थोरबहुत गर्दै आएको लेखनदासको काम पनि छाडे । त्यही किराना पसल उनकै जिन्दगीको सपना बन्यो । नजिकै रहेको पञ्चकन्या माताको आशिर्वाद सदा सर्वदा लागिरह्यो ।
हो, ९४ बर्षीय प्रेमबहादुर श्रेष्ठले इलाम फिक्कलबाट शुरु गरेको किराना पसलको यात्रा अहिले पञ्चकन्या ग्रुपको बिशाल हाइवेमा अविच्छिन दौडिरहेको छ । आफू, आफूपछि छोरा र पछिल्ला दिनमा नातीहरुले स्टेरिङ समाएको पञ्चकन्याको यात्रामा अहिले हजारौ मानिसहरु सामेल छन् । साँच्चै भन्ने हो भने अहिले लोभ लाग्दो ब्राण्ड बनेको छ पञ्चकन्या । इलामको फिक्कलबाट केही पर करफोक नजिक रहेको पञ्चकन्या मन्दिरको नामबाट आएको पञ्चकन्या ग्रुप अहिले अन्तराष्ट्रिय ब्राण्ड बनिसकेको छ ।
पञ्चकन्या ग्रुपको हेड अफिसमा भेटिएका उनका नाति उज्ज्वलकुमार श्रेष्ठ जो कम्पनीको प्रमुख कार्यकारी निर्देशक पनि हुन्, उनले मेरोलगानीको टीमसँग खुलेर बिगतको स्वर्णिम इतिहास सुनाए ।
पञ्चकन्या ग्रुपकाे उदय
उज्ज्वलकुमार श्रेष्ठबाट थाहा भयो प्रेमबहादुर श्रेष्ठ शुरुमा काँग्रेस भएको कुरा । उनी लेखनदास काम गर्थे भन्ने चाँहि फिक्कलका बुढापाका भन्ने गर्छन । उज्ज्वल भन्छन्, 'हाम्रो हजुर बा बीपीको संगतका पुगेको मान्छे । तर राजनीतिबाट खासै नहोला भन्ने लागेर किराना पसल खोल्ने निर्णयका पुग्नु भयो । त्यो हाम्रो परिवारको लागि माइलस्टोन मान्नुपर्छ । त्यसपछि हजुरबालाई इलाम सानो लाग्यो । इलामको व्यापारले पुगेन ।'
त्यसपछि प्रेमबहादुर झापा झरेका रहेछन् । झापाको शनिश्चरेमा त्यहीबेला अटोमेटेड राइसमिल खोलेका रहेछन् । बिर्तामोडमा काठको मील पनि खोलेछन् । इलाम र झापाका सचेत नागरिकहरुसँगको सम्पर्कले प्रेमबहादुरले आफना छोराहरुलाई त्यही बेला दार्जिलिङ पढाउन शुरु गरेछन् । ब्रिटिसहरुले खोलेका स्कूलहरुमा पूर्वी नेपालका हुने खानेले मात्र छोराछोरी पढाउने गर्थे तर प्रेमबहादुरले दुख गरेर छोराहरुलाई राम्रो शिक्षा दिए ।
समय यसैगरी अगाडि बढिरहेको थियो प्रेमबहादुरलाई झापाको बिजनेशले पनि पुगेन । भैरहवा पुगे । त्यो बेलासम्म पढे लेखेका छोराहरु बुवाको काँध थाप्न तयार भइसकेको थिए । व्यापार गर्नका लागि असाध्यै राम्रो लागेर किनेको चार पाँच बिगाह जग्गामा उद्योग हाले, अनि बाहिर कम्पाउण्डले छेके । अनि शुरु भो, पञ्चकन्या ग्रुपको खास व्यापार प्लाष्टिक इन्डष्ट्रिजको रुपमा ।
दार्जिलिङ पढेर आएर जेठा छोरा ध्रुवकुमार श्रेष्ठलाई भैरहवामा कारखानाको जिम्मा दिए भने माइला प्रदीपकुमार श्रेष्ठलाई काठमाडाैं हेड अफिसको जिम्मा दिए । बुवासँग दुई छोराको काममा ट्युनिङ असाध्यै मिल्यो । त्यसपछि कम्पनी विस्तार हुँदै स्टील उद्योगमा पुग्यो । प्रेमबहादुरको प्रत्यक्ष गाइडेन्समा ध्रुव र प्रदीप अहोरात्र खटिरहँदा यता तेस्रो पुस्दा जन्मदै, हुर्कदै र बढ्दै थियो । कान्छा छोरा किरण कुमार भने पहिलेदेखि आफनै निर्माण व्यवसायतिर लागे । उनी धेरै भारत तिर नै बस्छन् । छोरी सावित्री देवी चाँहि ग्रुप भित्रै छिन् । बुवाको प्रेरणाले ध्रुवकुमारले भैरहवाको उखरमाउलो गर्मीको परवाह नगरी कारखानामा इटा थपि रहे । माइला प्रदीप कुमारले यस्तो लोभलाग्दो व्यक्तित्व बनाएकी ४० बर्ष नटेक्दै उद्योग वाणिज्य महासंघ जस्तो प्रभावशाली संस्थाको अध्यक्ष बने ।
उज्ज्वल भन्छन्, 'मेरै हकमा भन्दा मैले शुरुमा काठमाडाैं, त्यसपछि दाजिलिङ पढेँ। अनि उच्च शिक्षा चाँहि अमेरिका र अष्ट्रेलियाबाट । मैले अष्ट्रेलियाबाट एमवीए गरेको छु । मलाई बिदेशले काम र यस प्रतिको सम्मान सिकायो। मैले अमेरिकामा अण्डा छोडाउनेसम्म काम गरेँ । देशको अवस्था राम्रो त थिएन तर पनि पढिसकेर नेपालमै सम्भावना देखेर देश फर्के ।'

प्रेमबहादुर आइरन म्यान
अहिले पनि प्रेमबहादुर तगडा छन् । उनी ९४ बर्ष भए । अझै पनि कम्पनीको हिसाव कितावको हेक्का राख्छन् । शारिरीक रुपमा सक्रिय नभएपनि मष्तिक अझ तेजिलो छ । विश्वका खवरहरुको पनि उत्तिकै जानकारी छ । समाचार सुन्छन्, पत्रपत्रिका हेर्छन ।
अहिले पनि नयाँ प्रडक्ट ल्याउनु अघि नातीहरुले हजुर बासँग परामर्श गर्छन । छोराहरु ध्रुव कुमार र प्रदीपकुमार नै साठी नाघिसके । नाति उज्ज्वलको अनुभव नै वीस बर्षको भइसक्यो । तैपनि उनीहरुको व्यापारिक संस्कार तलमाथि भएको छैन ।

उज्ज्वलको भनाई, उनकै शव्दमा
हामीले काम गर्न फ्री ह्याण्ड पाएका छौ । म अहिले कम्पनीको अपरेशन र सेल दुवै हेर्छु । म कतै अलमलिए भने बुवा काकासम्म पुग्छु । उहाँहरुको हस्तक्षेप छैन, केवल मार्गदर्शन छ । मेरा भाइहरु काका छोरा उदीप र आशिषले पनि साथ दिइरहेका छन् । अहिले चाँहि हामी प्रडक्टवाइज नेतृत्व आफै लगानी थपेर पनि गर्दैछौ । यो कम्पनीको नयाँपन पनि हो ।
बिदेशबाट फर्केर आएपछि मलाई ब्राण्डिङ र मार्केटिङ हेर्न दिनु भयो । छोरा नाति भन्दैमा एकैपटक ठूलो जिम्मेवारी दिइदैनमा हाम्रोमा । काममा खरो उत्रिनु पर्छ । यो अवसर मेरो लागि प्रमाणित गर्ने समय थियो । मेरो खुबी देखेर कम्पनीले मलाई रेडीमिक्स घर बनाउने तयारी मसला हर्ने जिम्मेवारी दिइयो । मैले नौ महिनामा नाफामै लगेर देखाइ दिएँ । यो केटाले गर्न सक्छ भनेर मात्र बल्ल मलाई ठूला उद्योग हेर्न भैरहवा पठाइयो ।
पञ्चकन्या प्लाष्टिक र पञ्चकन्या स्टीलका ठूला उद्योगहरु छन् त्यहाँ । म गएपछि कारखानाको स्तरोउन्नति गर्नु थियो । अप्टीमाइज गर्नु थियो । सबभन्दा ठूलो कुरा त टिक्नु थियो । किनभने हामीले भूकम्प, कोभिड, नाकावन्दी सबै एकपटक खेपेका थियौ । यस्ता अनकौ व्यवधानका बीच पनि हामीले पीपीसी र सीपीभिसी एकैपटक लन्च गर्यो । रेडमिक्सलाई बिस्तार गयौ ।
बिस्तारै पञ्चकन्या डिमेक्स स्थापना गरेका छौं । यसमा प्रडक्टहरु थप्दै गयौ । कम्पनीको गुणस्तर र मार्केट शेयर विस्तार गर्न हामी व्यग्रतापूर्वक लागि रह्यौ । मेरो अविच्छिन्न ८-९ बर्ष भैरहवा बसाईले त्यहाँका कम्पनीहरुको क्षमता बिस्तारमा फड्को मार्ने काम भयो । कम्पनीको ब्राण्ड भ्यालुमा कुनै कम्प्रमाइज गरिन, बरु बढाएँ ।
निर्माण सामाग्रीमा अर्जुन दृष्टि
पञ्चकन्या ग्रुप निर्माण सामाग्रीको उत्पादनमा मात्र फोकस छ । आज पनि नयाँ नयाँ प्रडक्ट उत्पादन गरिरहेका छ । गत साल मात्र बाथबेयर लन्च भयो । उसको ५३ बर्षको इतिहास पनि निर्माण सामाग्रीमै केन्द्रीत भएको देख्न सकिन्छ । यो ग्रुपले निर्माण र पूर्वाधारका लागि कति बस्तु आयात हुन्छ भन्ने होमवर्क गर्छ । अनि प्रडक्टका लागि अध्ययन गर्छ । पञ्चकन्याले ढलदेखि छतसम्ममा एकछत्र उत्पादन गरिरहेको छ । उसको बिक्रेता र उपभोक्ताको माग पनि यही हो । निर्माण सामाग्रीका उत्पादनमा नेपाल आत्मनिर्भर हुनुपर्छ भन्ने कम्पनीले अर्जुनदृष्टि राखेको छ ।
हुन त पन्चकन्याको हाइड्रोमा पनि लगानी छ, शिक्षा क्षेत्रमा पनि छ । तर राम्रो व्यवस्थापन भएका अरुकै कम्पनीमा मात्र उसको लगानी हो । आफनै म्यानेजमेन्ट छैन । पञ्चकन्याको फोकस एक मात्र छ, त्यो भनेकै निर्माण सामाग्री । त्यसले उसले उत्पादन गरेको प्रोडक्ट निर्माण सामाग्री भन्दा बाहिर छैन । सायद यही हो उसको सफलताको सूत्र ।

यस बारेमा उज्जव यसो भन्छन्, 'हामीले गत बर्ष बाथवेयर लन्च गरेपछि के सोच्यौ भने धारामात्र बनाएर नहुँदो रहेछ । कमोट तथा सिन्क पनि चाहिने रहेछ । यसमा गृहकार्य हुँदैछ । दशैपछि लन्च गर्ने प्लान छ, हेरौ । हामीले धारा पछि यही मान्यतालाई ध्यान दिँदै यूपिभीसी लन्च गरेका थियौ । यसको राम्रो रेस्पोन्स छ । हाम्रो लक्ष्य निर्माण सामाग्रीका लागि कुनै बस्तुको आयात गर्नु नपरोस ।'
नेपालमा सिमेण्ट बाहेकका निर्माण सामाग्रीमा विदेशी ब्राण्डसँग प्रतिस्पर्धा छ । तर पनि पञ्चकन्याले आँट गरेको देखिन्छ । यसमा अवसर देखेरै आँट गरेको हुनुपर्छ । उज्जवका भन्छन, '६-७ महिनामा बाथवेयरका १२५ वटा आउटलेट खुले । विश्वका ब्राण्डसँग हामीले प्रतिस्पर्धा गरेर जित्नु भनेकै बिश्वस्तरीय ब्रान्ड नेपालमा बन्छ भन्ने प्रमाण हो । हामी यसमा सफल हुन्छौ भन्नेमा विश्वस्त छु ।'
कुनै पनि कम्पनी सन्चालन गरेपछि तीन बर्षसम्म पञ्चकन्याले समय दिँदो रहेछ । यदि यो समय ब्रेक इभन पोइन्टमा जान सकेन भने यसमाथि पुनरविचार गरिँदोरहेछ । समस्याकाे भारी बोकेर चार पाँच बर्षसम्म लान नसकिने निष्कर्ष निस्किए बीचमै त्यसबाट लगानी झिकिँदो रहेछ । कम्पनीले आइटी र अरु केही क्षेत्रमा गरिएको लगानी बीचमै टर्मिनेट गरेको त्यही कारण रहेछ । तर,स्टील प्रडक्ट चाँहि कम्पनीको मेरुदण्ड रहेछ,जसले व्यापार फैलावटमा लगानी जुटाउन सहयोग गरिरहेको रहेछ ।
पञ्चकन्या पाइपका उत्पादनहरुको माग भारतमा धेरै छ। पूवोत्तर भारत आसाम तिर पीभीसी,सीभीसी पाइपको डिमाण्ड छ र निर्यात पनि हुन्छ । पन्चकन्या टयाँकको निर्यात भारतमा राम्रै भइरहेको पनि हो तर अहिले आएर स्टीलजन्य सामान भारतले रोकेकोले निर्यात ठप्प छ । बिजुलीमा अलिक सहुलियत दिए र केही नीतिगत हडल्स हटाउन सके नेपालका उत्पादन निर्यात गर्न सजिलै सकिन्छ । र, ती प्रडक्टले प्रतिस्पर्धा सजिलै गर्न सक्छन् । सरकारबाट नीतिगत सपोर्ट मिले पञ्चकन्याले नेपालको खानेपानी निर्यात गर्ने योजना पनि बनाएको छ ।
पब्लिकमा कहिले जाने ?
पञ्चकन्या ग्रुपले ठूला उद्योगहरु पब्लिकमा लैजाने नीति लिएको छ । यो नीति कोभिडकै समय देखिको हो । तर अहिले कम्पनीहरुलाई अझ सवल बनाउने तिर सबै पक्ष लागेको छ । कोभिड, नाकावन्दी, भूकम्पको समय व्यतीत गरेका उद्योगहरु सबल हुने क्रममा छन् । बजारमा घाटामा गएका कम्पनीहरुले आइपिओ जारी गर्न थालेको भन्ने कुराहरु उज्जललाई थाहा नभएका कुरा होइनन् । त्यसैले उनी भन्छन्, 'हामी त्यसरी जान सक्दैनौ । हाम्रो इतिहास छ, ब्राण्ड छ । धितोपत्र बोर्डका नियमहरु सरल र पारदर्शी हुँदै आएका छन् । बुक विल्डी र प्रिमियममा आइपिओ आउन थालेका छन् । यसभित्र केही समस्या भएको पनि सुनिन्छ । यो विस्तारै समाधान हुँदै पनि जाला । फेरि पनि नेपालको नीति नियमहरु स्थिर छैन, साना साना टिप्पणीको असर पूँजी बजारमा पर्ने गर्छ । अहिले हामी तयारीकै अवस्थामा छौं ।
केही ठूला उद्योगहरु पब्लिकमा गएर आइपिओ निकाल्ने तयारीमा पनि छन् । एक दुइवटा उद्योग प्रवेश भएर आउने अनुभवपछि मात्र पञ्चकन्या पूँजी बजारमा प्रवेश गर्ने देखिन्छ । उनी भन्छन्, 'हामी पब्लिकमा नजाने हैन, जाने नै हो । तर तयारी पुगिसकेको अवस्था छैन ।'
पञ्चकन्या ग्रुपले निर्माण सामाग्रीका क्षेत्रमा आयात गरिने बस्तुहरु खोजी खोजी उत्पादन गरेर परनिर्भरता कम गर्न ठूलो योगदान गरेको छ । यसमा व्यापार त अवश्य छ, त्यहाँ माथि राष्ट्रका लागि योगदान पनि छ ।
भिडियाे हेर्नुहाेस्