ओलीको भ्रमणको तयारीको लागि भारतीय विदेश सचिव आउँदै, भारतको सरोकार सुपुर्दगी सन्धी गर्ने र १५ वटा कुकुर दिने

Aug 12, 2025 03:24 PM mero lagani



भदौ ३१ गते देखि हुन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तयारीका लागि भारतीय विदेश सचिव विक्रम मिश्री यसै साता नेपाल आउने भएका छन् । 

परराष्ट्र मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार मिश्रीले भ्रमणको क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत उच्च पदस्तहरुलाई भेट गर्नेछन् ।

भ्रमणको अवसर पारेर नेपालसँग निकै लामो समयदेखि अड्केर बसेको सुपुर्दगी सन्धिमा हस्ताक्षर गर्ने भारतको प्रस्ताव रहेको छ । नेपाल सरकारको तर्फबाट त्यसबारेमा अहिलेसम्म औपचारिक रुपमा कुनै जानकारी गराइएको छैन । नेपाल हुँदै तेस्रो मुलुकका नागरिक भारत छिर्न सक्ने र भारतमा अपराध गरेकाहरु नेपाल हुँदै तेस्रो देशमा भाग्ने गरिरहेको भन्दै भारतले सुपुर्दगी सन्धीलाई ओलीको भ्रमणको मुख्य एजेण्डाको रुपमा उठाउने तयारी गरिरहेको बताइएको छ ।

नेपालले नेपाली उत्पादनलाई भारतीय बजारमा सहज पहुँचको साथै सीमा सुरक्षालगायतका विषयहरुलाई गम्भिरतासाथ उठाउने तयारी गरेको छ । तर, विवादास्पद लिम्पियाधुरा, लिपुलेकलगायतका विषयमा भने दुवै पक्ष तैं चुप मै चुपको अवस्थामा रहने अर्थात कुनै चर्चा नगर्ने ‘मुडमा रहेको’ परराष्ट्र मन्त्रालय सम्वन्ध स्रोतको दावी छ । ‘अहिलेको समयमा त्यसबारेमा धेरै कुरा उठाउनु हुँदैन भन्ने मनस्थिति दुवै पक्षको देखिन्छ, बाँकी कुरा त भ्रमणकै बेला थाहा होला’ मन्त्रालयका एक सहसचिवले मेरो लगानीसँग भने ।

यता भ्रमणकै अवसर पारेर नेपाललाई १५ वटा तालिम प्राप्त कुकुर दिने भन्दै प्रस्ताव भारतले गरेको बताइएको छ । साउन पहिलो साता द्धैपक्षिय वार्ताको लागि भारत गएका गृह सचिव गोकर्णमणि दुवाडीमार्फत भारतले त्यस्तो प्रस्ताव गरेको हो । नेपाल प्रहरीको तालिम र अनुसन्धानको लागि ती कुकुरहरु लिने विषयमा सरकार सकारात्मक भए पनि प्रधानमन्त्रीको भ्रमणकै बेला ती कुकुर ल्याउने बारेमा सम्झौता गर्ने बारेमा निर्णय भइसकेको छैन । ‘कुकुर लिएर आयो भनेर अनावश्यक हल्ला होला र भ्रमणका अरु विषयहरु नै ओझेलमा पर्लान कि भन्ने चिन्ता देखिएको छ’ सम्वद्ध स्रोतले भन्यो । यस अघि प्रचण्ड प्रधानमन्त्री भएको बेला भारत भ्रमणमा जाँदा केही भैंसी र राँगाहरु लिएर आएको विषय अहिले पनि नेपाली राजनीति वृतमा गिल्लाको विषयको रुपमा लिने गरिन्छ ।

 




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।