लगानीकर्ता तथा ब्रोकर प्रतिनिधिले बढाइएको क्यापिटल गेन ट्याक्स घटाउनु पर्ने र बैंक तथा वित्तीय संस्थालाई शेयर बजारमा कारोबार गर्न खुला गर्नुपर्ने साझा माग अघि सारेका छन्। पछिल्लो करिब ६ महिनामा नेप्से परिसूचक करिब ४ सय अंकले घटेको र बजारको मनोबल कमजोर बनेको अवस्थामा सरकारले शेयर बजारलाई लक्षित गरेर छुट्टै प्याकेज तयार गर्न लागेको हो। अर्थ मन्त्रालयले प्याकेज निर्माण गरिरहेको बेला लगानीकर्ता तथा बजारका अन्य सरोकारवालाले भने बजारमा माग र विश्वास बढाउने गरी तत्काल निर्णय लिनुपर्ने बताएका छन्।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा फुलेल र नेपाल इन्भेष्टर फोरमका पूर्व महासचिव राजन लम्सालले अर्थमन्त्रीले ल्याउने प्याकेजमा विभिन्न विषय समेटिनुपर्ने बताएका छन्। उनीहरूको प्राथमिकतामा भने क्यापिटल गेन ट्याक्स र बैंक तथा वित्तीय संस्थालाई शेयर कारोबार खुला गर्नेु पर्ने विषय उठाए।
क्यापिटल गेन ट्याक्स ५ प्रतिशतमा झार्न माग
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष ढकालले अहिलेको अवस्थामा क्यापिटल गेन ट्याक्स घटाउनुपर्ने माग गरेका छन्। उनले हाल १० प्रतिशत रहेको क्यापिटल गेन ट्याक्सलाई घटाएर ५ प्रतिशत कायम गर्नुपर्ने बताएका हुन्। उनका अनुसार लामो समयदेखि कमजोर रहेको शेयर बजारमा लगानीकर्ताको मनोबल खस्किएको अवस्थामा करको दर घटाउने निर्णयले बजारलाई राहत दिन सक्छ।
शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष फुलेलले पनि क्यापिटल गेन ट्याक्समा पुनरावलोकन गर्नुपर्ने बताएका छन्। अहिले बढाइएको करलाई पुरानै अवस्थामा फर्काउने वा सम्भव भए अझ घटाउने विषयमा सरकारले विचार गर्नुपर्ने उनको माग छ। फुलेलका अनुसार अहिले शेयर बजारको मुख्य आवश्यकता डिमान्ड र कन्फिडेन्स बढाउनु हो। त्यसका लागि क्यापिटल गेन ट्याक्स घटाउने र बैंक तथा वित्तीय संस्थालाई बजारमा कारोबार गर्न दिने दुई विषय महत्त्वपूर्ण हुने उनको भनाइ छ।
बजारका सरोकारवालाको दोस्रो प्रमुख माग बैंक तथा वित्तीय संस्थालाई शेयर बजारमा सर्वसाधारणसरह कारोबार गर्न दिने व्यवस्था हो। फुलेलले बैंक तथा वित्तीय संस्थालाई शेयर बजारमा कारोबार गर्न दिने व्यवस्था छिटो ल्याउनुपर्ने बताएका छन्। उनका अनुसार यसले बजारमा माग बढाउन सहयोग गर्नेछ। ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले पनि बैंक तथा वित्तीय संस्थाको शेयर कारोबार खुला गर्नुपर्ने विषयलाई प्राथमिकतामा राखेका छन्। उनले क्यापिटल गेन ट्याक्स घटाउने निर्णयसँगै बैंक तथा वित्तीय संस्थालाई बजारमा प्रवेश खुला गर्ने व्यवस्था ल्याउनुपर्ने बताएका हुन्। बैंक तथा वित्तीय संस्थाको सहभागिता बढाउँदा बजारमा संस्थागत माग बढ्ने र त्यसले कमजोर बनेको बजारको मनोबल सुधार्न सहयोग पुग्ने उनीहरूको अपेक्षा छ।
‘माग बढेपछि कन्फिडेन्स पनि बढ्छ’
फुलेलले अहिलेको बजारमा सबैभन्दा पहिले माग र लगानीकर्ताको विश्वास बढाउनुपर्ने बताएका छन्। उनका अनुसार माग बढेपछि लगानीकर्ताको कन्फिडेन्स पनि बढ्ने भएकाले सरकारले ल्याउने प्याकेजमा यी दुई विषयलाई प्राथमिकतामा राख्नुपर्छ। ‘अहिलेको आवश्यकता भनेकै डिमान्ड बढाउने र कन्फिडेन्स बढाउने कुरा हो,’ उनले भनेका छन्, ‘डिमान्ड बढेपछि कन्फिडेन्स पनि बढ्छ।’ त्यसैले करको दर घटाउने र बैंक तथा वित्तीय संस्थालाई बजारमा कारोबार गर्न दिने व्यवस्था भए त्यसले कमजोर बजारमा तत्काल मनोवैज्ञानिक प्रभाव पार्न सक्ने उनको बुझाइ छ।
लम्सालको जोड ‘विश्वासको वातावरण’मा
नेपाल इन्भेष्टर फोरमका पूर्व महासचिव राजन लम्सालले भने शेयर बजारको सुधारका लागि सबैभन्दा पहिले लगानीकर्तामा विश्वासको वातावरण सिर्जना गर्नुपर्ने बताएका छन्। उनका अनुसार अहिले शेयर कारोबारीहरू विभिन्न कारणले लगानी गर्न हच्किरहेका छन्। त्यसैले सरकारले शेयर बजारमा लगानी सुरक्षित छ भन्ने विश्वास दिलाउने वातावरण बनाउनुपर्ने उनको भनाइ छ। लम्सालले बढाइएको क्यापिटल गेन ट्याक्समा समेत सरकारले पुनर्विचार गर्नुपर्ने बताएका छन्। यसैगरी बैंक तथा वित्तीय संस्थाले निश्चित अवधिसम्म शेयर किन्न तथा बेच्न नपाउने व्यवस्थाको पनि पुनरावलोकन गर्नुपर्ने उनको माग छ। लम्सालका अनुसार शेयर बजार सुधारका लागि करसम्बन्धी व्यवस्था र संस्थागत लगानीसँगै सरकारको समग्र व्यवहारले पनि लगानीकर्ताको मनोबलमा असर पार्ने भएकाले विश्वासको वातावरण सिर्जना गर्नु आवश्यक छ।
अब अर्थ मन्त्रालयको प्याकेजमा के आउँछ?
अर्थ मन्त्रालयले शेयर बजारका लागि छुट्टै प्याकेज बनाउने तयारी गरिरहेको भए पनि त्यसको अन्तिम स्वरूप सार्वजनिक भइसकेको छैन। प्याकेजमा कुन–कुन विषय समेटिने भन्ने विषय अहिले छलफलकै क्रममा छ। यही अवस्थामा बजारका सरोकारवालाले भने सरकारसँग तत्काल सम्बोधन गर्नुपर्ने विषय स्पष्ट रूपमा अघि सारेका छन्।
ब्रोकर र लगानीकर्ता प्रतिनिधिको साझा माग क्यापिटल गेन ट्याक्स घटाउने र बैंक तथा वित्तीय संस्थाको सहभागिता खुला गर्ने रहेको छ। यसबाहेक लगानीकर्ताको विश्वास बढाउने वातावरण बनाउनुपर्ने विषय पनि उठेको छ।
पछिल्लो समय शेयर बजारमा आएको करिब ४ सय अंकको गिरावटपछि सरकारले पहिलोपटक शेयर बजारलाई लक्षित गरेर छुट्टै प्याकेज बनाउन लागेको अवस्थामा अब बजारको नजर अर्थ मन्त्रालयतर्फ छ।प्याकेजमा लगानीकर्ता र ब्रोकरले माग गरेका विषय समेटिन्छन् वा सरकारको प्राथमिकता फरक हुन्छ भन्ने विषयले आगामी दिनमा शेयर बजारको नीतिगत बहसलाई समेत प्रभावित गर्ने देखिन्छ।