नाईमा र नाडा अटो शो २०२५ कति सफल ? नयाँ लन्च भएका सवारीमा यस्ता थिए अफर

Aug 25, 2025 06:19 PM merolagani



पछिल्ला २० दिनको अन्तरालमा नेपालमा दुईवटा ठूला अटो मेलाहरु सम्पन्न भएका छन् । 

सुरुमा गत साउन २१ गतेदेखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन(नाइमा) को आयोजनामा नाइमा मोबिलिटी एक्स्पो २०२५ सम्पन्न भयो भने भदौ ३ गतेदेखि ८ गतेसम्म नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा १७ औं संस्करणअन्तरगतकाे नाडा अटो शो २०२५ सम्पन्न भइसकेको छ ।

नाइमा आयोजना गरेको प्रदर्शनीको एक लाख बढीले अवलोकन गरेका थिए भने नाडा अटो शोको १ लाख ७६ हजार बढीले अवलोकन गरेको आयोजकहरुले बताएका छन् । नाइमा मोबिलिटी एक्स्पोको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गरेका थिए भने नाडा अटो शोको उद्घाटन भने प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

नाईमा मोबिलिटी एक्स्पोः केही महंगा गाडीहरू देख्न पाइयाे ?

नाडाबाट अलग्गिएपछि स्थापना भएको नाइमाले पहिलो संस्करण अन्तरगतकाे प्रदर्शनीको आयोजना गरेको थियो । जसमा जसमा विभिन्न कम्पनीका ४८ वटा स्टलहरुमा नयाँ सवारीहरु प्रदर्शनीमा राखिएको थियो ।

प्रदर्शनीबाट नै अटोमोबाइल क्षेत्रका विभिन्न कम्पनीहरुले सवारी खरिद तथा बुकिङमा थुप्रै स्किम तथा अफरहरु समेत ल्याए । कतिपय कम्पनीले त चाडपर्व लक्षित गरेर ग्राहकलाई विभिन्न छुट तथा अफरहरु समेत दिन सुरु गरिसकेका छन् ।

प्रदर्शनीमा नयाँ सवारीहरुको लन्च आयातकर्ता कम्पनीले नै घुम्टो ओढाएर गरेका थिए । प्रदर्शनीको अवलोकन गर्न चाहनेका लागि आयोजकले सर्वसाधारणका लागि २०० र विद्यार्थीका लागि १०० रुपैयाँ टिकट शुल्क उठाएको थियो । एक्स्पो अवधिभर राइड शेयरिङ पठाओ बुक गर्दा भृकुटीमण्ड गन्तव्य भएका यात्रुलाई ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेको थियो ।

टिकटको आम्दानीबाट ५ प्रतिशत शिक्षा र अनुसन्धानको फेलोशिपका लागि छुट्याइने नाइमाले जनाएको छ । नाइमा एक्स्पोमा खासगरी नयाँ ब्रान्डका दुई पाङ्ग्रे र चार पाङ्गे सवारीहरु सार्वजनिक भए । नाइमा एक्सपोमा १८ लाख देखि ३ करोड ८० लाखसम्मका गाडीहरु प्रदर्शनीमा राखिएको थियो ।

प्रदर्शनीमा सवैभन्दा महंगो मानिएको टोयटाको ल्यान्ड कुर्जर गाडीसमेत राखिएको थियो । नाइमा एक्स्पोमा उक्त गाडीको मूल्य ३ करोड ७० लाख रुपैयाँ रहेको थियो । टोयटाकै हाइब्रीड इभी गाडी समेत प्रदर्शनीमा राखिएको थियो । जसको मूल्य २ करोड ७ लाख रुपैयाँ रहेको थियो ।

नाइमा एक्स्पोमा खासगरी BYD, Maxus MIFA 7, Jaecoo J5, KTM Adventure SeriesLeapmotor B10,  Ather Rizta, Mazda CX60 जस्ता गाडीहरु सार्वजनिक भएका थिए । त्यस्तै, महंगो मानिएको ट्याक ५०० गाडी प्रदर्शनीमा राखिएको थियो । जसको मूल्य २ करोड १५ लाख रुपैयाँ रहेको थियो । नाइमा एक्सोपोको अवसरमा विभिन्न अटो कम्पनीहरुले गाडीको खरिदमा ग्राहकलाई विभिन्न छुट तथा अफरहरु समेत सार्वजनिक गरेका थिए ।

नाडा एक्स्पोः उड्ने कार देखि रोबोटमै झुम्मिए अवलोकनकर्ता

त्यस्तै,भदौ ३ गतेदेखि ८ गतेसम्म चलेको १७ औं संस्करणको नाडा अटो शो २०२५ सम्पन्न भइसकेको छ । प्रदर्शनीको सबैभन्दा आकर्षकको केन्द्रविन्दु बन्यो, दीपलको उड्ने कार । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा पहिलो पटक प्रदर्शनीमा सार्वजनिक गरिएको उड्ने कार हेर्नेहरुको भीड हरेक दिनजसो देख्न सकिन्थ्यो ।

१२५ स्टल रहेको नाडा एक्स्पोकै अवसरमा इन्टरनेसन बिजनेश पेभेलियन, मेड इन नेपाल पेभेलियन, वर्क शप एण्ड सेमिनार, प्यानल डिसकसन र भिन्टेन मोटर शोजस्ता विशेष कार्यक्रमहरु समेत आयोजना भएका थिए ।

प्रदर्शनीमा खासगरी बिवाइडी अट्टो २, दीपलको एक्सजेरो ५, टाटाका नेक्सस इभी, पञ्च इभी , टियागो इभी, सुजुकी इभितारा, जेएसडब्लू शेर्प एसएमभी १२००, हिरो एक्सप्लस २१०, गेली ग्यालेक्सी इ ५ लगायतका नयाँ गाडीहरु सार्वजनिक भएका थिए ।

प्रदर्शनीमा बिवाइडी अट्टो २ प्रति ग्राहकको आकर्षण बढेको थियो । जसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ रहेको थियो । उक्त इभीको खरिदमा ग्राहकले दुईवटा चार्जरहरु, एक वर्षको अटो कष्ट इन्स्योरेन्सको सुविधा, बिवाइडी एप १० वर्षका लागि निःशुल्क,१० वर्षको वारेन्टी वा २ लाख किलोमिटरसम्म ब्याट्री र मोटर निःशुल्क पाउने गरी कम्पनीले अफर सार्वजनिक गरेको थियो ।

दीपल एक्सजेरो ५ को मूल्य टप भेरियन्टका लागि ५६ लाख ९९ हजार राखिएको छ । नाडा अटो शोमा उक्त गाडीका लागि २ लाख रुपैयाँ नगद छुटको व्यवस्था गरिएको छ । टप र बेस मोडेलका गाडीहरुको खरिदमा ग्राहकले २ लाखसम्म छुट पाउनेछन् ।

नाडा अटो मेलामा दीपल एक्सजेरो ५ को खरिदमा पनि ग्राहकले आकर्षक छुट पाए । प्रदर्शनीमा दीपक एक्सजेरो ५ को मूल्य टप भेरियन्टको लागि ५६ लाख ९९ हजार राखिएको थियो । जसमा २ लाख रुपैयाँ नगद छुटको व्यवस्था गरिएको थियो । कम्पनीले नयाँ स्किमसहित ५ वर्षका लागि अटो इन्सोरेन्स, आवधिक मर्मत र सडक दस्तुरमा समेत ग्राहकले छुट पाउने व्यवस्था गरेको थियो ।

दुवै प्रदर्शनीमा बिवाइडीलगायतका कम्पनीहरुले सवारीसाधनको बिक्रि राम्रो गरेको आयोजकले जनाएको छ । बिवाइडीका लागि आधिकारीक बिक्रेता साइमेक्स इंकले नाडा र नाइमा दुवै अटो शोमा सहभागीता जनाएको थियो । नाडा अटो शोमा मात्रै बिवाइडीका १४०० युनिट इभी गाडी बुकिङ भएको कम्पनीले जनाएको छ ।

यसरी, समग्रमा भन्नुपर्दा दुइवटा छुट्टाछुट्टै प्रदर्शनीमा ग्राहक तथा अवलोकनकर्ताको उल्लेख्य सहभागीता थियो । ग्राहकहरुको रुचि भने बजेटअनुसारको सवारी खरिद गर्नमा थियो । कतिपय ग्राहकले लन्च भएका नयाँ सवारीहरुको मूल्य हेरेर कम मूल्य पर्ने सवारी नै रोजेका थिए ।

दुवै अटो शोहरुले अटोमोबाइल र समग्र अर्थतन्त्र चलायमान बनाउन केही हदसम्म ठूलो भूमिका खेलेको अटो व्यवसायीहरु बताउँछन् ।

 




मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने

Aug 24, 2025 05:10 PM

मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गको सञ्चालमा रहेको मेरो शेयर तथा सि–आस्बा सेवा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने भएको हो ।