आइजिन लफडाले जलविद्युतको शेयर कारोबारमा गम्भीर असर,अहिले आएर कारोबार नै एकाएक 'नेगेटिभ'

Aug 28, 2025 05:53 PM merolagani



सुवास निरौला

‘आइजिन’ (इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर)को लफडा चर्किँदै जाँदा दोस्रो बजारमा हुने शेयर कारोबारमा नै गम्भीर असर देखिएको छ। खासगरि जलविद्युत क्षेत्रको शेयर कारोबारमा गम्भीर असर देखिएको हो।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले साउन महिनाको मासिक कारोबार विवरण सार्वजनिक गरेको छ। जसमा जलविद्युत क्षेत्रको शेयर कारोबार नै घटेको छ। जलविद्युत क्षेत्रको मात्रै एक खर्ब ६ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भयो। जुन सबैभन्दा बढी शेयर कारोबार हुने समूह पनि हो। तर असार महिनाको भन्दा कारोबार रकम ३.१५ प्रतिशत कम हो। असारमा मात्रै एक खर्ब ९ अर्ब रुपैयाँको शेयर किनबेच भएको थियो।

साउन महिनामा जलविद्युत क्षेत्रको कुल कारोबार मात्रै घटेको छैन, कुल कारोबार रकममा जलविद्युत क्षेत्रको हिस्सा पनि घट्दै जान थालेको छ। साउन महिनामा मात्रै कुल दुई खर्ब ८९ अर्ब रुपैयाँको शेयर खरिद/बिक्री भयो। जसमा जलविद्युत क्षेत्रको हिस्सा ३६.७२ प्रतिशत मात्रै हुन पुग्यो। जबकि असारमा कुल कारोबारमा जलविद्युत क्षेत्रको मात्रै हिस्सा ५१.७२ प्रतिशत थियो। जेठमा ५०.७१ प्रतिशत रहेको जलविद्युत क्षेत्रको हिस्सा वैशाखमा ५५ प्रतिशत भन्दा बढी थियो। दैनिक कारोबारमा कुनै दिन करिब ७० प्रतिशतसम्म हिस्सा ओगट्न सफल भएको जलविद्युत क्षेत्रको आकर्षण भने लगातार घट्दो छ।

खासगरि जेठदेखि बिस्तारै घट्दै आएको उक्त क्षेत्रको कारोबार साउनमा आएर उल्लेख्य घट्यो। वैशाख महिनासँगै तुलना गर्ने हो भने पनि उक्त क्षेत्रको कारोबार २० प्रतिशत भन्दा बढीले खुम्चिएको छ। खुम्चिने क्रम अझै रोकिएको छैन। भदौ लागे यता पनि जलविद्युत क्षेत्रको कारोबार बढ्न सकेको छैन। भदौ लागे यता कुल कारोबारमा जलविद्युत क्षेत्रको हिस्सा ३०  प्रतिशत मुनि झरेको छ।  जबकि गत साउनमा सूचीकृत १३ समूहमा १२ समूहको कारोबार बढ्दै गर्दा जलविद्युतको मात्रै कारोबार घट्यो। भदौमा पनि कारोबार थप घट्दो छ।

यस अघिका महिनामा जलविद्युत क्षेत्रको शेयर कारोबार नै शीर्ष स्थानमा रहने गरेको थियो। तीन वर्ष अघिसम्म भने दोस्रो बजारमा सबैभन्दा बढी कारोबार हुने समूह बैंकिङ थियो। तर कोभिड पछि भने जलविद्युत क्षेत्रमा उल्लेख्य आकर्षण बढेको थियो। तर अहिले आएर बिस्तारै उक्त क्षेत्रप्रति लगानीकर्ताको आकर्षण लगातार घट्दै जान थालेको तथ्याङ्कमा देखिन्छ।

जेठ लागेदेखि नै आइजिन नम्बरको लफडा सुरु हुनु र अर्को तर्फ १५ मिनेटको औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मान्न थालिएपछि जलविद्युत क्षेत्रको कारोबार स्वाट्टै घटेको बताइएको छ। “ हाइड्रो सेक्टर आकर्षण घट्नुको मुख्य कारण नै आइजिन नम्बरको लफडा हो। जेठदेखि नै आइजिन नम्बरको विवाद आउन सुरु गर्‍यो। जसको विरोध नेपाल चेम्बर अफ कमर्स र स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान)ले गरे। उनीहरूले यस्तो व्यवस्थाले ठूलाे लगानी प्रभावित हुने भएकोले यसलाई लागु गर्न नहुने भने। ठूला संस्थाले गम्भीर असर गर्ने भनेपछि आम सर्वसाधारण लगानीकर्ता पनि डराए। जसले गर्दा कारोबार नै कम हुन थाल्यो।

अर्को तर्फ जलविद्युत क्षेत्रका कम्पनीहरूमा अपरेटरहरूले पनि खेल्ने गरेका थिए। उनीहरूले अन्तिम समयमा सर्किट लगाउने अवस्था अन्त्य भयो। यता  लगानीकर्ताको आकर्षण घट्दै जानु र अर्कोतर्फ मूल्य पनि उचाल्न नसक्ने अवस्था आएपछि अपरेटरहरूले पनि हात झिक्न थाले। जसले गर्दा दोहोरो मारमा पर्दा अहिले कारोबार नै स्वाट्टै घटेको हो,” एक ब्रोकर कम्पनीका सञ्चालकले मेरो लगानीसँग भने।

अहिले सीडीएससीले ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका २०८२’ तयार गरेको छ। जसमा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संस्थापक र साधारण समूहको शेयर छुट्टाइएको अवस्थामा अब ती दुई समूहलाई अनिवार्य रूपमा फरक–फरक आइजिन दिइने उल्लेख छ। यो नयाँ व्यवस्थाले निर्देशिका लागु हुनुअघि एउटै आइजिन दिइएका शेयरलाई पनि पछि फरक आइजिनमा रूपान्तरण गर्न सकिन्छ। त्यसले लगानीकर्ता आत्तिएका छन्। जुन निर्देशिका सिडिएससीले स्वीकृतिको लागि धितोपत्र बोर्ड पठाएको छ। जुन स्वीकृत भएर नआएसम्म के हुने भन्ने अन्योल अहिले पनि कायमै छ। जसले गर्दा समग्र शेयर कारोबार नै घटेको निष्कर्ष निकालिएको छ।   




मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने

Aug 24, 2025 05:10 PM

मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गको सञ्चालमा रहेको मेरो शेयर तथा सि–आस्बा सेवा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने भएको हो ।