रुपन्देहीको उप निर्वाचनमा इलामकै शैली अपनाउँदै रास्वपा, परिणाम कस्तो आउला ?

Aug 11, 2025 05:55 PM mero lagani



कार्तिक १७ गते हुने रुपन्देही क्षेत्र ३ को आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ कै शैली अपनाउन थालेको छ । 

यसले गर्दा उक्त पार्टीका नेता कार्यकर्तालाई मात्र नभएर अन्य पार्टीका नेता कार्यकर्तामा समेत उक्त पार्टीले कसलाई उम्मेदवार बनाउला र परिणाम कस्तो आउला भन्ने खुल्दुली उत्पन्न भएको छ ।

एमाले उपाध्यक्ष तथा इलाम क्षेत्र नं २ का सांसद सुवास नेम्वाङको मृत्यु भएपछि २०८१ बैशाख १५ गते भएको उप निर्वाचनमा उम्मेदवारीका लागि उक्त पार्टीले आफ्ना पार्टीहरुले जस्तो पार्टीभित्र आन्तरिक छलफल नगरि आँकाक्षीहरुसँग आवेदन माग गरेको थियो । त्यसक्रममा गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे, र डा. शेषरमण न्यौपाने र मिलन लिम्बुले आवेदन दिए ।

आवेदन दिएका अन्य व्यक्तिहरु स्थापनाकालदेखि नै पार्टीमा जोडिएको भए पनि लिम्बु भने जोडिएका थिएनन् । माओवादी कार्यकर्ता रहेका उनी पार्टीले कांग्रेससँग गरेको गठबन्धनको कारण टिकट पाउने अवस्था नभएपछि स्वतन्त्र लड्ने घोषणा गरेका थिए । अन्त्यमा रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेपछि पार्टी प्रवेश गरि उम्मेदवार बनाइए । परिणाम एमाले उम्मेदवार सुहाङ नेम्वाङ २७,७७२ मतका साथ विजयी हुँदा लिम्बुले केवल ५०५० भोट ल्याएर चौथो त बने, तर उनको जमानत जफत भयो ।

राप्रपाबाट निर्वाचित साँसद दीपक बोहोराको मृत्यु भएपछि कार्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा उप निर्वाचन हुँदैछ । त्यसको लागि अन्य पार्टीहरुमा स्थानीय पार्टी कमिटीहरुमार्फत उम्मेदवारका बारेमा बहस, छलफल गरिरहेका छन् ।

तर, रास्वपाका स्थानीय कमिटीहरु भने उम्मेदवारकाे बारेमा बहस गरिरहेका छैनन् । किनकी उनीहरुलाई त्यो अधिकार नै छैन । पार्टीको केन्द्रिय समितिले उम्मेदवार हुन चाहानेहरुको लागि २५ हजार रुपैयाँको दस्तुरसहित साउन २१ गतेसम्मको हदम्याद दिएर आवदेन माग गर्यो । त्यो अवधिमा ९ जनाले आवेदन दिए । आवेदन दिनेहरुमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा‍. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका छन् ।

भदौ १५ मा उम्मेदवारको अन्तिम नाम सार्वजनिक गर्ने भन्दै पार्टी केन्द्रिय समितिका विपीन आचार्यलगायतका पदाधिकारीहरुले अहिले उम्मेदवार हुन चाहानेहरुसँग एक्ला एक्लै वा सामुहिकरुपमा अन्तर्वार्ता लिइरहेका छन् । अन्तर्वार्तापछि आवेदन दिनेहरुमध्येबाट कसलाई उम्मेदवार बनाउने वा सबैलाई असफल बनाएर अर्कै व्यक्तिलाई उम्मेदवार बनाउने भन्ने टुंगो गरिदैंछ ।

‘अरु पार्टीमा पो कार्यकर्ताले सिफारिस गर्छन् र त्यसको आधारमा नेताले सिफारिस गर्छन्, हाम्रो पार्टीमा त कार्यकर्ताको काम झोला बोक्ने बाहेक अरु केही नहुने रहेछ, नेताले जे भन्यो त्यही खुरुक्क मान्नु पर्ने । वास्तविक झोले त हाम्रो पार्टीका कार्यकर्ता पो रहेछौं,’ रास्वपा रुपन्देहीका एक नेताले मेरो लगानीसँग भने ।

उनका अनुसार सह महामन्त्री आचार्य र कोषाध्यक्ष लिमा अधिकारीलगायतका नेताहरुले सभापति लामिछानेको संकेत अनुसार उम्मेदवारी छनौट गर्ने विश्वास गरिएको छ । अहिलेका ९ जना मध्येमै कोही उम्मेदवार हुन्छन् कि इलाममा जस्तो अरु पार्टीबाट उम्मेदवार बनाउने गरि प्रवेश गराइन्छ भन्ने बारेमा आफूहरुमै अन्योल रहेको उनको भनाइ छ । सम्वन्धित क्षेत्रका कार्यकर्ताको बीचमा उम्मेदवारहरुको बारेमा सामान्य छलफल हुने वातावरण समेत नबनाइएकोले अरु पार्टीहरुमा जस्तो बहस छलफलको अवस्थै नरहेको उनको भनाइ छ ।

आवेदकहरु को कस्ता ?

रास्वपाले पहिलो नम्बरमा नाम सार्वजनिक गरेका खरेल अमेरिका बस्दै आएका थिए । खरेल लामिछानेकै आग्रहमा उनी रुपन्देही–३ बाट निर्वाचन लड्नकै लागि नेपाल आएको चर्चा छ ।

त्यस्तै, महर्जन गत आम निर्वाचनमा समानुपातिक उम्मेदवार थिइन् । उनी रास्वपा केन्द्रीय सदस्य हुन् । भैरहवा माइती भई काठमाडौं बस्दै आएकी उनी अहिले उम्मेदवार बन्नकै लागि समानुपातिक सूची आफ्नो नाम हटाएकी हुन् । पार्टी सचिवालयले पनि उनले समानुपातिकको सूचीबाट नाम हटाउन दिएको निवेदन स्वीकृत गरिसकेको छ ।

अर्का निवेदक अर्याल रुपन्देही–३ का सभापति हुन् । उनी मन्टेश्वरी स्कुलका सञ्चालक पनि हुन् ।
ज्ञानु पौडेल लुम्बिनी विशिष्टीकृत सहकारीको अध्यक्ष र केन्द्रीय वचत तथा ऋण सहकारी संघकी केन्द्रीय सदस्य हुन् ।

जिल्ला कोषाध्यक्ष क्षेत्री भैरहवा निवासी हुन् । डा. थापा न्यूरो सर्जन हुन् । उनको भैरहवामा आफ्नै क्लिनिक छ । थापा गत निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्य पदमा समानुपातिक उम्मेदवार थिए ।

गुप्ता २०७९ को चुनावमा पनि यही क्षेत्रबाट उम्मेदवार थिए । राप्रपाका दीपक बोहराले ३६ हजार ७ सय १७ मत ल्याएर निर्वाचित हुँदा गुप्ताले ५ हजार ७९६ मत ल्याएका थिए ।

पार्थवेन्द्र रुपन्देही क्याम्पस भैरहवाका क्याम्पस प्रमुख थिए । उम्मेदवार बन्नका लागि उनले पदबाट राजीनामा दिएका छन् ।

उनी अघिल्लो चुनावमा विवेकशील साझा पार्टीबाट रुपन्देही ३ मै संघीय सांसदको उम्मेदवार थिए ।
रचना क्षेत्री पार्टीको जिल्ला कोषाध्यक्ष हुन् । उनी मन्टेश्वरी विद्यालय सञ्चालक हुन् । पुनमकुमारी अग्रवाल नेपालकै ठूलो प्रांगारिक मल उद्योगकी सञ्चालक हुन् ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।