इजरायल गएका केअर गिभर भन्छन्- 'कामदारको कोटा बढाऔँ, एकदमै राम्रो छ'

Aug 11, 2025 05:58 PM merolagani



 राजेन्द्र खनाल, तेलअभिवबाट फर्केर

अक्टोवर ७, २०२३ मा भएको आतंककारी हमलापछि इजरायल नेपालीहरुका लागि सुरक्षित गन्तव्य हो या होइन भन्ने प्रश्न उठेपनि त्यहाँ काम गरिरहेका नेपालीहरुले भने आफूहरु  सुरक्षित रहेको बताएका छन् । 

प्यालिस्टाइन आतंकबादी समूह हमासको आक्रमणमा परी अक्टोवर ७,२०२३ मा दश जनाको मृत्यु भएको थियो भने एक जना विपीन जोशी अझैसम्म अपहरणमा छन् ।

इजरायलको प्रमुख शहर तेलअभिवमा रहेको ओल्ड एज केअर होम्समा पुगेका नेपालका संचारकर्मीहरुसँगको कुराकानीमा त्यहाँ कार्यरत ७ जना केअर गिभरहरुले आफूहरुले  इजरायलमा सम्मानकासाथ काम गरिरहेको बताए । उनीहरुले आफ्नो सम्झौता पाँच बर्ष थपि दिन सरकारसँग आग्रह गरेका छन् । गभरभेण्ट टु गभरमेण्ट अर्थात जी टु जी कार्यक्रम  मार्फत इजरायल पुगेका कामदारहरुको ५ बर्षे सम्झौता सकिन अब दुई बर्ष बाँकी छ । त्यहाँको केयर होममा काम गर्ने २६ जना कामदारहरु सन् २०२२ मा त्यहाँ पुगेका थिए ।

त्यहाँ कार्यरत  बाराका गणेश बाग्ले सम्झौता बढाउनु पर्नेमा जोड दिन्छन् । उनी भन्छन्- 'इजरेलमा सम्मानका साथ काम गरिरहेको छौ,सीप सिकेका छाै, कमाइ पनि राम्रै छ । पाँच बर्षमा तीन बर्ष बितिसक्यो, अब मात्र दुई बर्ष बाँकी छ । सरकारसँग हाम्रो सम्झौता पाँच वर्ष थप गरिदिन अनुरोध गर्दछु ।'

एनआरएनएका उपाध्यक्ष समेत रहेकी बिराटनगरकी मन्जु भुजेलले नेपालबाट जिटुजी अन्तगर्त कामदार ल्याउँदा घरमा भन्दा केयर सेन्टरमा ल्याउन सुझाव दिन्छिन् । मन्जु भन्छिन्-'बेथाफेतमा काम गर्दा काम सिकाइन्छ, धेरै जना नेपालीसँगै बस्न पाइन्छ,दु:ख सुख शेयर गर्न पाइन्छ । तर, व्यक्तिहरुको घरमा जाँदा एक्लै भएर प्रेसर हुन सक्छ, काम यहाँ जति नसिकिने हुनसक्छ । उनी थप्छिन्-'जिटुजीबाट ल्याइएका कामदार आर्थिक रुपमा पनि सुरक्षित हुने भएकाले यस्तै कार्यक्रमबाट ल्याइने कामदारको कोटा बढाउनु पर्छ ।'

हिब्रु भाषामा ओल्ड एज केअर होम्सलाई बेथाफेत भन्ने गरिन्छ । उनीहरुका अनुसार इजराइलमा १४   हजार यस्ता हाेम्सहरू छन् जहाँ नेपाली कामदारको माग उच्च छ । मन्जु थप्छिन्- 'नेपाली कामदारहरुले बेथाफेतहरुमा राम्रो छाप छोडेका छन् । उनीहरु अरु देशका भन्दा नेपाली कामदार रुचाउँछन् ।'

सुनसरीकी  आस्था सिवाकोटीले केयर गिभरको आम्दानीको बारेमा जानकारी दिइन् । उनले भनिन्- 'यहाँ हाम्रो कमाई तीन लाखसम्म हुन्छ, केही बेला बढी नै हुन्छ तर कम हुँदैन ।' सिन्धुलीकी सपना कार्की, हेटौडाकी रेस्ता गौतम, चन्द्रागिरी काठमाडाैंका अमृत सापकोटा, संखुवासभाका गणेश कार्की र दाङका गिरीराज ओली सबैले इजरायलबारे भ्रम नछर्न आग्रह गरे । उनीहरु भन्छन्- 'नेपाली कामदारका लागि इजराइल सुरक्षित छ, यहाँ हामी सबैले सम्मानपूर्वक काम गरेका छौ‍ं ।'

केअर होम्सका कामदारहरुले सम्झौता थप गर्न राखेको प्रस्तावमा इजरायलका लागि नेपाली राजदूत  धनप्रसाद पण्डितले केही बताउन चाहेनन् । संचारकर्मीको टोलीसँग बेथाफेत पुगेका उनले थप कामदार ल्याउने बिषयमा आफ्नो जोड रहेको बताए । उनकाअनुसार, उनी राजदूतको रुपमा तेलअभिव पुगेपछि करीव एक हजार कामदार  इजरायल पुगिसकेको र एक हजार इजरायल आउने क्रममा रहेका छन् । राजदूत पण्डितले आफूले थप कामदार ल्याउन अत्याधिक ताकेता गरेपनि सरकारले चासो नदिएको दुखेसो पोखे । उनले भने- 'इजरेल सरकारले जुन बेला कामदारको डिमाण्ड गर्यो, हामीले प्रस्ताव पेश गर्न सकेनौ । हामीले पाएनौ, त्यही बेला श्रीलंकाले पायो।'

राजदूत पण्डितले एक हजार एक सय कामदार इजरायल आउने प्रकृयामा रहेको जानकारी दिए । उनले सरकारसँग थप नेपाली कामदार ल्याउन समन्वय गरिरहेको पनि बताए ।

केयर होममा सुरक्षा सतर्कता

नेपाली कामदारहरुले बताएअनुसार, बेथाफेतमा उच्च सुरक्षा प्रवन्ध गरिएको हुन्छ । सुरक्षाको प्रोटोकल  अनुसरण गरे कुनै किसिमको अनिष्ट हुँदैन । यदि कुनै किसिमको हमला हुने भए  १० मिनेट अघि नै  मोवाइलमा घण्टी बज्छ । कुनै कामदारले आफूसँग मोवाइल नबोके सार्वजनिक रुपमा राखिएको मोवाइलमा घण्टी बज्छ । यो दश मिनेटको समय तयार रहनका लागि दिइएको समय हो । त्यसपछि हमाला हुने ९० सेकेण्ड अर्थात डेढ मिनेट अघि साइरन बज्न थाल्छ । साइरन बजेपछि सेफ हाउसमा जानु पर्छ, जुन मेटल प्रयोग गरेर बनाइएको सुरक्षित हुन्छ । अक्टोवर ७ पछि इजराइलको सुरक्षा संयन्त्र हाइ अलर्ट बसेकाले आफुहरु सुरक्षित नै नेपाल फर्कने कुरामा नेपाली कामदारहरु ढुक्क देखिन्छन् ।

जी टु जी कार्यक्रम के हो ?

गभरभेण्ट टु गभरमेण्ट हुने यस कार्यक्रममा  म्यानपावर कम्पनीरहित भर्ना प्रक्रियामार्फत नेपाली कामदार इजरायल लगिन्छ । यसमा कुनै बिचाैलिया प्रवेश गर्न सक्दैन।इजरायलले नेपालबाट केयरगिभर लैजान २०७७ असोज १४ गते श्रम सम्झौता गरेको थियो। त्यसपछि पहिलो चरणमा नेपालबाट एक हजार १४७ जना कामदार इजरायल पुगेका छन् । यस कार्यक्रममा पुरुष पनि जान पाउँछन्। तर महिला र पुरूषकाे लागि संख्या पहिले नै एकीन गरिएकाे हुन्छ । 

नेपालीहरू एकल ट्रान्जिट उडानमार्फत इजरायल पुग्छन्। इजरायल जाने नेपालीले टिकट शुल्कबापत ७० हजार रूपैयाँ हाराहारी तिर्नु पर्छ । भिसा शुल्क तीन हजार अलग्गै लाग्छ । भिसा अवधि पाँच वर्षको हुन्छ।

केयर गिभरका लागि इजरायलमा काम गर्न जाने आवेदकले १० कक्षा उत्तीर्ण गरी केयर गिभरसम्बन्धी ३ महिनाको तालिम लिएको हुनुपर्ने छ । २५ वर्षदेखि ४५ वर्षसम्मकाले आवेदन दिन सक्ने छन् ।अनमी वा सीएमएसम्बन्धी विषय पढेकाकाे हकमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ सो सरहको शैक्षिक योग्यता भएको हुनुपर्ने छ ।

इजरायलस्थित नेपाली दूतावासले एकीन संख्या नवताए पनि  इजरायलमा केअर गिभर सहित सात हजारसम्म नेपाली बसेको हुन सक्ने अनुमान छ ।

 

 




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।