हाइड्रोपावर कम्पनीहरुले अधिकतम ३४ रुपैयाँँ ६६ पैसासम्म प्रति शेयर आम्दानी भएको वित्तीय विवरण प्रकाशित गरेका छन् भने यता घाटामा रहेका १८ कम्पनीमध्ये सबैभन्दा धेरै ऋणात्मक प्रति शेयर आम्दानी भने ३३ रुपैयाँ २९ पैसासम्मको देखिएको छ । नेप्सेमा अहिले ९१ वटा हाइड्रोपावर कम्पनी सूचीकृत छन् भने त्यसमध्ये अझै ३१ वटा कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेको छैनन् ।
५० वटा वित्तीय विवरण सार्वजनिक गरेका हाइड्रोपावर कम्पनीमध्ये चिलिमे हाइड्रोपावरको चुक्ता पुँजी सबैभन्दा बढी ८ अर्ब ७८ करोड रुपैयाँ छ भने कुथेली बुखारी स्मल हाइड्रोपावरको चुक्ता पुँजी सबैभन्दा कम १३ करोड ४१ लाख रुपैयाँ मात्रै छ ।
बिजुली बिक्रीबाट सबैभन्दा बढी साहज ऊर्जाले १ वर्षमा २ अर्ब ६४ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको छ भने सञ्चालन मुनाफा र खुद मुनाफा पनि साहस ऊर्जाकै सबैभन्दा बढी छ । शुभम पावरले भने २ करोड २५ लाख रुपैयाँ बिजुली बिक्री गरेर कमाएको छ भने कम्पनीको खुद मुनाफा ५३ लाख रुपैयाँ मात्रै रहेको छ ।
धेरै खुद मुनाफा कमाउने कम्पनीहरुमा साहज ऊर्जा पछि चिलिमे हाइड्रोपावर, माउन्टेन इनर्जी नेपाल, सानिमा मिडिल तमोर हाइड्रोपावर, सानिमा माई हाइड्रोपावर, बुटवल पावर, सिगटी हाइड्रो इनर्जी, सुपर मादी हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर, अप्पर सोलु हाइड्रोपावरले १० करोड रुपैयाँ भन्दा बढी खुद मुनाफा कमाएको छ । कालिका पावर, सिक्लेस हाइड्रोपावर, अप्पर स्यांगे
हाइड्रोपावर, हिमालयन पावर पार्टनर, हिमालयन हाइड्रोपावर, भगवती हाइड्रोपावर, विन्दवासिनी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलोपर, हिमालय ऊर्जा विकास, मन्दाकिनी हाइड्रोपावर, मोलुङ हाइड्रोपावर, सगरमाथा जलविद्युत कम्पनी, बरुण हाइड्रोपावर र रावा इनर्जीले १ करोडदेखि १० करोड रुपैयाँको बीचमा नाफा गरेका छन् । इष्टर्न, कुथली बुखारी, शुुभम पावर, सामलिङ पावर, मैलुङ खोला, इङवा हाइड्रोपावर र माइखोला हाइड्रोपावरले भने १ करोडभन्दा मुनिको नाफा गरेका छन् ।
तथ्यांक अनुसार रसुवागढी हाइड्रोपावरले गत आवमा सबैभन्दा बढी ४८ करोड ७२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । रसुवामा आएको बाढीका कारण हाइड्रोपावरमा ठूलो क्षति हुँदा कम्पनीले ठूलो नोक्सानी व्यहोर्नु परेको हो । त्यस्तै माउन्टेन हाइड्रो, मोदी इनर्जी, न्यादी हाइड्रोपावर, मायाखोला हाइडोपावर, छ्याङ्दी, पाँचथर पावर, भिजन लुम्बिनी ऊर्जा, मध्य भोटेकोशी जलविद्युत, हिमाल दोलखा हाइड्रोपावर, घलेम्दी, एसियन, बुद्धभुमी नेपाल, मनकामना इन्जिनियरिङ, माथिल्लो मैलुङ खोला, श्वेत गंगा, बाराही र दिव्यश्वरी हाइड्रोपावर पनि गत आवमा नोक्सानीमा रहे ।
प्रति शेयर आम्दानीको आधारमा अप्पर स्याङगे हाइड्रोपावर सबैभन्दा उत्कृष्ट देखियो भने नेटवर्थको आधारमा बुटवल पावर कम्पनी सबैभन्दा उत्कष्ट देखिए । अप्पर स्याङगेको प्रति शेयर आम्दानी ३४ रुपैयाँ ६६ पैसा छ भने बुटवल पावरको नेटवर्थ २ सय ८ रुपैयाँ २ पैसा रहेको छ । नेप्सेमा सूचीकृत हाइड्रोपावर कम्पनीमध्ये दिव्यश्वरी हाइड्रोपावरको नेटवर्थ ३ रुपैयाँ ४० पैसा मात्रै छ ।
नेप्सेमा कारोबार भएको मूल्यको आधारमा कुथली बुखारी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा उच्च छ । १३ करोड ४१ लाख रुपैयाँ मात्रै चुक्ता पुँजी रहेको कुथली बुखारीको शेयर मूल्य अहिले १९ सय रुपैयाँको हाराहारीमा छ भने सबैभन्दा न्यून मूल्यमा भने हिमाल दोलखा हाइड्रोपावर २ सय १ रुपैयाँ ४१ पैसामा कारोबार भइरहेको छ।