैंकहरू प्रोभिजनिङको भारले थप थिचिएका छन्।
